मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कतार प्रवेशमा रोक : कतार उडन तयार हजारौं नेपाली कामदार प्रभावित

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै नेपालसहित १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएसँगै हजारौं नेपाली प्रभावित भएका छन् । नेपाली कामदारको प्रमुख गन्तब्य मुलुक कतारको प्रतिबन्धसँगै कतार जान तयार भएका हजारौं नेपाली कामदार प्रभावित हुने देखिएको हो । वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार कतारले नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै ४० हजार नेपाली कामदारहरु कतार जान रोकिने देखिएको छ । कतारले आइतबार १४ देशका आप्रवासीसहित नेपालीहरुलाई प्रवेश रोक लगाएसँगै यो संख्यामा नेपाली कामदारको भिसा अहिलेलाई रोकिएको छ ।
श्रेष्ठका अनुसार करिब ४० हजार श्रमिकको भिसा आइसकेको र सो भिसा कतारले अर्को निर्णय गरेर प्रतिबन्ध फुकुवा नगरेसम्मका लागि रोकिएको छ । कोरोनाको संक्रमण बढ्दै गएकाले कतारले भिसा कहिलेसम्मका लागि स्थगित गर्ने हो भनेर भन्न सकिने अवस्था नरहेको पनि उनले बताए । कतारको भिसा लागेको ३ महिनासम्म कतार नगएमा कालो सूचीमा राख्ने कतार सरकारको नियम छ । भिसा कालो सूचीमा परेको व्यक्तिले २ वर्षसम्म कतार जान पाइँदैन । तर, यो जटिल परिस्थितिमा भिसा कालो सूचीमा राख्ने व्यवस्थालाई कार्यान्वयन नगर्न आफूहरुले कतारसँग आग्रह गरेको संघका महासचिव श्रेष्ठले बताए । कोरोना भाइरस संक्रमणको जटिल परिस्थितिमा भिसा कालो सूचीमा नराख्न अनुरोध गरेको र कतारले प्रतिबन्ध फुकुवा गरेपछि हाल स्थगित भएको भिसामा पुनः नेपाली श्रमिकहरु कतार जान पाउने उनले बताए ।
कतारको द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार आइतबारदेखि कतारले नेपालसँगै चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाएको छ । नेपाली कामदारहरुका लागि कतार मलेसियापछिको दोस्रो आकर्षक गन्तव्य मुलुक हो । कतारमा रोजगारिको खोजिमा वार्षिक डेड लाखभन्दा बढी युवाहरु पुग्ने गरेका छन् । हाल कतारमा ४ लाखभन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेको अनुमान छ । आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन,इजिप्ट, भारत, इरान, इराक,लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको हो ।
सोमबार बिहानसम्म कतारमा १५ जनामा संक्रमण पुष्टि भएको छ । कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको पुष्टि गरेको छ । तर ती कुन देशका नागरिक हुन् भन्नेबारे केही जानकारी दिइएको छैन । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १०० भन्दा देशमा फैलिइसकेको छ । सोमबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८ सय २८ जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । करिब ६२ हजार भने निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार