शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सबैको सहयोग भयो भने नेतृत्व गर्ने चाहना छ

शनिबार, बैशाख २८ २०७६

कुल आचार्य
उपाध्यक्ष
गैर आवासीय नेपाली संघ (एनआरएनए)
अन्तराष्ट्रिय समन्वय परिषद

गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष कुल आचार्यलाई धेरैले एनआरएन भित्र नयाँ पुस्ताबाट नेतृत्व दिन सक्ने क्षमता भएको पदाधिकारीको रुपमा पनि हेर्छन । आफुले पाएको जिम्मेवारी पुरा गरि छाड्ने, मिलनसार तर संस्था भित्र भएका बेथिति र अनियमितताको डटेर मुकाबिला गर्ने आचार्य एक सफल व्यवसायी पनि हुन् । पर्वतको धाइरिङमा जन्मिएका ४७ वर्षीय आचार्यले बेलायतमा शुरु गरेको रेस्टुरेन्ट व्यवसाय अहिले युरोपका अरु मुलुकहरुमा पनि विस्तार गर्न लागेका छन् । आउँदो अक्टोबर महिनामा काठमाडौँमा हुनलागेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा अध्यक्षका दावेदारहरु मध्ये उनको नाम पनि चर्चामा छ । एनआरएनएको कल्याणकारी तथा मानवीय सहायता समितिको संयोजक पनि रहेका आचार्यसंग सिड्नीमा हुन गैरहेको ओसनिया क्षेत्रको क्षेत्रीय सम्मेलनको सेरोफेरोमा गरिएको कुराकानी :

एनआरएन अभियान अहिले कसरी अगाडि बढिरहेको छ ?
एनआरएन अथवा गैरआवासीय नेपाली अभियान संसारभरि फैलिएका सबै नेपालीहरुको साझा अभियान हो । हामीले एनआरएन अभियान मार्फत सबै नेपालीहरुलाई एउटै सन्जालमा आबद्ध गर्न सफल भएकाछौं । त्यस्तै एनआरएनए आइसिसिले कार्यदलहरु गठन गरी विभिन्न परियोजनाहरुलाई अघि बढाइरहेको छ । एनआरएन अभियान अहिले लोभलाग्दो अभियान बन्न पुगेको छ । हामीले प्रवासमा बसिरहेका सबै नेपालीहरुको एउटा साझा संस्थाकोरुपमा यसलाई अगाडि बढाइरहेका छौं ।
एनआरएनको उपाध्यक्षको नाताले एनआरएनको अहिलेको गतिविधि बारेमा जानकारी गराइदिनुस् न ?
एनआरएनएबाट हामीले विभिन्न कामहरु गरिरहेका छौं । सभा संमेलन गर्ने, नेपालमा लगानी कसरी भित्र्याउने भनेर गृहकार्य भैरहेको छ । कुनै पनि संस्थाभित्र केही विषयमा असहमति हुनु स्वाभाविक हो, तर संस्थागत मर्यादालाई ख्याल गर्दै संस्थागत निकासकालागि हामीले काम गरिरहेका छौं । संस्थाका उद्देश्यहरु प्राप्त गर्न र संस्थाको सर्वोपरि हितलाई ख्याल गरेर हामी सबै मिलेर काम गरिरहेका छौं ।
एनआरएनए केन्द्रले तेश्रो ओसनिया सम्मेलनलाई कत्तिको महत्वका साथ हेरेको छ ?
’समृद्ध नेपालको लागि एनआरएन सदैव र सबैको लागि’ नारासहित आयोजना भै रहेको तेश्रो ओसनिया सम्मेलनलाई एनआरएनए केन्द्रले निक्कै महत्व दिएको छ । एनआरएनएका केन्द्रिय अध्यक्ष तथा वरिष्ठ पदाधिकारीहरु सहित विभिन्न देशका दर्जंनौ प्रतिनिधीहरु यो सम्मेलनमा सहभागी भै रहनु भएको छ । नेपालमा कसरी लगानी भित्र्याउने, पर्यटन प्रवर्धन गर्ने र नया आविष्कारहरुलाई बढावा दिने भन्ने विषयमा यो सम्मेलनमा महत्वपूर्ण छलफल हुनेछन् । नेपाल साइन्स फाउन्ड़ेशनको अध्यक्षता अस्ट्रेलियामै कार्यरत वैज्ञानिक डा राजु अधिकारीले गरिरहनु भएको छ । भर्खरै एनआरएनए अस्ट्रेलियाले दोश्रो राष्ट्रिय उद्यमी सम्मेलन सम्पन्न गरेको छ । ओसनिया क्षेत्रमा बसोबास गरिरहेका गैर आवासीय नेपालीहरुलाइ यहां सिकेको सीप, श्रोत र साधन नेपालमा गएर लगानी गर्न हामीले आग्रह गरेका छौं । त्यसैले तेश्रो ओसनिया सम्मेलनलाई एनआरएनए केन्द्रले निकै महत्व दिएको छ ।
प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनले के–कस्ता कार्य गरिरहेको छ ?
गैर आवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखिनै प्रवासमा बस्ने नेपालीहरुको हकहितको लागि काम गर्दै आएको छ । प्रवासी नेपालीहरुलाई विदेशमा संगठित गर्नुकासाथै चाडपर्वहरु मनाउने, प्रवासमा रहेका नेपालीहरुका समस्या समाधान गर्न प्रत्यक्षरुपमा सहभागी हुने काम एनआरएनएले गरिरहेको छ । विदेशमा बसोबास गर्न होस् वा व्यवसाय शुरु गर्न, गैरआवासीय नेपाली संघका साथीहरुले आआफ्नो क्षेत्रबाट सघाउँदै आउनुभएको छ ।

एनआरएनका अहिलेका मुख्य मुद्दा के हुन ?
शुरु देखि नै एकपटकको नेपाली सँधैको नेपाली भन्ने मूल मन्त्र हाम्रो मुख्य मुद्दा रहँदै आएको छ । नेपाली नागरिकता निरन्तरताको मुद्दा हाम्रो प्रमुख एजेण्डाको रुपमा रहीआएको छ । प्रवासमा रहेका नेपालीहरुलाई समृद्ध बनाउने र नेपालको समृद्धिमा टेवा पुराउने नै हाम्रो मुख्य ध्येय हो । तर संसदमा विचाराधीन गैर आवासीय नेपाली नागरिकताका बारेमा त खासै प्रगति भएको देखिदैन नि? बरु उल्टै नेपालमा रहेको सम्पत्ति के हुन्छ भन्ने आशंकाहरु जन्मिएका छन् । नेपाली नागरिकताको निरन्तरता अभियानमा शुरु देखि सहभागी भएकाले पनि संसारभरिका गैर आवासीय नेपाली हरुको आकांक्षा अनुकूल गैर आवासीय नेपाली नागरिकता ऐन आउनु पर्छ भन्ने बारेमा म दृढ छु । एउटा कुरा म के बिश्वास दिलाऊन चाहन्छु भने नेपालको संविधान २०१५ ले नै गैर आवासीय नेपाली नागरिकताको व्यवस्था गरीसकेकाले हामीले गैर आवासीय नेपाली नागरिकता नपाउने भन्ने कुरै हुंदैन । तर गृह मन्त्रालयबाट मात्रै त्यस्तो नागरिकता लिनु पर्ने, नेपाली भाषा बोल्न जानेकै हुनुपर्ने जस्ता कुराहरुले यसलाई झन्झटपूर्ण बनाउने निश्चित छ । त्यसैले यो प्रक्रियालाई छिटो छरितो बनाउनेतर्फ हामीहरुले प्रयास गरिरहेका छौं । त्यस्तै ‘एकपटकको नेपाली संधैको नेपाली’ भन्ने मूल मर्म अनुरुप नेपाली नागरिकताको निरन्तरता र हाम्रा भावी सन्ततिले पनि गैर आवासीय नेपाली नागरिकता पाउने कुरा कसरी सुनिस्चित गर्ने भन्ने चुनौती छंदैछ । यसकालागि सबै साथीहरुलाई आआफ्नो ठाऊँबाट प्रयास गर्नुहुन पनि म अनुरोध गर्न चाहन्छु ।


एनआरएनएले गत अक्टोवरमा काठमाडौँमा आयोजना गरेको विश्व ज्ञान सम्मेलनको उपलब्धि चाहिं के भयो ?
विदेशमा बसीरहेका नेपालीहरुले हरेक क्षेत्रमा सीप र अनुभव हासिल गरेका छन् । त्यस्तो सीप, स्रोत र साधन नेपालको विकासमा कसरी प्रयोग गर्ने भनेर हामी प्रयासरत छौं । गैरआवासीय नेपालीहरुले नेपालमा अस्पताल, होटेल, कृषि, जलस्रोत आदि क्षेत्रमा लगानी गरेका छन् र केही साथीहरु नेपाल फर्केर विभिन्न व्यवसाय गरिरहनुभएको छ । नेपालमा गत अक्टोवरमा आयोजना गरिएको विज्ञ सम्मेलनमा विदेशमा विभिन्न विधामा दक्षता हासिल गरेका नेपाली विज्ञहरुको सीप कसरी नेपाल लैजाने भन्नेबारे छलफल भएको थियो सम्मेलन का सुझाव हरु हामीले प्रधानमंत्रीज्युलाई बुझाएका छौं । हामी नेपाल सरकारसंग सहकार्य गर्न चाहन्छौं । नेपालको विकासमा हाम्रा यी प्रयासहरु कोशेढुंगा सावित हुनेछन् भन्ने मैले विश्वास लिएको छु ।
एनआरएनले नेपालमा १० अर्ब लगानी भित्र्याउन घोषणा गरेको छ, त्यो लगानी नेपालमा कसरी भित्र्याउने भनिएको हो बताइदिनुस् न ?
म के कुरा स्पष्ट पार्न चाहन्छु भने एनआरएन संस्था आफैले लगानी गर्ने नभएर संस्थासंग आबद्ध सदस्यहरुले व्यक्तिगत वा सामूहिकरुपमा नेपालमा लगानी गर्ने हो र त्यो भैरहेको पनि छ । हामीले लण्डनमा गरेको घोषणा अनुसार एनआरएनको सन्जाललाई प्रयोग गरेर सामूहिकरुपमा लगानी गर्ने गृहकार्य भैरहेको छ । एउटा ठूलो परियोजना हामीले पहिचान गरिसकेका छौं र नेपाल सरकार पनि त्यसमा सकारात्मक देखिएको छ । गत मार्च महिनामा काठमाडौँ मा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र एनआरएनए बीच एउटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसबारे हामी छिट्टै घोषणा गर्नेछौं र सबै इच्छुक एनआरएन मित्रहरुलाई लगानीकालागि आह्वान गर्नेछौं । यसबाहेक जलविद्युत, बैंक, होटल तथा स्वास्थ्य क्षेत्रमा पनि गैरआवासीय मित्रहरुले लगानी गरिरहनुभएको छ ।
तपाईको नेतृत्वमा शंखमूल पार्कको निर्माण पुरा भएर ललितपुर महानगरपालिकालाई हस्तान्तरण पनि गरियो । सो पार्कको निर्माण कसरी भयो ? अब यसको रेखदेख कसले गर्छ ? केही बताइदिनुहुन्छ कि ?
शंखमूल पार्क निर्माण परियोजनाको समन्वय मैले आफैले गरेको थिएँ । पवित्र बाग्मती किनारमा रहेको शंखमूल पार्कको निर्माण सन् २०१४ बाट सुरु गरेका थियौँ । तर समयमा सिद्धिन सकेन । विभिन्न कारणहरूले अप्ठ्यारा पनि थिए । स्थानीय समस्या पनि हामीले भोग्नु परेको थियो । बागमती सफाई अभियान समितिसँग सहकार्य गरेर पार्क बनाउने जिम्मेवारी दिइएको थियो । गत अक्टोबर ११ (एनआरएन डे) पारेर शहरी विकास मन्त्रीबाट उद्घाटन गरेर ललितपुर महानगरपालिकालाई रेखदेख गरिदिनुस् भनेर अनुरोध पनि गरेका छौँ । राम्रो काम गर्नुभयो भनेर प्रशंसा पनि भएको छ । शुरुका दिनदेखि नेतृत्व लिन पाउँदा म आफू पनि खुसी छु ।
पार्क बनाउन कति खर्च लाग्यो ?
सन् २०१४ को युरोपेली क्षेत्रको बैठक स्पेनमा हुँदै गर्दा सहभागीहरुबाट आधा घण्टामा १ करोड ४२ लाख रुपियाँ बराबर सहयोगको कमिटमेन्ट लिन त्यति बेला म सफल भएको थिएँ । पछिल्लो चरणमा आएर भूकम्प र डिजाइन चेञ्ज आदिका कारण झण्डै ३ करोडभन्दा बढी खर्च भएको छ । त्यो हामी सबै एनआरएनका साथीहरूले स्वेच्छाले दिएको सहयोग रकम हो । जसले सहयोग दिनुभएको छ, सबै चन्दादाताहरुको नाम पार्क भित्रै मार्बलमा लेखेर राखेका छौँ । अन्तिममा हतारहतार भएको हुँदा अझै पनि केही सहयोग आउने क्रम जारी छ । केही फण्ड नपुगेपछि सचिवालयबाट पनि खर्च गरेका छौँ । अपुग भएको रकम जुटाउन म आफै पनि लागीरहेको छु ।
गोर्खाको लाप्राकमा निर्माणाधीन नमूना वस्तीको प्रगति के–कस्तो छ ? किन ढिला भैरहेको छ ?
नेपालमा काम गर्न त्यति सजिलो छैन । धेरै सहयोग पाएको अवस्था पनि होइन । त्यो ठाउँ अलिकति चिसो पनि छ । हिउँ पर्ने अवस्था छ । पानी परिदिने, बनाएको इट्टा र सिमेन्ट पनि खराब भइदिने, लोकेशन पनि अलि दुर्गम भएको हुनाले निर्माण संपन्न गर्न समस्या आएको छ । अलिअलि विवादका कुरा आएका छन् । स्वाभाविक पनि हो । जसले त्यहाँ दान गर्नुभयो, जसले सपोर्ट गर्नुभयो उहाँहरुले बेलाबेलामा प्रश्न उठाउनु जायज हो । त्यो उठाएन भने कतै हामी पनि सुस्त हुन सक्छौँ, ढिला हुन सक्छ । त्यसले गर्दा केही प्रश्न आएका छन् । तर पनि हामीले अहिले के कमिटमेन्ट गरेका छौँ भने छिटोभन्दा छिटो शंखमुल पार्कको निर्माण संपन्न गर्न जसरी काम ग(यौं, त्यसैगरी हाम्रो मेगा प्रोजेक्ट, लाप्राक नमुना वस्ती परियोजना, लाई पनि टार्गेट गरेर समयमै सिद्धाउँ भनेर प्रयास गरेका छौँ । हामीलाई आशा छ अब छिट्टै त्यो प्रोजेक्ट पनि सकेर हामीले हस्तान्तरण गर्ने छौँ ।
एनआरएन भनेको धनीहरुको संस्था हो भनेर भनिन्छ । के त्यस्तै हो?
वास्तवमा एनआरएनजस्तो संसारभरि फैलिएको संस्थाको नेतृत्व लिने व्यक्ति आर्थिक रुपले सक्षम नभएमा काम गर्न गाह्रो हुन्छ । हाम्रा सभा, सम्मेलनदेखि सबै कार्यक्रममा सहभागी आफैले खर्च व्यहोर्नुपर्ने हुन्छ । तर त्यसो भन्दैमा एनआरएन धनीकालागि मात्रै हो भनेर सोंच्नु ठिक होइन । यो धनभन्दा पनि मनकारीहरु रहेको संस्था हो भन्दा सही हुन्छ । मैले अघि नै भनेजस्तै सबैले आआफ्नो ठाउँबाट ज्ञान, सीप, समय र संभव भए धन समेत लगाएर संस्थालाई अगाडि बढाउनुका साथै जन्मभूमिको मुहार हँसिलो पार्ने जिम्मेवारी पनि हाम्रै हो भन्ने म पुनस् स्मरण गराउन चाहन्छु ।
यहाँ अहिले एनआरएनए उपाध्यक्षमा एक कार्यकाल समाप्तिको नजिक हुनुहुन्छ अब यहाँको गन्तब्य कहाँ हुन्छ ?
उपाध्यक्षको कार्यकाल मेरो लागि निकै उत्साहजनक रह्यो । सिक्ने र काम गरेर देखाउने मौका पाईयो । खास गरी शंखमुल पार्कको निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने काममा हाम्रो टिम, सचिवालय तथा संसारभरिका एनआरएन मित्रहरुको सुझाव र सल्लाहले मलाई निकै हौसला दियो । जहाँसम्म नयां नेतृत्व चयन गर्ने कुरा छ, उपाध्यक्षलाई अध्यक्षको उम्मेदवार भन्नु स्वाभाविक नै हो । म अहिले के भन्छु भने हामीले केही गर्नुपर्छ । काम गरेर अगाडि बढ्नुपर्छ । चुनाव भनेको प्रक्रिया मात्रै हो । चुनाव भन्दैमा हारजीत भन्ने हुँदैन भन्ने मान्यता पनि म राख्छु । भोलिको परिस्थिति र संसारभरिका गैरआवासीय नेपाली मित्रहरूले तपाईंले नेतृत्व गर्नुस् भन्नुभयो भने म तयार पनि हुनुपर्छ । होइन भनेर भन्नु भयो भने त्यो समयले बताउँछ । अहिले म कुनै दौडधुपमा लागेको छैन । तर मेरो दौडधुप भनेको हामीले केही काम गर्नुपर्छ नेपालमा, हाम्रा परियोजनाहरू समयमै सम्पन्न गर्नुपर्छ, देखिने काम गर्नुपर्छ भन्ने नै हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार