बेइजिङ । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ३४५ पुगेको चिनियाँ स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।
गत वर्षको अन्त्यमा चीनको हुबेई प्रान्तको उहान सहरबाट शुरु भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या वृद्धि भए तापनि सङ्क्रमितको सङ्ख्यामा भने कमि आएको चिनियाँ सरकारले जनाएको छ ।
पछिल्लो अपडेट अनुसार यस भाइरसबाट चीनभरीमा मृत्यु हुने व्यक्तिको सङ्ख्या दुई हजार ३४५ पुग्नुको साथै ७६ हजार २८८ व्यक्ति सङ्क्रमित भएका छन् ।
त्यस्तै अहिलेसम्म २० हजार ६५९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
भाइरसको शुरुआत भएको प्रमुख स्थानका रूपमा रहेको हुबेई प्रान्तमा यस भाइरसबाट बढी नागरिक प्रभावित छन् । यस भाइरसबाट ८० प्रतिशत सङ्क्रमित र मृत्यु हुने व्यक्तिमा ९५ प्रतिशत हुबेइ प्रान्तको रहेका समाचारमा जनाइएको छ ।