बुधबार, फाल्गुन ७ २०७६
भक्तपुर(जस)–कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको छ । प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेना वीरदल गणका गणपति महासेनानी शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका सशस्त्र प्रहरी उपरीक्षक विश्वराज भट्टराईलगायत संयुक्त सुरक्षाकर्मीको टोलीले घरदैलो अभियान शुरु गरेको हो ।
खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घरघरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण, बच्ने उपाय र क्वारेन्टाइनमा रहेका नेपालीको सुरक्षित अवस्थाका बारेमा जानकारी गराउँदै कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्नेबारेमा जानकारी गराउँदै संयुक्त टोली घरघरमा पुगेको हो । प्रजिअ पाण्डेले स्थानीयवासीका लागि छुट्टै हेल्थ डेस्क राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेकाले स्वास्थ्यमा कुनै पनि समस्या देखिए यहाँ गएर जाँच गराउन सक्नेबारेमा जानकारी गराएका थिए । चीनको उहानबाट फर्काएर खरिपाटीस्थित क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले स्थानीयवासीले घर छाड्न थालेको र उनीहरू त्रासमा रहेको चर्चा चलेपछि स्थानीयवासीलाई त्रासबाट मुक्त बनाउन र दैनिक जीवनयापनमा सहज बनाउन घरदैलो अभियान शुरु गरिएको महासेनानी शिव पौडेलले जानकारी दिए ।
टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपाली सुरक्षित रहेको उनीहरूमा कोरोनाको सङ्क्रमण नपाइएका कारण आत्तिनुपर्ने अवस्था नरहेको, मास्क कसरी लगाउने, दैनिक हात कसरी धुनेलगायतका बारेमा जानकारी गराइएको पौडेलले बताऐ । घरदैलोमा स्थानीयवासीलाई प्रहरी उपरीक्षक प्रधानले रुघाखोकी नसरोस् भनेर पनि सावधानी अपनाउनुपर्ने बताउँदै नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने, मुखमा मास्क लगाएर काम गर्नुपर्नेजस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी गराएका थिए । घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको भन्दै कोठामा बस्नेहरू केही दिनका लागि दुई÷चार परिवार गाउँ फर्किएको बताए । बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरूको फोटो खिचेर, काममा गएकाहरूको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाएर उल्टै गलत हल्ला गरेको क्वारेन्टाइन नजिकै घर रहेकी खड्काले बताए ।
स्थानीय वासुदेव लामिछाने क्वारेन्टाइनमा बस्नेहरूलाई घृणा गर्नुपर्ने कुनै कारण नभएको र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउँदै यहाँका वास्तविक बासिन्दाले बस्ती नछाडेको भनाइ राखे । भाडामा बस्नेहरू केही परिवार गाउँ फर्किएका र आफन्तकोमा गएको बताउँदै उनले यसैलाई आधार बनाएर बस्ती खाली भो भन्न नहुने बताए । भूकम्पमा पनि गाउँ छाडेका भाडामा बस्नेहरूले अहिले पनि कोठामा ताल्चा लगाएको बताउँदै उनले सरकारले समयमै चेतना फैलाउन नसक्दा स्थानीयवासी लामो समय त्रासमा बस्नुपरेको गुनासो स्थानीयवासीको छ । स्थानीयवासी राजाराम भण्डारीले भने, “सरकार आफैँले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, शुरुमै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए, चेतना अभिवृद्धि गरेको भए र स्थानीयवासीसँग बेलाबेलामा अन्तरक्रिया गरेको भए कुनै पनि विरोध आउँदैनथ्यो, यसबारेमा जानकारी लिन जाने स्थानीयवासीलाई प्रहरीले लाठी तेस्र्याएपछि विरोधको आवाज आएको हो ।”
उनले मुस्कानसहितको सेवा भनेर प्रहरीले जतिसुकै नारा घन्काए पनि प्रहरीको जनताप्रति गर्ने व्यवहार र शैलीमा कुनै परिवर्तन नआएकाले प्रहरीकै शैलीका कारण विरोध भएको हुनसक्ने बताए । जनतासँग प्रत्यक्ष जोडिने प्रहरीले नै जनतालाई अझै पनि डण्डा देखाएर तर्साउन खोज्छ भने जुनसुकै ठाउँमा पनि गलत सन्देश जाने भन्दै सरकारले समयमै जनतालाई जानकारी गराउन नसक्दा विरोध आएको र त्रासमा बस्नुपरेको स्थानीयवासीको भनाइ छ । सरकारले चीनको उहानबाट उद्धार गरेर ल्याएका १७५ जनालाई खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ । उनीहरूमा कोरोना भाइरसको सङ्क्रमण भएको पाइएको छैन ।
सरकार तपाईहरुसँगै छ, कुनै चिन्ता नलिइ ढुक्क हुनुहोस : मन्त्री ढकाल
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिएका छन् । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट उनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको कन्ट्रोल कक्षबाट माइकमार्फतभित्र रहेका नेपालीहरुसँग उनले सिसी क्यामराको माध्यमबाट भिडियो हेर्दै कुराकानी गरेका हुन् ।
सो अवसरमा मन्त्री ढकालले क्वारेन्टाइनमा रहेका नेपालीसँग कुराकानी गर्दै सरकार तपाईसँगै रहेको र सबै सहयोग गर्न तयार रहेकाले नआत्तिन आग्रह गर्दै आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । कन्ट्रोल कक्षबाट उनले भित्र रहेका नेपालीसँग यहाँको सेवा, सुविधा र समस्याकाबारेमा जानकारी लिएका थिए । जवाफमा भित्र रहेका नेपालीले सरकारले पु¥याएको सहयोगको बारेमा धन्यवाद व्यक्त गर्दै आफूहरु पूर्णरुपमा स्वस्थ्य र सरकारले गरेको व्यवस्थाप्रति निकै खुशी रहेको प्रतिक्रिया दिएका थिए ।
मन्त्री ढकालले माइकमार्फत सम्बोधन गर्दै ढुक्क भएर रहन र कुनै चिन्ता नलिन आग्रह गर्नुका साथै सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताएका थिए । सरकारले उद्धार गरिएका नेपाली क्वारेन्टाइनमा बस्दा सन्तुष्ट रहेको प्रतिक्रिया पाएको बताउँदै उनले क्वारेन्टाइनमा खटिएका चिकित्सक टोलीद्वारा उनीहरुको अवस्थाबारे थप जानकारी लिएका थिए । क्वारेन्टाइनस्थलमा खटिनु भएका नेपाली सेनाका सेनानी डा नवीन फुयाँलले चीनबाट फर्किएका नेपालीहरु शारीरिक, मानसिक सामाजिक रुपमा पनि स्वस्थ्य रहेको आफूले पाएको मन्त्री ढकाललाई जानकारी गराएका थिए । कोरोना भाइरसको त्रासमा चीनमा कठिन दिन बिताएका नेपालीहरु आफ्नै देशमा फर्किएर क्वारेन्टाइन सरकारले व्यवस्था गरेको सुविधामा खुशी रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
सरकारले उद्धार गरेर ल्याएका १७५ मध्ये ४० जना महिला र दुई बालबालिका क्वारेन्टाइनमा रहेका छन् । आइतबार आएलगत्तै उनीहरुको स्वास्थ्य परीक्षण ¥याल परीक्षणका लागि सङ्कलन गरिएको थियो भने अहिले पनि नियमित रुपमा दिनको दुईपटक उनीहरुलाई दिएको थर्मोमिटरमार्फत आफैले ज्वरो नाप्ने र त्यसको रिपोर्ट लेखेर जानकारी दिने गरेका छन् । क्वारेन्टाइनमा मेडिकल डाक्टरसहित सात जना स्वास्थ्यकर्मीको टोलीले खटिएर काम गरिरहेको छ । जसमा एकजना मानसिक रोगका डाक्टरसमेत छन् । ज्वरो आएमा तत्कालै जानकारी गराउन आग्रह गरिएको र त्यस्तो अवस्था आएमा तत्कालै तयारी अवस्थमा रहेको एम्बुलेन्समा राखेर आइसोलेसन वार्डमा पु¥याउने तयारी पनि भएको छ । तर त्यस्तो अवस्था आएको छैन । मन्त्री ढकाललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, नेपाली सेनाको बीरदल गणका गणपति कर्नेल शिव पौडेलले यहाँको अवस्थाकाबारेमा जानकारी गराएका थिए । क्वारेण्टाइन व्यवस्थापनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी गरी २५० जनाको टोली खटिएको बताइएको छ । मन्त्री ढकालसहितको टोलीलाई जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायत स्वागत गरेका थिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij