बेइजिङ । चीनको हुबेइ प्रान्तको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट सङ्क्रमित भई ज्यान गुमाउनेको संङ्ख्या १५ सय नाघेको छ ।
चीनको नेशनल स्वास्थ्य आयोगले दिएको पछिल्लो अपडेट अनुसार कोरोनाका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १५ सय २३ पुगेको छ ।
त्यस्तै यस भाइरसको संक्रमणमा अहिलेसम्म ६६ हजार ४ सय ९२ जना परेका छन् । त्यस्तै हङकङमा संक्रमितको संख्या ५६ पुगेको छ ।
त्यसैगरी ८ हजार ९६ जना अस्पतालबाट डिस्चार्ज भएको जानकारी आयोगले दिएको छ ।
प्रतिदिन यस रोगको प्रकोप फैलिएसँगै एकै दिनमा मृत्यु हुनेको सङ्ख्यामा पनि वृद्धि भइरहेको छ । पछिल्ला केही दिनमा नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्यामा ठूलो मात्रामा वृद्धि भएको बताइएको छ ।
यस सङ्क्रमणको उपचारका क्रममा कुनै कमी हुन नदिने चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ । उक्त पार्टीले हुबेइ प्रान्तका सचिवलाई हटाएको बताएको छ ।
स्वास्थ्य अधिकारीले दिएको जानकारीअनुसार हाल चीनमा सङ्क्रमित भएका बिरामीमध्ये करिब ८० प्रतिशत हुबेइ प्रान्तका मात्र रहेको नयाँ तथ्य पनि पत्ता लागेको बताइएको छ ।
उता विश्व स्वास्थ्य सङ्गठनले भने चीनमा देखापरेको उक्त प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने धारणा राखेको छ । जेनेभामा आयोजित एक कार्यक्रममा उक्त सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले यसबारे भ्रम फैलाउँदा त्यसले प्रकोप न्यूनीकरणमा असर पर्ने भन्दै यस प्रकोपलाई अति सावधानीपूर्वक लिनुपर्ने बताएका थिए ।