काठमाडौं (जस)–नेपाल एपिएफ क्लबले ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । फाइनलसरह रहेको खेलमा बुधबार अर्को विभागिय टोली नेपाल पुलिस क्लबलाई ३–० ले हराउँदै एपिएफ पुनः च्याम्पियन बनेको हो । नयाँ बासपार्कस्थित ढोरपाटन भलिबल कोर्टमा भएको खेलमा एपिएफ २५–२१,२५–२१,२५–१९ ले हराउँदै विजयी भएको थियो । १४ औं तथा अन्तिम चरणको खेलपछि एपिएफको ४१ र दोस्रो भएको पुलिसको ३७ अंक छ । त्यसअघि तेस्रो भइसकेको त्रिभुवन आर्मी क्लबले होंगान्जी न्यू डायमण्ड क्लबललाई ३–० को सोझो सेटले हराएको थियो । आफ्नो मुख्य खेलाडी प्रतिभा माली विना उत्रेको न्यू डायमण्ड यसपटक भने आर्मीविरुद्ध पहिलो सेटबाहेक कमजोर देखियो ।
प्रतिभा माघ १० गते क्लब आरबिबी एनभिए क्लब च्याम्पियनसपिको फाइनलका दौरान घाइते भएपछि न्यू डायमण्डले उनी विना ढोरपाटन लिग खेल्नु परेको थियो । उनको बायाँ घुँडामा चोट लागेको थियो । घुँडाको शल्यक्रिया गराउनु परेकी प्रतिभा १७ दिनपछि अस्पतालबाट डिस्चार्ज भई अहिले आराम गरिरहेकी छिन् ।
प्रतिभाको अनुपस्थितिमा टोली आर्मीसँग २५–२१,२५–१४ र २५–१४ ले पराजित भएको थियो । प्रतिभासहितको न्यू डायमण्डले पछिल्ला दुई प्रतियोगिताको सेमिफाइनलमा आर्मी टोलीलाई हराएको थियो । पुसको अन्तिममा भएको होंगान्जी न्यू डायमन्ड कप र यसै महिना भएको क्लब च्याम्पियनसिप दुवैको सेमिफाइनलमा आर्मी न्यू डायमन्डसँग पराजित भएको थियो । ढोरपाटन लिगको तेस्रो स्थानको आर्मीले १४ खेलमा ३० अंक जोड्यो । २२ अंकका साथ न्यू डायमण्ड चौथो स्थानमा रह्यो । ।एपिएफले ४ लाख ५ हजार र पुलिसले २ लाख ५ हजार,आर्मीले १ लाख ५ हजार र न्यू डायमण्डले ७५ हजार रुपैयाँ प्राप्त गरेको छ ।