काठमाडौं । चीनमा महामारीको रुपमा देखिएको कोरोना भाइरसबाट मर्नेहरुको संख्या ८ सय ११ पुगेको छ । साथै कोरोनाबाट विश्वभर ३७ हजार ५ सय मानिस संक्रमित रहेको कुरा सार्वजनिक भएको छ । जसमध्ये चीनमा मात्रै कोरोनाबाट ३७ हजार १९८ जना मानिस संक्रमित रहेको पुष्टी विश्व स्वास्थ्य संगठनले गरेको छ ।
गत डिसेम्बरमा चीनको हुबेई प्रान्तको बुहान शहरमा देखिएको कोरोना क्रमिक रुपमा अन्य देश र शहरहरुमा पनि देखिएको छ । हुबेईमा अहिलेसम्म कोरोनाको कारण सबैभन्दा धेरैको मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाबाट संक्रमित र मृत्यु हुनेको आधिकारिक तथ्यांक सार्वजनिक गरेको छ । संगठनले जनाएअनुसार कोरोनाबाट चीनसँगै विश्वका अन्य २७ देशमा पनि यसका रोगी भेटिएका छन् ।
चीनपछि जापानमा बढि बिरामी, अमेरिकामा १२ संक्रमित
चीनको साथसाथै पछिल्लो समय अन्य १३ देशमा पनि कोरोनाको समस्या बढि देखिएको छ । चीनपश्चात सबैभन्दा बढि कोरोना संक्रमित जापानमा देखिएका छन् । यहाँ ९६ जना मानिस पीडित रहेको कुरा विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ ।
जापानपछि सबैभन्दा बढि संक्रमीत सिंगापुरमा देखिएका छन् । जनाइएअनुसार सिंगापुरमा ४० जना कोरोना संक्रमित छन् । थाइल्याण्डमा पनि ३२ जना संक्रमित भेटिएका छन् ।
चीनको स्वशासित क्षेत्र हङकङका २५ जना कोरोना संक्रमित देखिएका छन् । जसमध्ये १ जनाएको ज्यान गईसकेको पुष्टि भएको छ । हङकङसँगै मकाउमा १० जना संक्रमित देखिएका छन् ।
जनाइएअनुसार दक्षिण कोरियामा २५, ताइवान र मलेशियामा १६, अष्ट्रेलिया, जर्मनी र भियतनामा १४, अमेरिकामा १२ र फ्रान्समा ११ कोरोना संक्रमित भेटिएका छन् ।
यसको साथसाथै १४ अन्य देशमा पनि २० बिरामी देखिएका छन् । जसमध्ये संयुक्त अरब इमिरेट्समा ७ जना, क्यानडामा ६ जना र फिलिपिन्समा १ जनाको मृत्युसहित ३ जना संक्रमित भेटिएका हुन् । बेलायत, भारत र इटलीमा पनि ३/३ जना संक्रमित भेटिएका छन् ।
भारतको केरलमा ३ जना कारोना संक्रमति भेटिएका छन् । भेटिएका संक्रमित चीनबाट फर्किएका थिए । यसको साथसाथै रुसमा २ र बेल्जियम, नेपाल, श्रीलंका, स्वीडेन, स्पेन, कम्बोडिया र फिनल्याण्डमा एक÷एक जना संक्रमित भेटिएका छन् । एजेन्सीबाट