काठमाडौँ(जस)– आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालमा भैरहेकाे त्रिदेशीय श्रृङ्खलाअन्तर्गत बिहीबार ओमान र अमेरिका प्रतिस्पर्धा गर्दैछन् ।
अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यी दुई टिम पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेपछि यी दुई देशबीचकाे खेल सुरु हुनेछ ।
लिग–२ मा समावेश सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अङ्क बनाएको छ । ओमान सात खेलमा १० अङ्क बनाउँदै दोस्रो स्थानमा छ । याे खेलमा ओमानले अमेरिकालाई हराएमा अङ्क बराबरी गर्ने मौका पाउनेछ ।
बुधबार भएकाे खेलमा नेपाललाई १८ रनले हराएको ओमानलाई अमेरिकासँगकाे खेलमा केही सहज महसुस हुनेछ । नेपाल र ओमानको खेल राम्रोसँग नियाल्ने मौका पाएको अमेरिकाले भने ओमानको कमजोरी र बलियो पक्ष राम्रोसँग केलाउने मौका पाएको छ । त्यसै अनुरुप अमेरिकाले तयारी पनि गरेको छ ।
आठ खेलबाट ६ जित हात पारेको अमेरिका उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।