शनिबार, असोज १७ २०८३

शनिबार, असोज १७ २०८३

जनसम्पर्क समितिबाट कांग्रेस केन्द्रीय सदस्य बन्न प्रवासमा दौडधुप, को–को छन अग्र पङ्क्तिमा ?

शनिबार, असोज १७ २०८३

काठमाडौं(जस)–नेपाली कांग्रेसको संशोधित विधानले विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट समेत केन्द्रीय सदस्य बन्ने बाटो खोलेपछि प्रवासमा कांग्रेसको राजनीति गर्दै आएका नेताहरूबीच केन्द्रीय सदस्यका लागि दौडधुप तीव्र बनेको छ । लामो समयदेखि विदेशमा रहेर पार्टी संगठन निर्माण र नेपाली समुदायसँग जोडिएका नेताहरूले पहिलोपटक संस्थागत रूपमा कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने अवसर पाएसँगै विभिन्न मुलुकबाट आकांक्षीहरूले धमाधम आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् ।
कांग्रेसको संशोधित विधानअनुसार विदेशस्थित जनसम्पर्क समितिबाट ६ जना केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ । विदेशमा कांग्रेसका जनसम्पर्क समिति ३७ देशमा क्रियाशील रहेको छ । नयाँ व्यवस्थाअनुसार भारतस्थित जनसम्पर्क समितिबाट एक, एसियाका देशबाट एक, युरोपबाट एक, मध्यपूर्वबाट एक, अमेरिका–क्यानडा–अस्ट्रेलियालगायत क्षेत्रबाट एक र महिलाबाट एक जना केन्द्रीय सदस्य चयन हुनेछन । यही व्यवस्थाका कारण प्रवासमा रहेका कांग्रेस नेताहरूबीच केन्द्रीय सदस्य बन्ने आकांक्षा एकाएक बढेको हो ।
विदेशमा वर्षौं संगठनमा काम गरेका नेताहरूले पार्टीको केन्द्रीय संरचनामा आफ्नो प्रतिनिधित्व सुनिश्चित गर्ने अवसरका रूपमा नयाँ व्यवस्थालाई लिएका छन् । त्यससँगै कुन क्षेत्रबाट कसले दाबी गर्ने, कसलाई साझा उम्मेदवार बनाउने र क्षेत्रीय रूपमा सहमति कसरी जुटाउने भन्ने विषयमा पनि आन्तरिक छलफल सुरु भएको छ । भारतबाट नेपाली जनसम्पर्क समितिका पूर्वसभापति तथा कांग्रेसका आमन्त्रित पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पाण्डे केन्द्रीय सदस्यका आकांक्षी देखिएका छन् । भारतमा लामो समयदेखि कांग्रेसको संगठनसँग जोडिएका पाण्डेको दाबीलाई सहज रुपमा हेरिएको छ ।
यस्तै, बेल्जियमस्थित नेपाली जनसम्पर्क समितिकी पूर्वसभापति सीता सापकोटा पनि केन्द्रीय सदस्यका लागि मैदानमा आएकी छन । सापकोटाले उम्मेदवारी घोषणा गरिसकेकी छन् । उनी जनसम्पर्क समितिमार्फत कांग्रेसको विशेष महाधिवेशनको पक्षमा सक्रिय भूमिका निर्वाह गरेकी नेतृ हुन् । बेल्जियम जानुअघि नेपालमै पार्टी राजनीतिमा सक्रिय रहेकी सापकोटा लामो समयदेखि प्रवासमा कांग्रेस संगठनसँग जोडिएकी छन् । अमेरिकाबाट गैरआवासीय नेपाली संघ (एनआरएनए)की पूर्वकेन्द्रीय अध्यक्ष रविना थापा पनि कांग्रेस केन्द्रीय सदस्यको आकांक्षीका रूपमा देखिएकी छन् । उनी अमेरिकास्थित नेपाली जनसम्पर्क समितिसँग आबद्ध रहेर कांग्रेसको राजनीतिमा सक्रिय छन । अमेरिका–क्यानडालगायत क्षेत्रका लागि छुट्टै प्रतिनिधित्वको व्यवस्था भएपछि उक्त क्षेत्रबाट पनि केन्द्रीय सदस्यका लागि दाबी प्रस्तुत हुन थालेको हो ।
जापानबाट नेपाली जनसम्पर्क समितिका नारायण सुवेदीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । करिब दुई दशकदेखि जापानमा रहेका सुवेदी व्यवसायसँगै कांग्रेसको संगठनात्मक गतिविधिमा सधै सक्रिय छन् । उनी जनसम्पर्क समितिमा अत्यन्तै सक्रिय ब्यक्तिका रुपमा चिनिन्छन । जापान जानुअघि नेपालमै पार्टी राजनीतिमा सक्रिय रहेका सुवेदीले प्रवासमा कांग्रेस संगठन विस्तारमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् । यस्तै मलेसियाबाट नेपाली जनसम्पर्क समितिका पूर्वसभापति चोलाकान्त पंगेनीले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । करिब दुई दशकदेखि मलेसियामा रहेका पंगेनी व्यवसायसँगै कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय छन् । उनी जनसम्पर्क समितिको सभापतिमा लगातार तीनपटक निर्वाचित भएका थिए । मलेसिया जानुअघि नेपालमै पार्टी राजनीतिमा सक्रिय रहेका पंगेनीले प्रवासमा कांग्रेस संगठन विस्तारमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन् ।
दक्षिण कोरियाबाट जनसम्पर्क समितिका पूर्वअध्यक्षद्वय गिरिराज कुँवर र नवराज सिवाकोटीले पनि केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । कोरियामा लामो समयदेखि कांग्रेसको संगठनसँग जोडिएका दुवै नेताको दाबी एसिया क्षेत्रबाट हुने प्रतिनिधित्वसँग जोडिएको छ । मध्यपूर्वमा पनि केन्द्रीय सदस्यका लागि आकांक्षीहरू देखिएका छन् । कतारबाट राज रेग्मी र विमल सुवेदीले दाबी प्रस्तुत गरेका छन् भने संयुक्त अरब इमिरेट्स (यूएई)बाट जनसम्पर्क समितिमा आबद्ध खेमराज बस्नेतले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार अघि बढाइसकेका छन् । यस्तै बहराईनबाट पदम सुन्दर गुरुङले पनि उम्मेदवारी घोषणा दावी गरेका छन । मध्यपूर्वका लागि एक जना केन्द्रीय सदस्य चयन हुने व्यवस्थाका कारण यस क्षेत्रका मुलुकहरूमा पनि आन्तरिक रूपमा उम्मेदवारी र सहमतिबारे तिब्र छलफल सुरु भएको छ ।
युरोपमा समेत कांग्रेसको केन्द्रीय सदस्य बन्ने आकांक्षीको संख्या उल्लेख्य देखिएको छ । आयरल्याण्डस्थित जनसम्पर्क समितिका पूर्वसभापति अंकित ओलीले उम्मेदवारी दिने तयारी गरेका छन् । नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका ओली सन् २०१७ देखि आयरल्याण्डमा कार्यरत छन् । उनले प्रवासमा नेपाली समुदायसँग जोडिएर सामाजिक कामसँगै कांग्रेसको संगठनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको बताएका छन् । जर्मनीबाट टंक लम्साल र विजय मोक्तान केन्द्रीय सदस्यका आकांक्षी छन् । एउटै देशबाट दुई जनाको दाबी देखिएपछि उनीहरूबीच सहमति कायम गरी एक जनालाई उम्मेदवार बनाउने प्रयास भइरहेको छ । बेलायतबाट जनसम्पर्क समितिमा आबद्ध विश्व आदर्श पण्डित पनि केन्द्रीय सदस्यका आकांक्षी छन् । उनी शंकरदेव क्याम्पसमा नेपाल विद्यार्थी संघका पूर्वसभापति हुन् ।
त्यस्तै नेदरल्याण्डबाट शालिक गौतम, स्पेनबाट इन्द्र शर्मा अधिकारीलगायत नेताहरूले पनि कांग्रेस केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका छन् । विभिन्न मुलुकबाट आकांक्षीहरूको नाम सार्वजनिक हुने क्रम जारी रहेकाले उम्मेदवारीको अन्तिम तस्वीर अझ स्पष्ट हुन बाँकी छ । कांग्रेसले विदेशस्थित जनसम्पर्क समितिको संगठनात्मक प्रतिनिधित्वलाई समेत नयाँ ढंगले व्यवस्थित गर्ने गरी विधानमा प्रावधान गरेको छ । जनसम्पर्क समितिको अध्यक्ष बन्न क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्न क्रियाशील नेपाली नागरिक हुनुका साथै पार्टी सदस्यता अनिवार्य गरिएको छ ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि जनसम्पर्क समितिको सदस्य संख्यालाई आधार बनाइएको छ । कम्तीमा एक सय सदस्य रहेको देशको जनसम्पर्क समितिबाट सभापतिसहित दुई जना महाधिवेशन प्रतिनिधि बन्न पाउनेछन् । पाँच सय वा सोभन्दा बढी सदस्य रहेको समितिबाट सभापतिसहित सात जना प्रतिनिधि चयन हुनेछन् भने दुई हजार वा सोभन्दा बढी सदस्य रहेको जनसम्पर्क समितिबाट सभापतिसहित १४ जना महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था छ । यसअघि विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्ताले जनसम्पर्क समितिमार्फत पार्टी संगठनमा योगदान गरे पनि केन्द्रीय तहमा प्रत्यक्ष प्रतिनिधित्वको अवसर सीमित थियो । नयाँ विधानले जनसम्पर्क समितिबाटै केन्द्रीय सदस्य चयन गर्ने व्यवस्था गरेपछि प्रवासी कांग्रेसको भूमिका पार्टीको मूल संरचनासँग थप जोडिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिरहेका बेला विदेशस्थित जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य बन्ने आकांक्षीको संख्या बढ्नुले प्रवासी संगठनभित्रको राजनीतिक सक्रियतालाई समेत सतहमा ल्याएको छ । अब विभिन्न क्षेत्रबाट उठेका दाबीमध्ये कसले उम्मेदवारी कायम राख्छन्, कहाँ सहमति बन्छ र कुन क्षेत्रबाट कसले प्रतिनिधित्व गर्छ भन्ने विषय महाधिवेशनको निर्वाचन प्रक्रियासँगै टुंगो लाग्नेछ । विदेशमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताका लागि यो व्यवस्था केवल नयाँ पदको अवसर मात्र नभई प्रवासमा वर्षौंदेखि गरिएको राजनीतिक संगठन र सामाजिक सक्रियतालाई पार्टीको केन्द्रीय संरचनासँग जोड्ने नयाँ अध्यायका रूपमा आएको छ । त्यसैले आगामी महाधिवेशनमा जनसम्पर्क समितिबाट हुने केन्द्रीय सदस्यको प्रतिनिधित्वलाई कांग्रेसभित्र प्रवासको भूमिकाको संस्थागत विस्तारका रूपमा समेत हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार