दमौली(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् । नेकपा तनहँुले सोमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले संविधानले परिकल्पना गरेको समाजवादमा पुग्नका लागि सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने सरकारको लक्ष्य रहेको बताए । नेकपा सचिवालय सदस्यसमेत रहेका प्रवक्ता श्रेष्ठले कम्युनिष्ट पार्टीले नेतृत्व गरेको प्रदेश तथा स्थानीय सरकारले जनताको आधारभूत आवश्यकता र जनजीविकाको पक्षमा काम गर्नुपर्ने बताउँदै जनताको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको विकास गर्नु नै समाजवादको मूल उद्देश्य हो भने ।
पार्टी एकताको अर्थ, महत्व र औचित्यलाई सबै कार्यकर्ताले आत्मसात् गर्नुपर्नेमा जोड दिँदै उनले सबै कार्यकर्ताले पूर्वएमाले र पूर्र्व माओवादी भन्ने भावना त्याग्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी नेतृत्वको स्थानीय तहले काम गर्दा जनताको आधारभूत आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए । नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले सन् २०३० भित्र दिगो विकास लक्ष्य पूरा गर्ने सरकारको प्रतिबद्धता रहेको बताउँदै शिक्षा र स्वास्थ्य सबै नागरिकको पहुँचभित्र पुगेमा मात्र समाजवादउन्मुख राज्य व्यवस्था स्थापना हुनेछ भने । राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर नबनाएसम्म वैदेशिक हस्तक्षेप भइरहने उनको भनाइ थियो । नेकपा गण्डकी प्रदेशका अध्यक्ष हीतराज पाण्डे, नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश कमिटीका सचिव गोविन्द नेपाली, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, तनहँु जिल्ला अध्यक्ष केदार सिग्देल लगायतले मन्तव्य राखेका थिए । प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला कमिटी सदस्य, गाउँपालिकाका सदस्य, भ्रातृसंस्थाका पदाधिकारी लगायतको सहभागिता थियो ।