मंगलबार, असोज १३ २०८३

मंगलबार, असोज १३ २०८३

खाद्यवस्तुको गुणस्तरमा लापरबाही, वीरगञ्जका दुई उद्योगलाई २ लाख ५० हजार जरिवाना

मंगलबार, असोज १३ २०८३

रौतहट । उपभोक्ता हित तथा खाद्यवस्तुको गुणस्तर अनुगमनका क्रममा वीरगञ्जका दुई उद्योग कारबाहीमा परेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमनका क्रममा कमजोरी भेटिएपछि दुई उद्योगलाई कुल २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उपभोक्ता हित संरक्षण मञ्चको लिखित उजुरीका आधारमा महावीर एग्रो प्रोडक्ट प्रालि र स्विट मार्ट फुड प्रालिमा अनुगमन गरेको थियो।

अनुगमनका क्रममा आवश्यक कागजात तथा व्यवस्थापनमा कमजोरी देखिएपछि महावीर एग्रो प्रोडक्टलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।

त्यस्तै, स्विट मार्ट फुडको उत्पादनस्थलमा सरसफाइ तथा फोहोर व्यवस्थापन सन्तोषजनक नदेखिएपछि उक्त उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ।

प्रशासनले दुवै उद्योगलाई देखिएका कमजोरी तत्काल सुधार गर्न निर्देशन दिँदै तीन दिनभित्र जिल्ला प्रशासन कार्यालय पर्सामा उपस्थित हुन समेत भनेको छ।

उपभोक्ताको स्वास्थ्य, अधिकार र खाद्यवस्तुको गुणस्तरमा सम्झौता हुन नदिन बजार तथा उद्योग क्षेत्रमा अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार