मंगलबार, असोज १३ २०८३

मंगलबार, असोज १३ २०८३

प्रेरणादायी वडा सदस्य वासु, जसले आफूले पाउने सबै तलब सामाजिक सेवामा खर्च गरे

मंगलबार, असोज १३ २०८३

सुर्खेत । कोही कोही समाजमा खोज्दा यस्ता व्यक्ति भेटिन्छन, जो राजनीतिमा सक्रिय भई सार्वजनिक पदमा भए पनि आफूले पाउने सबै तलब सामाजिक सेवामा खर्च गरिदिन्छन् । त्यस्ता उदाहरणमध्येका एक युवा हुन वीरेन्द्रनगर नगरपालिका-५ का वासु आचार्य ।

उनी हाल वीरेन्द्रनगर नगर कार्यपालिकाका सदस्यसमेत हुन । एमालेबाट ५२ महिनाअघि निर्वाचित भएका आचार्यले तीन लाख ३२ हजार ८०० रुपैंया भत्ताबापत प्राप्त गरेका छन् । उनले मासिक रुपमा ६ हजार ४०० का दरले नगरपालिकाबाट भत्ता पाउने गर्दछन् । त्यही रकमबाट उनले गरिब बच्चाबच्चीका लागि भन्दै वीनपा-२ मै रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा एक लाख २३ हजार ४५६ रुपैंयाँको अक्षय कोष खोलेका छन् ।

अक्षय कोषको प्रयोग विद्यालयमा प्रथम आउनेलाई पुरस्कृत गराउन नभई जो कमजोर विद्यार्थी छ, उसका लागि पुरस्कृत गर्ने रकम हो ।

‘मैले सामूदायिक विद्यालयको अवस्था देखेको छु । कोही अध्ययन गर्ने तीव्र इच्छा भएको भए पनि विद्यालय त आउँछन्, कुनै दिन चप्पल लाउँदैनन्, कुनै दिन ड्रेस पाउँदैनन, कुनै दिन कापी कलम पाउँदैनन्,’ उनले भने, ‘यो समस्या मैले नजिकबाट हेरेपछि वासु आदर्श प्ररणा पुरस्कार नामक अक्षय कोष उक्त विद्यालयमा खोलेको हुँ ।’

उनले अक्षय कोषबाट लाभान्वित हुन विद्यार्थीमा तीव्र इच्छाशक्ति हुनुपर्ने, अतिरिक्त क्रियाकलापमा सहभागी हुनुपर्ने, गरिव, तथा नियमित विद्यालय आउनुपर्ने विद्यार्थी पुुरस्कृत हुने बताए ।

यसका अलावा जाजरकोट भूकम्पमा परेर घाइते भई कर्णाली प्रदेशमा उपचार गराइरहेका ५४ जनालाई खाना, औषधिको व्यवस्था गरे । उसो त खाना वीरेन्द्रनगर नगरपालिकाले घाइतेहरुका लागि बन्दोवस्त गरेको थियो, १८ देखि मंसिर २९ गतेसम्म ती घाइतेलाई औषधि दिने, खाना दिनेदेखि अन्य आवश्यक सामग्री दिने जस्ता काम गरे। यसका लागि उनले आफ्नो तलबबाट एक लाख १८ हजार पाँच सय रुपैयाँ खर्च गरे ।

‘यस्तै, गाैरव राेकाय वीरेन्द्रनगर-२ मा बस्थे । उनी प्रभात माविमा पढ्थे ।  उनकाे आमाको मृत्यु भइसकेको थियो भने बुवा प्यारालाइसिस रोगले पीडित थिए । ती बालक उनका हजुरबुवासँग सुर्खेतमै बसिरहेका थिए । ती बालकको रुखबाट लड्दा हात भाँचिएको रहेछ । त्यसपछि उनका हजुरवुवाले जुम्ला लगाएर उनको हातमा काप्रो बाँधेछन् । तर त्यसले हात बाँगो भएको खबर मैले पाएँ,’ उनले भने, ‘त्यो सूचना पाएलगत्तै मैले कर्णाली प्रदेशकै चर्चित अस्पताल कर्णाली केयरमा भनौ गरिदिएँ । उसको उपचार गर्न कम्तीमा ६० हजार लाग्ने कुरा थाहा भयो । त्यसपछि मैले त्यहाँ कार्यरत वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. रुपक कँडेलसँग त्यो बालकको पूरा कथा सुनाएँ ।’

डा. कँडेलले उक्त कुरा सुनेपछि ती बालकको निःशुल्क अप्रेसन गर्ने प्रतिबद्धता जनाएको आचार्य बताउँछन् । उनको निःशुल्क उपचार हुने कुरा कँडेलले जनाएपछि बाँकी औषधि, खानपिन, रेखदेखदेखि ल्याव खर्चसम्म ४१ हजार ५ सय रुपैयाँ खर्च गरिदिए । अहिल ती बालकको हात राम्रो भएको वासु बताउँछन् ।

तत्कालीन समयमा राष्ट्रिय युवा संघका जिल्ला अध्यक्षसमेत रहेका वासु आगामी दिनमा सार्वजनिक निकायमा पुगे वा नपुगे पनि दीनदुखी, गरिब, असहायको उपचारका लागि सकेसम्म सहयोग गरिरहने बताउँछन् । 

प्रतिक्रिया
सम्बन्धित समाचार