काठमाडौँ । मलेसियामा Social Visit Pass (सामाजिक भ्रमण अनुमति) मा बसेर काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने विदेशी नागरिकमाथि कडा कारबाही हुने भएको छ।
मलेसियाका अध्यागमन विभागका महानिर्देशक दातुक जकारिया शाबानले Social Visit Pass रोजगारी वा व्यवसाय सञ्चालनका लागि नभएको स्पष्ट पार्दै यस्तो अनुमति लिएर कुनै पनि प्रकारको काम गर्न नपाइने बताएका छन्।
अध्यागमन नियम उल्लङ्घन गरी काम वा व्यवसाय गरेको प्रमाणित भएमा RM१,००० सम्म जरिवाना, ६ महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ। त्यस्ता विदेशीलाई कालोसूचीमा राखी मलेसियाबाट देश निकाला समेत गरिने जकारियाले बताएका छन्।
पर्यटकको रूपमा मलेसिया प्रवेश गरी पछि लुकीछिपी काम गर्ने वा व्यवसाय सञ्चालन गर्ने गतिविधि अध्यागमन नियमावली १९६३ को नियम ३९(ख) विपरीत हुने विभागको भनाइ छ।
यसैबीच, आप्रवासी अधिकारसम्बन्धी संस्था North South Initiative (NSI) ले भने योग्य विदेशीलाई कानुनी रूपमा साना व्यवसाय सञ्चालन गर्न सक्ने छुट्टै भिसा वा अनुमति व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
NSI का निर्देशक एड्रियन पेरेराले अवैध गतिविधिलाई दण्डित गर्नुका साथै विदेशीले सञ्चालन गर्ने साना व्यवसायलाई कानुनी दायरामा ल्याएर कर प्रणालीमा समेट्ने र व्यवस्थित गर्ने नीति आवश्यक रहेको बताएका छन्।