शनिबार, असोज १० २०८३

शनिबार, असोज १० २०८३

आमिर खानलाई सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने

शनिबार, असोज १० २०८३

मुम्बई। अभिनेता आमिर खानलाई ३७औँ सिंगापुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सम्मानित गरिने भएको छ। उनलाई महोत्सवको प्रतिष्ठित ‘स्क्रिन आइकन अवार्ड’ प्रदान गर्न लागिएको हो।

 

आमिर आफ्नो चर्चित चलचित्र ‘लगान: वन्स अपन अ टाइम इन इन्डिया’ को २५औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुने विशेष प्रदर्शनीमा सहभागी हुनेछन्। ‘भ्याराइटी’ का अनुसार उनी निर्देशक आशुतोष गोवारिकरका साथ ओस्कारमा मनोनयनमा परेको यस चलचित्रको विशेष प्रदर्शनमा उपस्थित रहनेछन्। साथै, आमिर अक्टोबर २२ मा आयोजना हुने महोत्सवको ‘इन कन्भर्सेसन’ शृङ्खलामा पनि सहभागी हुनेछन्।

 

‘लगान’ सन् २००२ को एकेडेमी अवार्ड्स (ओस्कार) मा ‘सर्वश्रेष्ठ विदेशी भाषाको चलचित्र’ विधामा मनोनयनमा परेको थियो; तर बोस्नियाली चलचित्र ‘नो म्यान्स ल्यान्ड’ सँग पराजित हुन पुग्यो। सन् १८९३ को पृष्ठभूमिमा आधारित यो ऐतिहासिक खेल-प्रधान चलचित्रले एउटा गाउँका बासिन्दाहरूको कथा समेटेको छ, जसले निर्दयी बेलायती अधिकारीलाई क्रिकेट खेलको चुनौती दिएर दमनकारी करको बोझबाट मुक्त हुने प्रयास गर्छन्।  चलचित्रमा आमिर खानका साथै ग्रेसी सिंह, राहेल शेली, सुहासिनी मुले, पल ब्ल्याकथर्न र कुलभूषण खरबन्दा लगायतका कलाकारको मुख्य अभिनय छ।

 

साे चलचित्र महोत्सव अक्टोबर २१ देखि नोभेम्बर १ सम्म सञ्चालन हुनेछ। महोत्सवमा हङकङका अभिनेता एन्थोनी वोङ र जापानी चलचित्र निर्माता हिरोकाजु कोरे-एदा लगायत एसियाका धेरै प्रख्यात चलचित्रकर्मीहरूको उपस्थिति रहनेछ।

 

महोत्सवको सुरुवात दक्षिण कोरियाली राजनीतिक थ्रिलर चलचित्र ‘द एसासिन(स)’ को प्रदर्शनबाट हुनेछ, जसमा पार्क हे-इल, यू हे-जिन र ली मिन-होको अभिनय रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार