मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला, पाँच हजार १७९ जना अझै सम्पर्कविहीन

मंगलबार, भाद्र ३० २०८३

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ । बाढीपश्चात् अझै पाँच हजार १७९ जना सम्पर्कविहीन छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ सार्वजनिक गरेको विवरणअनुसार चितवनमा ३६४, नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ शव फेला परेको छ । उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

हालसम्म फेला परेका शवमध्ये १०४ को सनाखत भइसकेको छ । बाँकी शवको पहिचानका लागि ‘डिएनए’ परीक्षणलगायत प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ ।

प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ । नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो ।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन् । सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रिय छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार