मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

स्मार्ट लाइसेन्स छपाइ ठप्प हुँदा सेवाग्राही मर्कामा, वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा विद्यार्थी बढी समस्यामा

मंगलबार, भाद्र ३० २०८३

काठमाडौं(जस)–सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को छपाइ दुई महिनाभन्दा बढी समयदेखि ठप्प हुँदा देशभरका हजारौँ सेवाग्राही मर्कामा परेका छन् । विशेषगरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि विदेश जान तयारीमा रहेका विद्यार्थीले समयमै लाइसेन्स नपाउँदा समस्या भोगिरहेका छन् । सङ्घीय सरकारबाट सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरणको अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएपछि नयाँ व्यवस्था पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा समस्या देखिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत साउन १ गतेदेखि नयाँ पास भएका तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको नियमित छपाइ रोकिएको छ ।
विभागका निर्देशक केशव खतिवडाका अनुसार सातवटै प्रदेशले सुरक्षण मुद्रण केन्द्रसँग औपचारिक सम्झौता गरेपछि मात्र प्रदेशबाट लाइसेन्स छपाइ नियमित रूपमा अघि बढ्नेछ । मधेस प्रदेशले भने सम्झौताको प्रक्रिया अघि बढाइसकेको छ । बागमतीलगायत केही प्रदेशमा भने यातायात कार्यालयबाट ट्रायल पास गरेका तथा विदेश जानुपर्ने अतिआवश्यक सेवाग्राहीका फाइल क्रमशः प्रक्रियामा लगिएको विभागले जनाएको छ । नयाँ प्रणाली र छपाइ व्यवस्थापनलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन केही समय लागे पनि प्रक्रिया अघि बढेपछि छपाइले गति लिने विभागको अपेक्षा छ ।
सुरक्षण मुद्रण केन्द्रले पनि चालु आर्थिक वर्षका लागि आवश्यक सम्झौता र प्रक्रिया पूरा नभएकाले लाइसेन्स छपाइ रोकिएको जनाएको छ । केन्द्रका उपसचिव गोपालराज तिमिल्सिनाका अनुसार चालु आर्थिक वर्षमा हालसम्म कुनै पनि प्रदेशबाट छपाइ सम्झौताका लागि आवश्यक कागजातसहित प्रतिनिधि आएका छैनन् । मधेस प्रदेशले भने अघिल्लो आर्थिक वर्षको सम्झौतालाई निरन्तरता दिने विषयमा छलफल गरिरहेको छ । प्रदेश सरकारले आफ्नो बजेटमा लाइसेन्स छपाइका लागि आवश्यक रकम छुट्याएर कति सङ्ख्यामा लाइसेन्स आवश्यक पर्ने हो भन्ने तथ्याङ्कसहित केन्द्रमा आए सम्झौता गर्न सकिने तिमिल्सिनाले बताए ।
प्रदेशको बजेट र आवश्यक लाइसेन्सको सङ्ख्या यकिन भएपछि सम्झौता गरी छपाइ तत्काल सुरु गर्न सकिने केन्द्रको भनाइ छ । प्रदेश तहमा सम्झौता प्रक्रिया अघि नबढ्दा सेवाग्राहीले भने त्यसको प्रत्यक्ष असर खेपिरहेका छन् । अधिकार हस्तान्तरणसँगै प्रदेश सरकारहरूले लाइसेन्स छपाइका लागि आवश्यक प्रक्रिया अघि बढाउन थालेका छन् । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रसँग समझदारी गरी प्रदेशबाटै लाइसेन्स छपाइ तथा व्यवस्थापन गर्ने तयारी गरेको छ ।
मन्त्रालयका सूचना अधिकारी शम्भुप्रसाद साहले प्रदेशका लागि विषय नयाँ भए पनि आवश्यक प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको बताए । उनका अनुसार मुद्रण केन्द्रसँग समझदारी भएपछि लाइसेन्स छपाइ तथा व्यवस्थापन प्रदेशस्तरबाटै गर्न सहज हुनेछ । बागमती प्रदेशमा भने स्मार्ट लाइसेन्स छपाइसम्बन्धी फाइल आर्थिक मामिला तथा योजना मन्त्रालयमा पुगेको छ । उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सूचना अधिकारी भरत शर्माका अनुसार छपाइका लागि आवश्यक स्रोत सहमति लिन फाइल आर्थिक मामिला मन्त्रालयमा पठाइएको हो । स्रोत सहमति प्राप्त भएपछि सम्झौतालगायतका प्रक्रिया अघि बढाइनेछ ।
काठमाडौं उपत्यकाका यातायात कार्यालयमा नयाँ प्रणाली विकासको क्रममा केही अवरोध रहेकाले साउन १ गतेपछि ट्रायल पास गरेका सेवाग्राहीको यकिन सङ्ख्यासमेत तत्काल उपलब्ध हुन सकेको छैन । यातायात व्यवस्था विभागले सातै प्रदेशले आ–आफ्नो स्तरबाट सवारी चालक अनुमतिपत्र छपाइका लागि प्रक्रिया अघि बढाइरहेको जनाएको छ । प्रदेश सरकारको सम्झौता, बजेट व्यवस्थापन र आवश्यक प्रणाली तयार भएपछि नियमित छपाइ सुरु हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार