काठमाडौँ(जस)–नेपाली कांग्रेसमा दुईपक्षबीचको विवाद थप उत्कर्षामा पुगेको छ । विभाजनउन्मुख देखिएको पार्टीका दुवै पक्षका शीर्ष नेताहरुले मंगलबार फरक–फरक अपिल जारी गर्दै वैधानिकको जिकिर र अवैधानिकको आरेप लगाएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत हुने वडा तहदेखि केन्द्रीय तहसम्मका अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन पार्टीका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरेका छन् । सभापति थापाले मंगलबार अपिल जारी गर्दै आगामी असोज ३ र ४ गते हुने वडा अधिवेशनलाई विशेष महत्वका साथ लिएर सक्रिय सहभागिता जनाउन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् । कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना गर्ने कार्यतालिका छ । त्यसअघि वडा, पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेश तहका अधिवेशन सम्पन्न हुनेछन् ।
महाधिवेशनको प्रक्रिया संविधान, नेपाली कांग्रेसको विधान र प्रचलित कानुनअनुसार अघि बढिरहेको उल्लेख गर्दै थापाले पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखेर संवाद, सहमति र अधिवेशन प्रक्रियामा भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले लोकतान्त्रिक पार्टीभित्र विचार र मत फरक हुनु स्वाभाविक रहेको पनि बताएका छन् । फरक मतलाई कमजोरीका रूपमा नभई लोकतान्त्रिक अभ्यासको हिस्सा मानेर पार्टीभित्र देखिने असमझदारीलाई संवाद र विधिसम्मत प्रक्रियाबाट समाधान गर्नुपर्नेमा उनले जोड दिए । कांग्रेसभित्र फरक विचार र मतलाई स्वीकार गर्दै त्यसको समाधान पार्टीको विधि, विधान र स्थापित पद्धतिअनुसार खोज्ने परम्परा रहेको सभापति थापाको भनाइ छ ।महाधिवेशनलाई पार्टीको आन्तरिक लोकतन्त्रलाई थप सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिँदै उनले कुनै प्रकारको अलमल वा द्विविधामा नपरी अधिवेशनका सबै चरणमा सक्रिय र उत्साहजनक सहभागिता जनाउन कांग्रेसजनलाई आह्वान गरेका छन् ।
थापाका अनुसार पार्टीका अग्रज नेता, विभिन्न तहका पदाधिकारी तथा सदस्यबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णय गरिएको छ । त्यसअनुसार सदस्यता व्यवस्थापन समितिले क्रियाशील सदस्यको नामावली टुङ्ग्याइसकेको र केन्द्रीय निर्वाचन समितिले अधिवेशनका प्रक्रिया अघि बढाइसकेको उनले जानकारी दिएका छन् । निर्वाचन अधिकृतहरू समेत जिल्लामा खटिइसकेको अपिलमा उल्लेख छ । तत्कालीन केन्द्रीय सदस्यलाई पनि वर्तमान कार्यसमितिमा समावेश विशेष महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने निर्णय भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरिसकेको थापाले बताएका छन् । उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै थापाले उनीहरूलाई १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय सदस्यकै हैसियतमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले असोज ३ र ४ गतेको वडा अधिवेशनलगायत निर्धारित कार्यतालिकाअनुसार हुने सबै तहका अधिवेशनमा कुनै द्विविधा नराखी सहभागी हुन विशेष आग्रह गरेका छन् । सभापति थापाले वडा तहबाट सुरु हुने महाधिवेशन अभियानमार्फत कांग्रेसलाई अझ एकताबद्ध, गतिशील र राष्ट्रका चुनौती सामना गर्नसक्ने बलियो पार्टी बनाउने विश्वास व्यक्त गरेका छन् । उनले पार्टीका सबै तहका कार्यसमिति, पदाधिकारी, सदस्य, समर्थक तथा शुभेच्छुकलाई सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैको सहभागिता सुनिश्चित गर्दै १५औँ महाधिवेशन सफल बनाउन अपिल गरेका छन् ।
मुकदर्शक भएर बस्न सक्दिन : शेरबहादुर देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले नेता कार्यकर्तालाई विशेष महाधिवेशनबाट आएको नेतृत्वले गर्ने महाधिवेशनमा सहभागी नहुन आग्रह गरेका छन् । मंगलबार अपील जारी गरी देउवाले विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अदालतको अन्तिम फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि, विधान र कानुनी सिद्धान्तविपरीत हुने बताएका छन् ।
देउवाले पार्टीको विधि, विधान, पद्धति र केन्द्रीय समितिको निर्णयलाई बेवास्ता गर्दै एकपक्षीय रूपमा महाधिवेशनको प्रक्रिया अघि बढाउन खोजिएको आरोप लगाएका छन्। यस्तो गतिविधिले कांग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने उनको दाबी छ । उनले कांग्रेसभित्र सहमति र सहकार्यबाट विवाद समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना महाधिवेशन अघि बढाउनु उचित नभएको बताएका छन् ।
देउवाले १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो वैधानिक, राजनीतिक र नैतिक दायित्व भएको पनि स्पष्ट पारेका छन् । उनले आफूलाई कुनै पदको लोभ नरहेको उल्लेख गर्दै पार्टी र राज्यले आफ्नो अनुभवको आवश्यकता ठाने जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन् । देउवाले आगामी मंसिर २१, २२ र २३ गते हुने १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्रको मतभेद अन्त्य गरी एकताबद्ध भएर तयारीमा जुट्न नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई आग्रह गरेका छन् ।