काठमाडौं । चीनमा नेपाली व्यवसायीको उपस्थिति पछिल्लो समय विस्तार हुँदै गएको छ । आयातमा चीनसँग नेपालको निर्भरता बढिरहे पनि नेपाली उत्पादनलाई चिनियाँ बजारमा पु¥याउने चुनौती भने कायमै छ । चीनमा लामो समयदेखि व्यवसाय गर्दै आएका तथा एनआरएनए अभियानमा सक्रिय अभियन्ता रोहित अग्रवालका अनुसार समस्या चिनियाँ बजारको पहुँचमा भन्दा पनि नेपालकै तयारीमा बढी छ । चीनमा नेपाली व्यवसायीको अवस्था, नेपाल–चीन व्यापारको सम्भावना, नेपाली उत्पादनको निर्यात चुनौती र एनआरएनए अभियानबारे अग्रवालसँग गरिएको संवाद :
लामो समयदेखि चीनमा रहेर व्यवसाय गरिरहनुभएको छ, साथै एनआरएनए अभियानमा पनि सक्रिय हुनुहुन्छ । हालै चीनको ग्वान्झाओमा एसिया प्रशान्त क्षेत्रीय सम्मेलन पनि सम्पन्न भयो । यसको आयोजना र यसबाट प्राप्त प्रतिक्रियालाई कसरी लिनुभएको छ ?
म एनआरएनए अभियानमा लागेको १५ वर्ष भइसक्यो । हामी प्रायः काठमाडौँको ग्लोबल सम्मेलन वा अन्य देशका क्षेत्रीय सम्मेलनमा पुग्थ्यौँ । तर यसपटक चीनमै यो कार्यक्रम गर्ने हाम्रो एउटा संकल्प थियो । एनआरएनएको केन्द्र (आईसीसी) मा चीनलाई सधैँ ‘सानो एनसीसी’ भनेर भोट वा अन्य दृष्टिकोणले अलि फरक रूपमा हेरिन्थ्यो । हाम्रो लागि यो एउटा ठूलो चुनौती र अवसर थियो कि हामीले केन्द्रलाई चीनमा बोलाएर यहाँको भव्यता र हाम्रो क्षमता देखाउनुथियो । यसको तयारीमा हाम्रो पूरै टिमले निकै मेहनत गरेको थियो । हिजोसम्म चीनलाई हेर्ने नजर र यो सम्मेलनपछिको दृष्टिकोणमा ठूलो परिवर्तन आएको छ भन्ने मेरो विश्वास छ । धेरै पाहुनाहरूले त यो कार्यक्रम आईसीसीले गर्ने ग्लोबल सम्मेलनकै स्तरको भयो भनेर प्रतिक्रिया दिनुभएको छ । यसले हामीलाई निकै सन्तुष्टि दिएको छ ।
तपाईंको व्यवसायको कुरा गर्दा, तपाईंको ‘नेपासी’ कम्पनीले के–के काम गर्छ र तपाईंको मुख्य जिम्मेवारी के हो ?
मेरो कम्पनीको नाम ‘नेपासी’ हो, जसमा ‘नेपा’ भनेको नेपाल र ‘सी’ भनेको चाइना बुझिन्छ । म यसमा प्रबन्ध निर्देशक (एमडी) का रूपमा कार्यरत छु । हाम्रो मुख्य काम भनेको ‘आउटसोर्सिङ’ र ‘एक्सपोर्ट’ (निर्यात) हो । चीनबाहिरका ग्राहकलाई यहाँबाट जे–जे सामान चाहिन्छ, हामी ती सामानका उपयुक्त फ्याक्ट्री खोज्ने, उत्पादन प्रक्रियाको समन्वय गर्ने, गुणस्तर मापन (क्वालिटी चेक) गर्ने र ढुवानीमा सहजीकरण गर्ने काम गर्छौँ । हामी विशेषगरी नेपाल, भारत, भुटानलगायतका दक्षिण एसियाली देशमा सामान पठाउँछौँ ।
चीनलाई ‘विश्वको कारखाना’ भनिन्छ । यहाँ नेपाली व्यवसायीहरू कहिलेदेखि र कसरी जोडिएका छन् ?
चीनले विश्वको करिब ३० देखि ३५ प्रतिशत सामान उत्पादन गर्छ । नेपालमा चिनियाँ सामानको आयात २५÷३० वर्षअघिदेखि नै बढ्न थालेको हो । सुरुका दिनमा भाषाको निकै ठूलो समस्या थियो । फ्याक्ट्री कहाँ छ, गुणस्तरीय सामान कसरी छान्ने भन्ने कुरा गाह्रो थियो । त्यसैले नेपालीहरू यहाँ आएर बस्न थाले र नेपालका व्यापारीका लागि एक भरपर्दो ‘सहजकर्ता’का रूपमा काम सुरु गरे । अहिले गोन्जाउमा मात्रै करिब ३०० जना र समग्र दक्षिण चीनमा झन्डै एक हजार नेपाली व्यवसायी सक्रिय छन् । गोन्जाउपछि ‘यिवु’ अर्को मुख्य व्यापारिक केन्द्र हो ।
चीनमा व्यापार गर्दा भाषा र यहाँको आफ्नै सामाजिक सञ्जालका कारण विदेशीलाई गाह्रो हुन्छ भनिन्छ नि ?
हो, भाषाको चुनौती त छँदैछ । सामाजिक सञ्जालको कुरा गर्दा यहाँ बाहिरका फेसबुक, ह्वाट्सएप वा गुगल चल्दैनन् । तर व्यापारिक प्रयोजनका लागि हामी ‘भीपीएन’ प्रयोग गर्छौँ । चीन सरकारले पनि विदेशीसँग व्यापार गर्न यस्ता कुरा व्यावहारिक रूपमा आवश्यक पर्छन् भन्ने बुझेको छ र केही हदसम्म खुकुलो छाडेको छ । ‘वीच्याट’ यहाँको जीवनको अभिन्न अङ्ग हो, तर अन्तर्राष्ट्रिय व्यापारका लागि इमेल र अन्य माध्यमहरू नै बढी प्रयोग हुन्छन् ।
एउटा कुरा, नेपाली बजारमा ‘चिनियाँ सामान कमसल हुन्छन्’ भन्ने जुन भ्रम छ, यसलाई तपाईं के भन्नुहुन्छ ?
यो एकदमै गलत धारणा हो । चीनमा ‘एक पैसा तिरे एक पैसाकै र १० पैसा तिरे १० पैसाकै’ सामान पाइन्छ । नेपाली व्यापारीले बढी नाफा कमाउनका लागि सस्तो र कमसल सामान खोजेर नेपाल लैजाने हुनाले त्यस्तो छाप परेको हो । आजको दिनमा मलाई कसैले एउटै मूल्यमा जापानी ब्रान्ड र चिनियाँ ब्रान्डको ल्यापटप छान्न दियो भने म चिनियाँ नै रोज्छु । चीन प्रविधि र गुणस्तरमा धेरै अगाडि छ । सामान कस्तो ल्याउने भन्ने कुरा अर्डर गर्ने व्यापारीमा भर पर्छ ।
नेपालबाट चीनतर्फको निर्यातको अवस्था चाहिँ निकै दयनीय देखिन्छ । यसको बाधक के हो ?
समस्या चीनको नियममा भन्दा पनि हाम्रो तयारीमा छ । चीनले आफ्नो स्वास्थ्य र सुरक्षा मापदण्डमा कुनै सम्झौता गर्दैन । हामीले चिया, कफी वा जडीबुटी निर्यात गर्न चाहन्छौँ, तर ती सामान चीनले मान्यता दिने प्रयोगशाला (सर्टिफाइड ल्याब) बाट परीक्षण भएको हुनुपर्छ । नेपालमा त्यस्तो प्रयोगशाला छैन । हामीले वर्षौँदेखि नेपाल सरकारलाई भन्दै आएका छौँ कि नेपालमा एउटा यस्तो प्रयोगशाला स्थापना गरियोस्, जसलाई चीनले मान्यता देओस । चीनमा नेपाली कफी र चियाको निकै ठूलो माग छ । तर हामीसँग ठूलो परिमाणमा नियमित आपूर्ति गर्ने क्षमता र गुणस्तर प्रमाणित गर्ने संयन्त्रको अभाव छ । यहाँको ‘क्यान्टन फेयर’ मा मात्रै तीन लाखभन्दा बढी दर्शक आउँछन्, तर हामीसँग यस्ता ठूला प्लेटफर्ममा हाम्रा उत्पादन देखाउने तयारी नै हुँदैन ।
अन्त्यमा, एनआरएनए चाइनाको आगामी दिशा र नेपाल सरकारलाई तपाईंको सुझाव के छ ?
एनआरएनए चाइना सदस्य संख्यामा सानो (करिब ३००–४०० जना) देखिए पनि हामी निकै एकताबद्ध र शक्तिशाली छौँ । हामीले यो सम्मेलनमार्फत हाम्रो उपस्थिति प्रमाणित गरिसकेका छौँ । नेपाल सरकारले चीनसँगको व्यापारिक सम्बन्धलाई केवल आयातमा मात्र सीमित नराखी निर्यात प्रवद्र्धनका लागि पूर्वाधार र कूटनीतिक पहलमा जोड दिनुपर्छ । हामीजस्ता व्यवसायीहरू पुलको काम गर्न सधैँ तयार छौँ ।