इस्लामाबाद, २२ भदौ । वेस्ट इन्डिजका महान् ब्याट्सम्यान ब्रायन लाराले पाकिस्तानका पूर्वकप्तान तथा पूर्वप्रधानमन्त्री इमरान खानको उचित उपचार र सम्मानजनक अवस्थाको माग गर्दै गरिएको अन्तर्राष्ट्रिय अपिलमा ऐक्यबद्धता जनाएका छन्। उनले यो विषय राजनीतिभन्दा माथि उठेर “आधारभूत मानवीयता” सँग जोडिएको बताएका छन्।
गत महिना, २१ जना पूर्वकप्तानसहित २२ जना अन्तर्राष्ट्रिय क्रिकेटरहरूले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफलाई पत्र लेख्दै सर्वोच्च अदालतको हालैको निर्देशन बमोजिम पूर्वप्रधानमन्त्री खानको उपचारको व्यवस्था गर्न आग्रह गरेका थिए। उक्त पत्रमा हस्ताक्षर गर्नेहरूमा माइकल एथरटन, एलेक्स ब्ल्याकवेल, एलन बोर्डर, माइकल ब्रियर्ली र ग्रेग च्यापेललगायतका हस्तीहरू समावेश थिए।
आफ्नो आधिकारिक इन्स्टाग्राम खातामार्फत जारी विज्ञप्तिमा लाराले क्रिकेट मैदानमा इमरानसँग आफ्नो भेटघाट निकै कम पटक मात्र भएको भए पनि सन् १९९२ को विश्वकप विजेता कप्तानप्रति आफ्नो सम्मान “तत्काल र दिगो” रहेको बताए।
“आफ्नो देशका लागि आशा, गर्व र प्रेरणाको स्रोत बनेका तथा खेल जीवनको शिखरमा रहेका व्यक्तिले अहिले यस्तो अवस्थाको सामना गरिरहनुपरेको छ, जहाँ उनले पाउनुपर्ने हेरचाह, सहानुभूति र सम्मान पाइरहेका छैनन्; यो कुरा बुझ्न मलाई गाह्रो भइरहेको छ,” लाराले लेखेका छन्।
अन्य पूर्व अन्तर्राष्ट्रिय कप्तानहरूसँगै मिलेर इमरानलाई “उचित तथा स्वतन्त्र चिकित्सा सेवा र हरेक मानिसले पाउनुपर्ने सम्मान” उपलब्ध गराउन माग गरिरहेको उनले बताए। “यो राजनीति होइन। यो हाम्रो खेलका एक महान् हस्तीप्रतिको आधारभूत मानवीय व्यवहारको कुरा हो,” लाराले भने।
सन् २०२२ मा संसद्मा अविश्वासको प्रस्तावमार्फत पदच्युत भएपछि आफूविरुद्ध राजनीतिक उद्देश्यले मुद्दाहरू चलाइएको दाबी गर्दै आएका खान अगस्ट २०२३ देखि जेलमा छन्। हालैका महिनाहरूमा उनको स्वास्थ्य अवस्थालाई लिएर निकै चर्चा भइरहेको छ। जनवरीको अन्त्यतिर पत्ता लागेको आँखाको समस्या, ‘राइट सेन्ट्रल रेटिनल भेन अक्लुजन’, को उपचारका लागि उनलाई पटक-पटक अस्पताल लगिएको छ।
यसैबीच, उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ र सरकारबीच आरोप-प्रत्यारोप चलिरहेको छ। पार्टीले सरकारमाथि इमरानको उचित उपचार सुनिश्चित गर्ने सन्दर्भमा पारदर्शिता नअपनाएको आरोप लगाएको छ।
गत अगस्ट १८ मा सर्वोच्च अदालतले सरकारलाई इमरानको जाँच र उपचारका लागि दुई दिनभित्र इस्लामाबादस्थित निजी अस्पताल ‘शिफा इन्टरनेसनल हस्पिटल’ मा सार्न निर्देशन दिएको थियो। तर, पछि उनलाई उक्त निजी अस्पतालको सट्टा सरकारी स्वामित्वको ‘पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज’ मा लगिएको कुरा बाहिर आएको छ।
यसैबीच, अस्पतालमा आवश्यक सुविधा उपलब्ध नभएका कारण ‘पिम्स’ मा सिफारिस गरिएको ‘कम्प्युटेड टोमोग्राफी एन्जियोग्राफी’ जाँच गराउन नसकिएको खबर पनि सार्वजनिक भएको छ।