आइतबार, भाद्र २१ २०८३
काठमाडौं(जस)–नेपाली कांग्रेसलाई फुटबाट जोगाउन सभापति गगन थापाले पहल थालेका छन् । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीमा लागेपछि थापा सक्रिय बनेका हुन् । देउबा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयमा केही दिन अघि बसेको बैठकले मंसिर २१ देखि २३ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । जसअनुसार असोज १५ गतेदेखि वडा अधिवेशन, २० गते पालिका, २३ गते प्रदेश र निर्वाचन क्षेत्र एवम् प्रतिनिधि सभा निर्वाचन क्षेत्र, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय भएको छ। यी निर्णय गरेको बैठकमा पुर्ण बाहदुर खड्का र डा. शेखर कोइराला भने सहभागी भएका थिएनन् ।
यसैक्रममा आइतबार सभापति थापा र नेता डा. शेखर कोइरालाबिच भेटवार्ता भएको छ । पार्टीभित्र आन्तरिक विवाद चलिरहेका बेला आइतबार दिउँसो उनीहरुबीच भेट भएको हो । भेटका क्रममा कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा. कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको विकल्प नरहेको बताए । उनले कांग्रेसको एकताका लागि आफ्नोतर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए सभापति थापाले शनिबार साँझ निवर्तमान कार्यवाहक सभापति पूर्ण बहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए ।
क्रियाशील सदस्यता अद्यावधिक नभएकाले पनि भाग लिन पाउने
यसैबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा क्रियाशील सदस्यता नवीकरण गरेका तर अद्यावधिक हुन बाँकी रहेका सदस्यहरूलाई पनि सहभागी गराइने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पार्टीको अनुशासन उल्लङ्घन गरेका, पार्टी परित्याग गरेका र निधन भएका बाहेक नवीकरण गरेका तर प्राविधिक कारणले अद्यावधिक हुन नसकेका सबै क्रियाशील सदस्यहरूले १५औँ महाधिवेशनको प्रक्रियामा भाग लिन पाउनेछन् । यो निर्णयले पार्टीभित्रका धेरै सदस्यहरूलाई महाधिवेशनको प्रक्रियामा समेट्ने विश्वास गरिएको छ ।
भोटेकोशी बाढी र पहिरोका कारण देशका विभिन्न क्षेत्रको जनजीवन निकै प्रभावित भएको भन्दै बैठकले आगामी भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशनको मितिमा पुनर्विचार गर्न अनुरोध गरेको छ । विपद्को यो घडीमा पार्टीका नेता तथा कार्यकर्ताहरू उद्धार र राहतमा खटिनुपर्ने भएकाले अधिवेशनको मिति सार्न उपयुक्त हुने निष्कर्ष बैठकले निकालेको हो । आजको बैठक मुख्य रूपमा भोटेकोशी बाढी र यसले निम्त्याएको क्षतिमा केन्द्रित भएको थियो ।
कांग्रेसले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणका कार्यमा आफ्ना सबै पार्टी संरचना, भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय गरेको छ । साथै, सरकारलाई विपद् व्यवस्थापनका लागि आवश्यक सुझाव र सल्लाह दिने र पार्टीको तर्फबाट पीडितहरूलाई सहयोग गर्ने कार्य जारी राख्ने प्रवक्ता चालिसेले जानकारी दिए । बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा नेपालको तर्फबाट उठाउनुपर्ने महत्त्वपूर्ण विषयवस्तुहरूका बारेमा समेत सुझाव दिने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति र राष्ट्रिय हितका एजेण्डाहरूका बारेमा पार्टीले सरकारलाई मार्गनिर्देशन गर्ने बताइएको छ । आइतबारको बैठकमा छलफल बाँकी रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित भएको चालिसे जानकारी दिए ।
महाधिवेशन गर्न सर्वोच्चको निर्णय पर्खिनु पर्छ
नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशन गर्न सर्वोच्च अदालतमा रहेको मुद्दाको निर्णय पर्खिनुपर्ने बताएका चाहन । पार्टी मिलाउन दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस भीमदत्तनगर कार्यसमितिले आइतबार महेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता लेखकले भने, “पार्टी मिलाउने हो भने दुवै पक्षले आ–आफ्ना महाधिवेशन स्थगन गरौँ र पार्टी मिलाउने बैठकमा छलफल गरौँ ।” नेता लेखकले १४औँ महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले पार्टीमा विवाद सिर्जना भई समस्या सुरु भएको बताउनुभयो । “महाधिवेशन नरोक्ने, अरु अरु कुरा गरेर कसरी मिल्छ”, उनले प्रश्न गरे । दुवै पक्षले एकापसमा छलफल गरेर पार्टी विभाजन रोक्नुपर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा नेता लेखकले रसुवा बाढीका कारण सिँगो मुलुकले क्षति व्यहोर्नुपरेको बताउँदै विपद्को सामनाका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।
कांग्रेस महाधिवेशन निष्पक्ष बनाउन केसीका पाँच प्रस्ताव
नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय विषम परिस्थितिमा पार्टीभित्र एकता आवश्यक रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठकमा पार्टी एकताका लागि पाँचबुँदे प्रस्ताव प्रस्तुत गरेका छन् । केसीले विशेष महाधिवेशनको परिधिभित्र रहेर पुरानो र हालको कार्यसम्पादन समितिलाई सभापतिको नेतृत्वमा एकीकृत गर्न प्रस्ताव गरेका छन् । उनले पार्टी विधानको सम्बन्धित धारा निलम्बन गरी आवश्यकताअनुसार परामर्शका आधारमा केन्द्रीय कार्यसमितिको संख्या बढाउनुपर्ने बताएका छन् । त्यस्तै, केन्द्रीय कार्यसमितिको पहिलो बैठकले निष्पक्ष महाधिवेशन सम्पन्न गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसम्पादन समितिलाई दिनुपर्ने उनको प्रस्ताव छ ।
महाधिवेशन तयारीका लागि निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा आवश्यकताअनुसार थपघट गर्ने अधिकार पनि कार्यसम्पादन समितिलाई दिनुपर्ने केसीले बताएका छन्। महाधिवेशन निष्पक्ष हुने सुनिश्चितता गर्नुपर्ने उनको माग छ । केसीले १५औँ महाधिवेशन कात्तिक १७ देखि १९ गतेसम्म गर्ने गरी अन्तिम मिति सर्वसम्मत रूपमा तोक्नुपर्ने प्रस्ताव गरेका छन् । उक्त कार्यतालिका कुनै पनि बहानामा सार्न नहुने भन्दै उनले सम्बन्धित समितिले पूर्ण प्रतिबद्धता जनाउनुपर्ने बताएका छन्। केसीले आफूले प्रस्तुत गरेका प्रस्तावमाथि केन्द्रीय कार्यसमितिमा गम्भीर छलफल र संवाद गर्न आग्रह गरेका छन् ।
कांग्रेस महाधिवेन केही पर सार्न उपयुक्त
नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का अभियन्ता नैनसिंह महरले विपत्तिको यो घडीमा नेपाली कांग्रेसले महाधिवेशनभन्दा माथि उठेर देश र जनताको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।देविघाट,त्रिसुली लगायत बाढी, पहिरोले संकट निम्त्याएको क्षेत्र गएर राहत, उद्धारबाट काठमाडौं फर्किए पछि कांग्रेसका सम्पर्क समितिका सभापतिहरु संगको छलफलमा नेता महरले भोटेकोसीलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै वर्षायामका कारण अधिकांश सडक तथा यातायातका मार्ग अवरुद्ध रहेको अवस्थामा १५औँ महाधिवेशन केही समय पछि सारेर भए पनि पार्टीभित्र समग्र एकता निर्माण गर्नुपर्ने धारणा राखेका छन ।
महरले भने “आज हजारौँ नेपाली नागरिक विपत्तिमा छन्। कतै घर बगेका छन्, कतै परिवारले आफन्त गुमाएका छन्, कतै गाउँ नै सडक सञ्जालबाट विच्छेद भएको छ। यस्तो संवेदनशील अवस्थामा कांग्रेसको सम्पूर्ण ध्यान महाधिवेशनको जोड–घटाउमा होइन, पीडित नागरिकको उद्धार, राहत र पुनस्र्थापनामा केन्द्रित हुनुपर्छ ।” रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न जिल्लामा बाढी तथा पहिरोले जनजीवन नराम्ररी प्रभावित भएको उल्लेख गर्दै उहाँले विपत्तिको समयमा राजनीतिक दलको वास्तविक परीक्षा हुने बताए । उनले महाधिवेशनलाई अनिश्चितकालसम्म सार्ने नभई दशैँपछि सम्पन्न हुने गरी केही समय मिति परिवर्तन गर्न सकिने प्रस्ताव अघि सारेका हुन् । यसले एकातर्फ विपत्तिमा परेका नागरिकलाई राहत तथा पुनस्र्थापनामा कांग्रेसलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिने र अर्कोतर्फ पार्टीभित्र देखिएका असन्तुष्टि, दूरी र विभाजनलाई संवादमार्फत सम्बोधन गर्दै बृहत् एकताको वातावरण निर्माण गर्न पर्याप्त समय मिल्ने उनको भनाइ छ । “महाधिवेशन व्यक्तिको जित–हार तय गर्ने अवसर मात्र होइन, कांग्रेसको भविष्य तय गर्ने ऐतिहासिक क्षण हो । त्यसैले हतारमा महाधिवेशन गरेर पार्टीलाई अझ विभाजित बनाउनु भन्दा केही समय लिएर सबैलाई समेट्ने, मन मिलाउने र कांग्रेसलाई एकताबद्ध बनाउने बाटो रोज्नु बुद्धिमानी हुन्छ,” महरले भने ।
महरले कांग्रेसभित्रको एकता कुनै गुट वा व्यक्तिको स्वार्थका लागि नभई लोकतन्त्र, संविधान र देशको भविष्यका लागि आवश्यक रहेको स्पष्ट पारे । उनले भने, आज कांग्रेसलाई कुर्सीको होइन, एकताको आवश्यकता छ; प्रतिस्पर्धाको होइन, सहकार्यको आवश्यकता छ । देश संकटमा रहेका बेला कांग्रेसभित्रै विभाजनको राजनीति गरेर जनताको विश्वास जित्न सकिँदैन। त्यसैले सबै नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर एकताको पक्षमा निर्णायक कदम चाल्नुपर्छ । वपत्तिमा जनताको साथ, पार्टीभित्र एकताको प्रयास र त्यसपछि मात्रै महाधिवेशन ,यही अहिलेको कांग्रेसको प्राथमिकता हुनुपर्छ, महरको जोड छ । उनले महाधिवेशनको मिति केही समय सार्ने विषयलाई कमजोरीका रूपमा नभई कांग्रेसलाई अझ बलियो, एकताबद्ध र जनमुखी बनाउने राजनीतिक अवसरका रूपमा लिनुपर्ने धारणा राखेका हुन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij