आइतबार, भाद्र २१ २०८३

आइतबार, भाद्र २१ २०८३

यूएईमा भइरहेको ‘जीसीडी नेपाली प्रिमियर लिग–२०२६’ को पहिलो खेलमै जीसीडी गोर्खाली राइनोजको शानदार जित

आइतबार, भाद्र २१ २०८३

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु भएको GCD नेपाली प्रिमियर लिग–२०२६ को पहिलो खेलमै GCD गोर्खाली राइनोजले शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

नेपाली क्रिकेटको विकास, प्रवर्द्धन तथा यूएईमा रहेका नेपाली खेलाडीलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर ५ देखि २६ तारिखसम्म सञ्चालन हुँदैछ। जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) मध्यपूर्व संयोजक रमेश श्रेष्ठको पहलमा प्रतियोगिता आयोजना गरिएको हो।

दुबईस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको थियो। यूएईमा पहिलोपटक आयोजना भएको प्रतियोगितालाई नेपाली खेलाडीको प्रतिभा पहिचान, नयाँ खेलाडीलाई अवसर तथा प्रवासी नेपाली समुदायलाई खेलकुदमार्फत जोड्ने अभियानका रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

जीसीडी ग्रुप अफ कम्पनीजका अध्यक्ष रमेश श्रेष्ठले प्रतियोगिता पूर्वनिर्धारित कार्यक्रमअनुसार आयोजना गरिएको बताउँदै नेपालमा पछिल्लो समय आएको बाढी तथा पहिरोबाट प्रभावित नेपालीप्रति आफूहरू संवेदनशील रहेको बताए। खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राखिएको उनको भनाइ छ।

श्रेष्ठ स्वयं नेपाल पुगेर बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थलगत अवलोकन गरी राहत सामग्री वितरण गर्नुका साथै पीडित परिवारसँग भेट गरेका थिए। राहत तथा उद्धारका लागि एनआरएनए लगायत विभिन्न माध्यमबाट हालसम्म ५ लाख ११ हजार रुपैयाँभन्दा बढी सहयोग गरिएको उनले जानकारी दिए।

त्यसैगरी, जीसीडी नेपाली प्रिमियर लिगको तर्फबाट बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन अवसरमा नेपाल कन्सुलेट जनरल, दुबईका कन्सुलर कुञ्जन शाहले विदेशमा रहेका नेपाली खेलाडीका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको बताए। प्रतियोगिताले नेपाली खेलाडीको प्रतिभा विकाससँगै प्रवासी नेपाली समुदायबीच आपसी सम्बन्ध र एकता बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

प्रतियोगितामा नेपालिज क्रिकेट क्लब, GCD गोर्खाली राइनोज क्रिकेट क्लब, एभरेस्ट वारियर्स अबुधाबी क्रिकेट क्लब र नेपाल टाइटन्स क्रिकेट क्लब गरी चार टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताका खेलहरू प्रत्येक शनिबार राति शारजाहको अल बताहस्थित फरहान क्रिकेट मैदानमा सञ्चालन हुनेछन्। सेप्टेम्बर २६ मा फाइनल खेलसँगै विशेष समापन समारोह आयोजना गरिनेछ।

प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली खेलाडीलाई दिइएको प्राथमिकता हो। प्रत्येक खेलमा मैदानमा उत्रिने ११ सदस्यीय टोलीमा कम्तीमा नौ जना नेपाली खेलाडी अनिवार्य गरिएको छ। बढीमा तीन जना विदेशी खेलाडीले मात्र खेल्न पाउने व्यवस्था छ। प्रत्येक टोलीमा १७ जना खेलाडी रहनेछन्।

प्रतियोगिताको विजेताले ५ हजार यूएई दिराम नगदसहित ट्रफी र पदक प्राप्त गर्नेछ भने उपविजेताले २ हजार यूएई दिरामसहित पदक पाउनेछ। उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई समेत व्यक्तिगत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

नेपाली दर्शक तथा समुदायको सहभागिता सहज बनाउन आयोजकले बुर्ज दुबई, अल क्वोज र सोनापुरबाट फरहान क्रिकेट मैदानसम्म निःशुल्क बस सेवा सञ्चालन गरेको छ।

प्रतियोगिताको मुख्य प्रायोजक जीसीडी ग्रुप अफ कम्पनीज रहेको छ भने अल फरदान एक्सचेन्ज प्लाटिनियम प्रायोजकका रूपमा जोडिएको छ। यूएईमा रहेका विभिन्न नेपाली व्यवसायिक प्रतिष्ठान तथा संघसंस्थाले पनि प्रतियोगितालाई सहयोग गरेका छन्।

यूएईमा नेपाली समुदायको उपस्थिति र गतिविधि बढिरहेका बेला नेपाली क्रिकेटलाई प्रवासमा व्यवस्थित तथा प्रतिस्पर्धात्मक बनाउने प्रयासका रूपमा जीसीडी नेपाली प्रिमियर लिगलाई हेरिएको छ। प्रतियोगिताले यूएईमा रहेका नेपाली खेलाडीलाई नियमित रूपमा आफ्नो क्षमता प्रदर्शन गर्ने मञ्च उपलब्ध गराउने तथा नयाँ प्रतिभालाई अगाडि बढ्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

पहिलो खेलमै GCD गोर्खाली राइनोजले जित हासिल गरेसँगै प्रतियोगितामा उसको यात्रा उत्साहजनक बनेको छ। आयोजकले पहिलो संस्करणलाई सफल बनाउँदै आगामी दिनमा प्रतियोगितालाई थप व्यवस्थित, व्यापक र नियमित बनाउने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार