बिहिबार, भाद्र १८ २०८३

बिहिबार, भाद्र १८ २०८३

कपिलवस्तुमै लाइसेन्स सेवा सञ्चालनको तयारी, नगरप्रमुख सुदीप पौडेलको निरन्तर पहल

बिहिबार, भाद्र १८ २०८३

-इमरान खान
कपिलवस्तु । कपिलवस्तुमा पुग्नुभएका लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल यादवले चाँडै नै कपिलवस्तुमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण तथा नवीकरण सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
जिल्लामै लाइसेन्स सेवा सञ्चालनका लागि कपिलवस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले लामो समयदेखि निरन्तर पहल, समन्वय तथा सम्बन्धित निकायसँग पटक–पटक छलफल गर्दै आएका छन्। नागरिकले लाइसेन्स बनाउन तथा नवीकरण गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले नगरप्रमुख पौडेलले यस विषयलाई प्राथमिकताका साथ अघि बढाउँदै आएका हुन्।
विशेषगरी लाइसेन्सको ट्रायल सेन्टर निर्माणका लागि कपिलवस्तु नगरपालिकाले जग्गा उपलब्ध गराइसकेको छ। नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै जिल्लामै लाइसेन्स सेवा सञ्चालन गर्ने प्रक्रियालाई थप सहज बनाएको छ।
नगरप्रमुख पौडेलले कपिलवस्तुमै लाइसेन्स सेवा सञ्चालनका लागि प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बारम्बार पहल र समन्वय गर्दै आएका छन्। नागरिकलाई सामान्य सरकारी सेवाका लागि समेत अन्य जिल्ला धाउनुपर्ने अवस्थाको अन्त्य गर्दै आफ्नै जिल्लाबाट सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यका साथ नगरपालिकाले निरन्तर पहल गरिरहेको जनाइएको छ।
यस अभियानमा प्रदेश सांसद सुधारक पाण्डे लगायतले समेत कपिलवस्तुमै लाइसेन्स सेवा सञ्चालनका लागि आवाज उठाउँदै आएका छन्। प्रदेश सरकार, स्थानीय तह, जनप्रतिनिधि तथा सम्बन्धित निकायबीचको समन्वयबाट अब जिल्लामै लाइसेन्स सेवा सञ्चालन हुने अपेक्षा गरिएको छ।
कपिलवस्तुमै लाइसेन्स वितरण तथा नवीकरण सेवा सञ्चालनमा आएमा जिल्लावासीलाई रुपन्देहीलगायत अन्य जिल्लामा पुगेर सेवा लिनुपर्ने बाध्यता हट्नेछ। यसबाट नागरिकको समय, खर्च र झन्झट कम हुनुका साथै जिल्लामै सहज र सरल रूपमा सेवा प्राप्त गर्ने वातावरण बन्ने अपेक्षा गरिएको छ।
नगरप्रमुख सुदीप पौडेलको निरन्तर पहल, ट्रायल सेन्टरका लागि जग्गा उपलब्ध गराउने निर्णय तथा प्रदेश सरकारसँगको निरन्तर समन्वय जिल्लामै लाइसेन्स सेवा ल्याउने प्रक्रियामा महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार