काठमाडाैं, १७ भदाैं । चिनियाँ राष्ट्रपति सी चिनफिङले मध्यपूर्वमा नयाँ सुरक्षा संरचना निर्माणका लागि चारबुँदे प्रस्ताव अघि सारेका छन्।
साझा, व्यापक, सहयोगात्मक र दिगो सुरक्षाको अवधारणालाई आत्मसात गर्दै उनले बुधबार उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीसँगको वार्ताका क्रममा राष्ट्रपति सीले मध्यपूर्वी देशहरूबीचको सुमधुर र मैत्रीपूर्ण सम्बन्धलाई चीनले निरन्तर समर्थन गर्ने स्पष्ट पारे। साे क्रममा क्षेत्रीय सुरक्षा प्रवर्द्धनका लागि सीले आन्तरिक क्षमताको उपयोग, एकीकृत दृष्टिकोण, विकासको मजबुत आधार र अन्तर्राष्ट्रिय समन्वयको अभिवृद्धिमा जोड दिएका छन्।
मध्यपूर्वका जनता आफ्ना मामिलाका स्वयं मालिक हुनुपर्ने र कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने बताउँदै उनले शान्ति तथा सुरक्षासम्बन्धी संवाद सुदृढ गर्न क्षेत्रीय देशहरूलाई आग्रह गरे। मध्यपूर्वको भविष्य त्यहीँका देशहरूले तय गर्नुपर्ने र नयाँ सुरक्षा संरचनाको खोजीमा चीनको पूर्ण सहयोग रहने उनको भनाइ थियो।
मध्यपूर्वमा विद्यमान विभिन्न द्वन्द्व र तिनका अन्तरसम्बन्धलाई ध्यानमा राख्दै व्यापक समाधान खोजिनुपर्नेमा सीले जोड दिए। साथै, प्यालेस्टाइन मुद्दा मध्यपूर्व समस्याको केन्द्रबिन्दुमा रहेकाले यसलाई कहिल्यै ओझेलमा पार्न नहुने उनले बताए।
दिगो शान्ति र स्थिरताको मूल आधार विकास नै भएको उल्लेख गर्दै चिनियाँ राष्ट्रपतिले अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा, विकास सहयोग र आपसी विश्वास अभिवृद्धिका लागि मध्यपूर्वी देशहरूसँग सहकार्य गर्न चीन तयार रहेको बताए।
संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई मध्यपूर्वका मामिला सम्हाल्ने मुख्य आधार बनाउनुपर्नेमा जोड दिँदै उनले बाह्य शक्तिहरूलाई दोहोरो मापदण्ड त्याग्न, क्षेत्रीय देशहरूको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरे। साथै, मध्यपूर्वका मामिलामा संयुक्त राष्ट्रसंघको प्रभावकारी भूमिका हुनुपर्ने उनको भनाइ थियो।
जवाफमा इजिप्टका राष्ट्रपति सिसीले मध्यपूर्व मुद्दामा चीनको निरन्तर, वस्तुनिष्ठ र निष्पक्ष अडानको उच्च प्रशंसा गरे। राजनीतिक माध्यमबाट द्वन्द्व समाधान गर्न र तनाव कम गर्न इजिप्ट प्रतिबद्ध रहेको बताउँदै उनले क्षेत्रीय स्थिरता र सुरक्षा संरचनाको खोजीका लागि चीनसँगको समन्वयलाई अझ सुदृढ बनाउन इजिप्ट तयार रहेको उल्लेख गरे।
उता, इजिप्टको इत्तिहादिया राष्ट्रपति भवनमा वार्ताका लागि पुग्दा राष्ट्रपति सीलाई राष्ट्रपति अल-सिसीले स्वागत गरेका थिए भने उनलाई २१ तोपको सलामी दिइएको थियो।
राष्ट्रपति अल-सिसीका प्रवक्ताको विज्ञप्तिअनुसार वार्तामा इरानविरुद्धको छ महिना लामो अमेरिकी-इजरायली युद्धबारे छलफल भएको थियो। सो क्रममा दुवै राष्ट्रपतिले युद्ध अन्त्य गर्न विस्तृत सम्झौतामा पुग्न “कूटनीतिक समाधान” को आह्वान गरे।
इजिप्टको राष्ट्रपति कार्यालयले दुई देशबीच स्वेज नहर क्षेत्रमा रहेको इजिप्ट-चीन औद्योगिक क्षेत्रको तेस्रो चरण सुरु गर्ने सम्झौतामा हस्ताक्षर भएको जनाएको छ। अधिकारीहरूका अनुसार यस क्षेत्रमा हाल २०० कम्पनीहरू सञ्चालनमा छन् र करिब ४ अर्ब डलर बराबरको लगानी भइसकेको छ।
नयाँ लगानी, जसको रकम इजिप्टले सार्वजनिक गरेको छैन, ले बेइजिङलाई नहर क्षेत्रमा अझ बढी प्रभाव विस्तार गर्न सघाउनेछ। विश्व व्यापारको महत्त्वपूर्ण धमनी मानिने यो क्षेत्रको महत्त्व अझ बढेको छ; किनभने यस क्षेत्रमा जारी द्वन्द्वले होर्मुज जलसन्धि (ओमान र इरानबीच अवस्थित) र बाब अल-मान्देब जलसन्धि (यमन र अफ्रिकाको ‘हर्न अफ अफ्रिका’ लाई छुट्याउने) भएर हुने आवागमनलाई अवरुद्ध पारिरहेको छ।
सीले भने, “चीन अन्तर्राष्ट्रिय जलमार्गको सुरक्षा सुनिश्चित गर्न, विकाससम्बन्धी सहकार्यलाई अघि बढाउन तथा द्वन्द्वको बीउ रोप्ने वा बढावा दिने कारकहरूलाई हटाउन यस क्षेत्रका मुलुकहरूसँग मिलेर काम गर्न तयार छ।”
यसका साथै दुई देशबीच थप केही सम्झौताहरूमा पनि हस्ताक्षर गरियो, यद्यपि इजिप्टका अधिकारीहरूले तिनको विस्तृत विवरण भने उपलब्ध गराएकाे छैन् ।