सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

शहीद स्मारक ‘ए’ लिग: थ्रीस्टारद्वारा ब्रिगेड ब्वाइज पराजित¸ पुलिस र च्यासल बराबरीमा रोकिए

बुधबार, पुष २३ २०७६

काठमाडाँै(जस)–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा थ्रीस्टार क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार भएको पहिलो खेलमा थ्रीस्टार ब्रिगेड ब्वाइज क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । थ्रीस्टारको जीतमा सुशान्त श्रेष्ठ, अनन्त तामाङ र विदेशी खेलाडी वासिउ ओलादिरान हाजमातले एक एक गोल गरे । खेलको १५ औँ मिनेटमा सुशान्तले गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाए । उनले अशोक खवासको पासमा करिब सिक्स यार्ड बक्सभित्रबाट गोल गर्दै थ्रीस्टारलाई पहिलो अग्रता दिलाएका हुन् ।

त्यसपछि खेलको ४१ औँ मिनेटमा अनन्तले गोल गर्दै थ्रीस्टारलाई २–० को अग्रता दिलाए । उनले मिक्छेन तामाङको कर्नर पासमा हेड गोल गरेका थिए । त्यस्तै खेलको ५८ औँ मिनेटमा थ्रीस्टारका हाजमातले एक गोल थपे । ब्रिगेड ब्वाइजका खेलाडी रोशन रानामगरले खेलको ८९ औँ मिनेटमा एक सानत्वना गोल फर्काए । जीतसँगै थ्रीस्टारले पाँच खेलमा १० अङ्क जोडेर लिगको तेस्रो स्थानमा उक्लियो । पराजित ब्रिगेड ब्वाइज समान पाँच खेलमा छ अङ्कका साथ सातौ स्थानमा छ । खेलमा तीन गोलले पछि परेको ब्रिगेड ब्वाइज खेलको ६६ औंँ मिनेटमा दिपकराज सिंहले रातोकार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा सीमित भएको थियो । थ्रीस्टारका अशोक खवासलाई खराब ट्याकल गरेर लडाएपछि उनले रातो कार्ड पाएका थिए ।

पुलिस र च्यासल बराबरीमा रोकिए
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २–२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । प्रतिस्पर्धात्मक खेलमा पुलिसका लागि निरकुमार राई र सुमन लामाले गोल गरे । च्यासलका लागि दुवै गोल सन्तोष साहुखलले गरे । खेलमा पुलिसले पाँचौं मिनेटमा निरकुमारको गोलमा सुरुवाती अग्रता लिएको थियो । सुमनले ४०औं मिनेटमा गोल गरेका थिए । यसैगरी सन्तोषले साहुखलले १८औं मिनेटमा गोल गर्दै च्यासललाई खेलमा फर्काए ।

प्रतिक्रिया
सम्बन्धित समाचार