काठमाडौं(जस)–परराष्ट्रमन्त्री शिशिर खनाल र कतारका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी राज्यमन्त्री डा. मरियम बिन्त अली बिन नासेर अल–मिसनद बीच सोमबार टेलिफोन वार्ता भएको छ । राज्यमन्त्री डा.अल–मिसनदले परराष्ट्रमन्त्री खनाललाई नेपालमा भएको ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । वार्ताका क्रममा राज्यमन्त्री अल–मिसनदले विपद्बाट ठूलो संख्यामा भएको जनधनको क्षति तथा भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
वार्तामा परराष्ट्रमन्त्री खनालले विपद्को कठिन समयमा राज्यमन्त्री अल–मिसनदले व्यक्त गरेको समवेदना, सहानुभूति र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरे । मन्त्री खनालले कतार सरकारले नेपाललाई उपलब्ध गराएको सहयोग तथा समर्थनप्रति समेत धन्यवाद व्यक्त गरे । रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट गत बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।