मंगलबार, भाद्र १६ २०८३

मंगलबार, भाद्र १६ २०८३

विद्युतीय खरिद प्रणालीमा सुरक्षा जोखिम, ई–जीपी सेवा अनिश्चितकालका लागि स्थगित

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । विद्युतीय खरिद प्रणाली (ई–जीपी सिस्टम) मा सुरक्षा जोखिम उच्च देखिएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रणालीको प्रयोग तत्कालका लागि स्थगित गर्न सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले भदौ ११ गते जारी गरेको सूचनामार्फत प्रणालीको मर्मतसम्भार तथा सुधार कार्य भइरहेकाले अर्को सूचना जारी नभएसम्म ई–जीपी प्रणालीको प्रयोग नगर्न आग्रह गरेको हो।

कार्यालयका अनुसार प्रणालीमा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राख्दै मर्मत तथा सुधारको काम भइरहेको छ। यस अवधिमा सार्वजनिक निकायहरूले विद्युतीय खरिद प्रणालीमार्फत बोलपत्रसम्बन्धी प्रक्रिया अघि नबढाउनुपर्नेछ।

यद्यपि, भदौ ११ गतेसम्म ई–जीपी प्रणालीमा प्रकाशित भइसकेका तथा प्रस्ताव पेस गर्ने म्याद बाँकी रहेका बोलपत्र र त्यसपछि नयाँ प्रकाशन हुने बोलपत्रका सम्बन्धमा सार्वजनिक निकायहरूले हार्डकपीमार्फत बोलपत्र, आशयपत्र तथा सिलबन्दी दरभाउपत्रको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, ई–जीपी प्रणालीमा बोलपत्र, आशयपत्र तथा सिलबन्दी दरभाउपत्र खोलिसकिएको तर बोलपत्रदाता, आपूर्तिकर्ता वा परामर्शदाताको प्रस्ताव डाउनलोड गर्न बाँकी रहेका ठेक्काका सम्बन्धमा सम्बन्धित सार्वजनिक निकायको अनुरोधमा सार्वजनिक खरिद अनुगमन कार्यालयबाट आवश्यक सहजीकरण गरिने सूचनामा उल्लेख छ।

विद्युतीय खरिद प्रणाली अवरुद्ध भएपछि सरकारी तथा सार्वजनिक निकायका विभिन्न खरिद प्रक्रिया प्रभावित हुने देखिएको छ। प्रणालीमा देखिएको सुरक्षा जोखिम समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याउन कार्यालयले मर्मत तथा सुधारको काम अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार