काठमाडौं । गायक तथा संगीतकार चेतन राईको आवाजमा चीनको तिब्बतबाट आएको भीषण बाढीले निम्त्याएको मानवीय पीडा र विपत्तिको कथा समेटिएको गीत ‘बाढी आयो’ सार्वजनिक भएको छ। राईको आधिकारिक युट्युब च्यानल ‘चेतन राई अफिसियल’मार्फत गीत सार्वजनिक गरिएको हो।
गीतमा आवाज, शब्द तथा संगीत स्वयंम चेतन राईकै रहेको छ। प्राकृतिक विपत्तिका कारण हजारौँ मानिस प्रभावित भएको, धेरै परिवार विस्थापित हुनुपरेको तथा बाढीमा परी मानिसहरू बेपत्ता भएको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ। गीतले बाढीका कारण पीडामा परेका नेपालीहरूको अवस्था र उनीहरूले भोग्नुपरेको दुःखलाई भावनात्मक रूपमा चित्रण गर्न खोजेको छ।
गीतको भिडियोमा समेत चेतन राईकै अभिनय रहेको छ। भिडियोमार्फत बाढीले निम्त्याएको विनाश, मानवीय संवेदना र पीडितहरूको अवस्थालाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको छ।
लामो समयदेखि गीत–संगीतको क्षेत्रमा सक्रिय राईले यसपटक समसामयिक प्राकृतिक विपत्तिलाई विषय बनाएर गीत सिर्जना गरेका हुन्। मनोरञ्जनसँगै समाज र देशमा घटिरहेका घटनालाई गीत–संगीतमार्फत प्रस्तुत गर्ने उद्देश्यले ‘बाढी आयो’ गीत तयार गरिएको राईले बताएका छन्।
तिब्बतबाट आएको भीषण बाढीका कारण जनजीवन प्रभावित भएको विषयलाई गीतको माध्यमबाट उजागर गर्दै राईले विपत्तिमा परेका मानिसप्रति सहानुभूति र मानवीय संवेदनाको सन्देश दिन खोजेका छन्। गीतले बाढीपीडितको पीडा, आफन्त गुमाउँदाको दुःख र बेपत्ताको खोजीमा रहेका परिवारको भावनालाई समेत समेटेको छ।
गीत सार्वजनिक भएसँगै दर्शक तथा स्रोतामाझ यसको चर्चा सुरु भएको छ। सामाजिक विषयवस्तुलाई गीत–संगीतसँग जोडेर प्रस्तुत गरिएको ‘बाढी’ले प्राकृतिक विपत्तिको पीडा र मानवीय संवेदनालाई एकैसाथ उजागर गरेको छ।