काठमाडौँ(जस)–भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा आएको भीषण बाढीका कारण नेपालको ऊर्जा क्षेत्रले अपूरणीय क्षति व्यहोर्नु परेको छ । अविरल वर्षा र त्यसपछिको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा ठूलो विनाश पु¥याएको हो । बाढीको वितण्डाले राष्ट्रिय प्रसारण प्रणालीबाट कुल ४३१.१ मेगावाट विद्युत् बाहिरिएको छ । त्रिशूली नदी करिडोरमा सञ्चालित नेपाल विद्युत् प्राधिकरण, त्यसका सहायक कम्पनी र निजी क्षेत्रका गरी कुल १२ वटा विद्युत् उत्पादन केन्द्रहरू पूर्णरूपमा बन्द भएका छन् ।
बाढीका कारण उत्पादन बन्द हुने आयोजनाहरूमा १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना, ७८ मेगावाटको सालासुङ्गी (साञ्जेन), १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र ५२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना रहेका छन् । त्यसैगरी २० मेगावाटको लाङटाङ, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, १४.८ मेगावाटको माथिल्लो मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन पनि ठप्प भएको छ । प्राधिकरणको २५ मेगावाट क्षमताको सोलार आयोजनामा पनि बाढीले क्षति पु¥याएको छ । उत्पादन भइरहेका आयोजना मात्र नभई निर्माणाधीन अवस्थामा रहेका १५ वटा आयोजनामा पनि बाढीले व्यापक क्षति गरेको छ । ४७० मेगावाट कुल क्षमताका यी आयोजनाका संरचनाहरू बाढीले बगाउने वा गेग्रानले पुरिने अवस्थामा पुगेका छन् ।
भौतिक क्षतिका साथै बाढीले मानवीय संकट पनि निम्त्याएको छ । विभिन्न विद्युत् आयोजना र संरचनामा कार्यरत १९६ जनाभन्दा बढी कर्मचारी तथा कामदारहरू बाढीपछि सम्पर्कविहीन बनेका छन् । सम्पर्कविहीन हुनेहरूमा त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना, चिलिमे जलविद्युत् केन्द्रको पावरहाउस र आवास क्षेत्रका ७ जना तथा चेस्को कम्पनीमार्फत त्रिशूली–३ ‘बी’ मा खटिएका ११ जना रहेका छन् । रसुवागढी जलविद्युत् केन्द्रमा मात्रै ९२ जना कर्मचारी र कामदार सम्पर्कविहीन भएको तथ्याङ्क छ । यसैगरी, त्रिशूली–३ ‘ए’ को पावरहाउस मर्मतमा संलग्न ४५ जना, त्रिशूली र देवीघाट केन्द्रका २ जना, रसुवा वितरण केन्द्रका २ जना र धादिङको त्रिशूली २२० केभी सबस्टेसनमा कार्यरत १६ जनाको अवस्था अझै अज्ञात छ । सम्पर्कविहीन भएकाहरूमा केही विदेशी कामदार पनि रहेका छन् ।
बाढीको प्रभावले रसुवा जिल्लामा विद्युत् आपूर्ति पूर्णरूपमा ठप्प भएको छ भने नुवाकोट, धादिङ र गोरखामा आंशिक रूपमा विद्युत् काटिएको छ । धादिङको जहरेस्थित ३३ केभी सबस्टेसनमा बाढीसँगै आएको लेदो ५ फिटसम्म जमेकाले त्यहाँको उपकरणमा ठूलो क्षति पुगेको छ । अहिले डोजर प्रयोग गरेर उक्त लेदो हटाउने काम भइरहेको छ । विभिन्न स्थानमा ११ केभीका बिजुलीका पोलहरू र ट्रान्सफर्मरहरू ढलेका वा बगेका छन् । त्रिशूलीस्थित २२० केभी हब सबस्टेसन बाढीले पूर्णरूपमा क्षतिग्रस्त बनाएको छ भने चिलिमे २२० केभी हब टावरमा गम्भीर समस्या आएपछि सो क्षेत्रको प्रसारण पूर्णतः अवरुद्ध भएको छ । समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी र त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइनका टावरहरूमा क्षति पुगेकाले विद्युत् प्रवाह रोकिन पुगेको हो ।
विपद्को यस घडीमा नेपाल विद्युत् प्राधिकरणले उद्धार र पुनःस्थापनाको कार्यलाई तीव्रता दिएको छ । निमित्त कार्यकारी निर्देशक दिर्घायु श्रेष्ठको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी वस्तुस्थितिको जानकारी लिएको छ । हराइरहेका कर्मचारी र कामदारको खोजीका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह र स्वास्थ्य संस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ । जोखिममा रहेकाहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ भने फसेकाहरूको उद्धारका लागि छुट्टाछुट्टै टोली परिचालन गरिएको छ । प्राधिकरणले वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित स्थानहरूको पहिचान गरिरहेको छ ।
अहिले सिन्धुपाल्चोकको समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालन गरी चौघोडा सबस्टेसन चालु गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । धादिङको गजुरीदेखि गल्छीसम्म धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् दिने प्रयास जारी छ । भौतिक रूपमा सम्भव भएका स्थानमा कर्मचारीहरूले पेट्रोलिङ गर्ने, मर्मत गर्ने र प्रसारण लाइन पुनः सञ्चालन गर्ने काम गरिरहेका छन् । विद्युत् प्रणाली सञ्चालन विभाग र ग्रिड विभागलाई २४सै घण्टा खटेर प्रणाली सुचारु गर्न निर्देशन दिइएको छ । बाढीको वेग र भौगोलिक विकटताका कारण उद्धार र मर्मतमा कठिनाइ भए पनि प्राधिकरणले छिटोभन्दा छिटो सेवा सुचारु गर्ने लक्ष्य राखेको छ ।