बिहिबार, भाद्र ११ २०८३

बिहिबार, भाद्र ११ २०८३

बीभत्स तस्बिर सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह

बिहिबार, भाद्र ११ २०८३

काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट ठूलो मानवीय क्षति भएको र खोजी तथा उद्धार कार्य तीव्र रूपमा भइरहेको भन्दै नेपाल प्रहरीले सामाजिक सञ्जालमा क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर जथाभावी पोस्ट नगर्न आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले सूचना जारी गर्दै विपद्का बेला क्षतिग्रस्त शव तथा बीभत्स तस्बिर सामाजिक सञ्जालमा सम्प्रेषण गर्दा सर्वसाधारणमा त्रास, मानसिक तनाव तथा अनावश्यक भय उत्पन्न हुनसक्ने जनाएको छ ।

प्रहरीले विपद्को संवेदनशील अवस्थालाई ध्यान दिँदै यस्ता सामग्रीको अनावश्यक प्रचार–प्रसार नगर्न तथा सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्न आग्रह गरेको हो । भोटेकोशीमा आएको बाढीका कारण हालसम्म दर्जनौँ व्यक्ति सम्पर्कविहीन भएका छन् भने उद्धार तथा खोजी कार्यबाट त्यत्तिकै सङ्ख्यामा मानिसको उद्धार गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाढीमा फसेका तथा जोखिममा परेकाको उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । प्रहरीले विपद्को समयमा उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउन, अपुष्ट सूचना सम्प्रेषण नगर्न तथा पीडित र परिवारजनको संवेदनशीलतालाई सम्मान गर्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार