काठमाडौं । नेपाली फेसन, बेस्पोक टेलरिङ र सुट शिल्पकारिताको क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएका सुटमाला (Suit Mala) का कार्यकारी निर्देशक तथा युवा उद्यमी राज कार्की सम्मानित हुनुभएको छ। राजधानीमा आयोजित एक भव्य र सभ्य समारोहका बीच ‘एभरेस्ट इभेन्ट’ (Everest Events) द्वारा उहाँलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।
लामो समयदेखि राजधानीको बागबजारलाई केन्द्रबिन्दु बनाएर सुटमालाको माध्यमबाट फेसन र टेलरिङ व्यवसायलाई आधुनिक, समकालीन र उच्चस्तरीय व्यावसायिक रूप दिँदै आउनुभएका कार्कीको योगदानको उच्च कदर गर्दै एभरेस्ट इभेन्टले उहाँलाई सम्मान गरेको हो। परम्परागत सिलाइ पेसालाई आधुनिक बजारको माग, गुणस्तरीय शिल्पकारिता र व्यवस्थित व्यवस्थापनसँग जोड्दै उहाँले नेपाली फेसन बजारमा एक छुट्टै पहिरनको मापदण्ड स्थापित गर्नुभएको छ।
व्यवसाय सञ्चालनका साथै विभिन्न ब्रान्डिङ, प्रचार–प्रसार र सिर्जनात्मक गतिविधिहरूमा समेत उहाँको निरन्तर सक्रियता रहँदै आएको छ। सुटमालालाई केवल कपडा उत्पादन गर्ने संस्था मात्र नभई, युवाहरूमा स्वावलम्बन, उद्यमशीलता र नेतृत्व विकास गर्ने उत्प्रेरकको रूपमा अगाडि बढाउन उहाँले निर्वाह गर्नुभएको भूमिका प्रशंसायोग्य रहेको छ। विभिन्न कर्पोरेट मञ्च र व्यावसायिक नेटवर्कहरूमा उहाँले नेपाली उत्पादन र उद्यमीहरूको सशक्त प्रतिनिधित्व गर्दै आउनुभएको छ।
व्यावसायिक सफलताका साथै सामाजिक उत्तरदायित्व र राष्ट्रिय विकासका अभियानहरूमा समेत उहाँ उत्तिकै तल्लीन हुनुहुन्छ। देशमा स्थानीय उद्योग, उत्पादन र रोजगारीको सिर्जनाले मात्र अर्थतन्त्रलाई बलियो बनाउन सक्छ भन्ने मान्यता राख्दै उहाँले विभिन्न युवा सञ्जाल र मञ्चहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको छ। युवाहरूमा आत्मनिर्भरता जगाउन र परम्परागत सीपलाई सम्मानित पेसाको रूपमा स्थापित गर्न उहाँले निरन्तर वकालत गर्दै आउनुभएको छ।
एभरेस्ट इभेन्टको मञ्चबाट सम्मान ग्रहणपश्चात आफ्नो प्रतिक्रिया व्यक्त गर्दै कार्यकारी निर्देशक कार्कीले यस प्रकारको सम्मानले आगामी दिनमा अझ बढी ऊर्जा, निष्ठा र सिर्जनात्मकताका साथ काम गर्न ठूलो प्रेरणा मिलेको बताएका छन्। प्राप्त सम्मान र जिम्मेवारीले आफूलाई थप उत्तरदायी बनाएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि फेसन, व्यवसाय र सामाजिक क्षेत्रमा सक्रिय रही नेपाली सुट शिल्पकारितालाई अझ उचाइमा पुर्याउने दृढता व्यक्त गर्नुभएको छ। नेपाली फेसन बजारलाई अत्याधुनिक सेवा र उत्कृष्ट गुणस्तरसहित अगाडि बढाउने र सुटमालाको सेवालाई देशव्यापी रूपमा विस्तार गर्ने उहाँको आगामी प्रमुख लक्ष्य रहेको छ।