काठमाडौं । रसुवाको भोटेकोशी नदीमा ठूलो बाढी आएको छ । तिब्बततर्फबाट ठूलो बाढी आएको हो ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बुधबार बिहान करिब सवा ९ बजेको समयमा एक्कासि ठूलो बाढी आएको जानकारी आफूले पाएको बताए ।
भोटेकोशी नदीमा बाढी आएका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रवेशी, मैलुङ, पहिरे बेँसी, खाल्टे, बेत्रावतीलगायत नुवाकोटका बस्ती हरु पनि जोखिममा परेको छ ।
टिम्बुरे भन्सारका गाडीमा क्षति पुगेको आशंका
गत वर्ष असारमा लेन्दे खोलाको वितन्डापछिको बाढीले तहसनहस बनाएको १४ महिनापछि रसुवामा फेरि ठूलो बाढी आएको छ। बाढीका कारण टिम्बुरे भन्सारमा राखिएका गाडीमा ठूलो क्षति पुगेको रसुवा प्रहरीले जनाएको छ। क्षति विवरण संकलन भइरहेको प्रहरीले बताएको छ।
गत असार २३ गते नेपाल–चीन सिमानास्थित रसुवागढी क्षेत्रस्थित भोटेकोसी खोलामा आएको बाढीपहिरोका कैयौंको मृत्यु र अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो। लेहेन्दे खाेला उर्लिएपछि भाेटकाेसीमाआएकाे बाढीले १९ जनाकाे मृत्यु भएकाे थियाे। बाढीका कारण नेपाल चीन जाेड्ने मितेरी पुल बगाउँदा रसुवागढी नाकासँगकाे व्यापार अझ पनि सहज हुन सकेकाे छैन।
भोटेकोसी नदीमा बाढीको वहाब उच्च रहेकाले चितवनसम्मका बासिन्दालाई सुरक्षित स्थानमा रहन जिल्ला प्रशासन कार्यालय रसुवाले सूचना गरेको छ। रसुवासहित नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भएर बग्ने नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न हुन प्रशासनले अनुरोध गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बुधबार बिहान साढे ९ बजेतिर सूचना जारी विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोसी नदीमा पानीको वहाब उच्च रहेकोले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्ला भई बग्ने नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ।