काठमाडौं(जस)–सुनसरीको इनरुवामा जारी एमएम कप एकदिवसीय खेलमा नेपाल आर्मीले एमएमसिसी इनरुवालाई १० विकेटले पराजित गरेको छ । इनरुवाले दिएको केवल ५७ रनको लक्ष्य आर्मीले ५ ओभरमा कुनै विकेट नगुमाएर पुरा गरेको थियो । आर्मीका लागि कुशल मल्लले १९ बलमा ३५ र हरिकृष्ण झाले ११ बलमा २० रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको इनरुवा १९.३ ओभरमा ५६ रन बनाएर अल आउट भएको थियो । इनरुवाको ब्याटिंग ध्वस्त गर्ने क्रममा आर्मीका स्पिनर सुशान भारीले ह्याट्रिकसहित सात विकेट लिएका थिए ।
सुशानले ८.३ ओभर बलिङ गर्दै ३ मेडनसहित १६ रन दिएर ७ विकेट लिएका थिए । आर्मीका लागि हरिबहादुर चौहानले २ र शाहाब आलमले एक विकेट लिएका थिए । इनरुवाका ५ खेलाडी शुन्यमा आउट भएका थिए भने सुशान्त तिमिल्सिनाले सर्वा्धिक १५ रन बनाएका थिए । त्यस्तै सोनु मण्डलले १३ रन बनाए । योसँगै आर्मीले लगातार दोस्रो जित हासिल गरेको छ भने इनरुवाले दुवै खेलमा हार बेहोरेको छ ।