मंगलबार, भाद्र २ २०८३

मंगलबार, भाद्र २ २०८३

वार्ताको उपलब्धि सार्वजनिक गर्न वैदेशिक रोजगार व्यवसायी संघसँग लोकतान्त्रिक एसोसिएसनको माग

मंगलबार, भाद्र २ २०८३

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग भएको वार्तापछि आन्दोलन स्थगन गरी व्यवसायीहरूलाई कार्यालय सञ्चालन गर्न गरेको आह्वानप्रति नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले गम्भीर चासो व्यक्त गर्दै वार्ताबाट प्राप्त उपलब्धि र सहमतिको विवरण तत्काल सार्वजनिक गर्न माग गरेको छ।
संघले वैदेशिक रोजगार क्षेत्रका विभिन्न समस्या समाधानको माग गर्दै १५ बुँदे माग सरकारसमक्ष प्रस्तुत गरेको थियो। माग सम्बोधन नभएको भन्दै संघले भदौ १ गतेदेखि सम्पूर्ण वैदेशिक रोजगार व्यवसाय बन्द गर्ने घोषणा गरेपछि ठूलो संख्यामा व्यवसायीहरूले कार्यालय बन्द गरी आन्दोलनमा सहभागिता जनाएका थिए।
तर आन्दोलन सुरु भएकै दिन सरकारसँग वार्ता भएको र वार्ता सफल भएको भन्दै संघले व्यवसायीहरूलाई कार्यालय नियमित सञ्चालन गर्न आह्वान गरेपछि त्यसको आधार र वार्तामा भएको सहमतिबारे आम व्यवसायीहरूमा अन्योल उत्पन्न भएको लोकतान्त्रिक एसोसिएसनको भनाइ छ।
एसोसिएसनका अध्यक्ष रामप्रसाद गैरेले संघलाई पत्र पठाउँदै १५ बुँदे मागमध्ये सरकारले तत्काल सम्बोधन गर्ने विषय, लिखित प्रतिबद्धता भएका माग, कार्यान्वयनको समयसीमा तथा आगामी कार्ययोजनाबारे स्पष्ट जानकारी सार्वजनिक गर्न माग गरेका छन्।
एसोसिएसनले वार्ताका क्रममा कुन–कुन मागमा सरकारसँग सहमति भएको हो, कुन विषयमा लिखित प्रतिबद्धता प्राप्त भएको छ र तत्काल सम्बोधन हुन नसक्ने मागका सम्बन्धमा कस्तो समयसीमा तथा कार्यान्वयन योजना तय भएको छ भन्ने विषय आम व्यवसायीलाई जानकारी गराउनुपर्ने बताएको छ।
त्यस्तै, कुनै मागमा सरकारसँग सहमति हुन नसकेको भए त्यसको कारण र आगामी आन्दोलन वा दबाबका कार्यक्रमबारे समेत स्पष्ट पार्न एसोसिएसनले आग्रह गरेको छ।
आन्दोलनमा सहभागी भएर कार्यालय बन्द गरिसकेका व्यवसायीलाई तत्काल कार्यालय खोल्न आह्वान गर्नुको ठोस आधारसमेत संघले स्पष्ट पार्नुपर्ने एसोसिएसनको भनाइ छ। वार्तामा संघका तर्फबाट को–को सहभागी थिए र आन्दोलन स्थगन गर्ने निर्णय आम व्यवसायीको सहमतिमा गरिएको हो वा सीमित व्यक्तिहरूको निर्णयका आधारमा गरिएको हो भन्ने विषयमा समेत स्पष्ट जानकारी आवश्यक रहेको एसोसिएसनले जनाएको छ।
विशेषगरी सरकारसँग वार्ताका लागि संघका प्रतिनिधि जाने विषयमा आम व्यवसायीलाई पूर्वजानकारी नभएको र संघले औपचारिक जानकारी गराउनुअघि नै श्रम मन्त्रालयबाट वार्तासम्बन्धी सूचना सार्वजनिक भएको विषयले आफूहरूलाई आश्चर्यमा पारेको अध्यक्ष गैरेले बताएका छन्।
उनले आम व्यवसायीको हकहितसँग प्रत्यक्ष जोडिएका विषयमा हुने वार्ता र निर्णय प्रक्रियामा पारदर्शिता आवश्यक रहेको भन्दै व्यवसायीलाई आन्दोलनमा सहभागी गराएर अन्तिम निर्णयबारे पर्याप्त जानकारी नदिनु उचित नभएको बताएका छन्।
एसोसिएसनले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि गरिने सकारात्मक पहलमा आफूहरूको सहयोग र सहकार्य रहने स्पष्ट पार्दै व्यवसायीहरूको हकहितलाई प्रभावित पार्ने निर्णय सीमित व्यक्तिको स्वार्थ वा प्रचारका लागि प्रयोग हुन नहुने चेतावनीसमेत दिएको छ।
अध्यक्ष गैरेले संघले सस्तो प्रचारका लागि आम व्यवसायीलाई दुःख दिने वा आफ्ना उद्देश्य पूरा गर्न व्यवसायीलाई ‘हतियार’ बनाउने प्रवृत्ति लोकतान्त्रिक एसोसिएसनलाई स्वीकार्य नहुने बताएका छन्।
“वार्ता सफल भएको भनिए पनि कुन माग कसरी सम्बोधन भयो भन्ने स्पष्ट जानकारी नदिँदा आम व्यवसायीमा अन्योल र भ्रम सिर्जना भएको छ,” एसोसिएसनले भनेको छ।
एसोसिएसनले आज सम्पन्न वार्ताबाट प्राप्त उपलब्धि, सरकारसँग भएको सहमति, लिखित प्रतिबद्धता, कार्यान्वयनको समयसीमा र १५ बुँदे मागको वर्तमान अवस्थाबारे तथ्यपरक तथा आधिकारिक विवरण तत्काल सार्वजनिक गर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघसँग आग्रह गरेको छ।
वैदेशिक रोजगार व्यवसायीहरूबीचको आन्तरिक लोकतान्त्रिक अभ्यास, पारदर्शिता र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउनुपर्नेमा समेत एसोसिएसनले जोड दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार