आइतबार, साउन ३१ २०८३

आइतबार, साउन ३१ २०८३

एनआरएनए ११औँ एसिया प्यासिफिक सम्मेलन सम्पन्न ,२१ बुँदे घोषणापत्रमार्फत नागरिकता, लगानी र मतदानको अधिकारमा जोड

आइतबार, साउन ३१ २०८३

ग्वान्जाओ(चीन),गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन चीनको पर्यटकीय सहर ग्वान्जाओमा भव्यरूपमा सम्पन्न भएको छ । ‘आरोहण २०२६ राइजिङ टुगेदर, लिडिङ फरवार्ड’ भन्ने मूल नाराका साथ अगस्ट १४ देखि १६ सम्म आयोजना गरिएको यस सम्मेलनले प्रवासमा रहेका नेपालीहरूका गम्भीर सवालहरूलाई समेट्दै २१ बुँदे ‘ग्वान्जाओ घोषणापत्र २०२६’ जारी गरेको छ ।
सम्मेलनको औपचारिक उदघाटन सत्रमा नेपालका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रतिनिधि सभाका विपक्षी दलका नेता एवं नेपाली कांग्रेसका संसदीय दलका उपनेता भीष्मराज आङ्देम्बे प्रमुख अतिथिका रूपमा सहभागी थिए । विशेष अतिथिका रूपमा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेकपा (माओवादी केन्द्र) का युवराज दुलाल,
राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा,जगदिश खरेल, सोम शर्मा तथा खगेन्द्र सुनार,
श्रम संस्कृति पार्टीका आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीकी खुस्बू ओली,एनआरएनए का संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो
लगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गरेका थिए ।
यस्तै चीनका लागि नेपाली
राजदूतावासका कार्यवाहक राजदूत रोशन खनाल,
ग्वान्जाओस्थित नेपाली महावाणिज्यदूत भरत खनाल, ल्हासास्थित नेपाली
महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला, हङकङस्थित कार्यवाहक नेपाली महावाणिज्यदूत
सतिष गुरुङ, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुवेदी, लगायत एनआरएनएका
पदाधिकारी र विभिन्न कूटनीतिक नियोगका अधिकारीहरु,
संचारकर्मीहरु
सहित ५ सयभन्दा बढी प्रतिनिधिको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो ।
सम्मेलनले जारी गरेको २१ बुँदे घोषणापत्रमा गैरआवासीय नेपालीहरूको प्रमुख मागका रूपमा रहँदै आएको नागरिकताको निरन्तरतालाई प्राथमिकताका साथ उठाएको छ । नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका निर्णयहरूको स्वागत गर्दै सम्मेलनले संविधानको धारा १४ बमोजिम सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनी अड्चनहरू तत्काल फुकाउन माग गरेको छ । विशेष गरी वंशजको आधारमा प्राप्त नागरिकतालाई निरन्तरता दिनुपर्ने र ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मूल मर्मलाई आत्मसात गर्न सरकारलाई आग्रह गरिएको छ ।
आर्थिक मुद्दाहरूमा केन्द्रित हुँदै सम्मेलनले नेपाल सरकारको समेत लगानी रहेको १० अर्बको ‘नेपाल एनआरएन डेभलपमेन्ट फण्ड’ मा गैरआवासीय नेपालीहरूको सामूहिक लगानीका लागि ८५ प्रतिशतसम्मको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने सरकारको निर्णयलाई ऐतिहासिक कदम भनेको छ । यो फण्डलाई कार्यान्वयनमा ल्याउन धितोपत्र बोर्डले यथाशीघ्र निर्देशिका जारी गर्नुपर्ने र कानुनी प्रक्रिया पुरा गरी आईपीओमाजानुपर्नेमा जोड दिइएको छ । यसका साथै, विदेशमा रहेका नेपालीहरूको लगानीलाई प्रोत्साहन गर्न वार्षिक एक अर्बको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावको समर्थन गर्दै दोहोरो कर प्रणाली अन्त्यका लागि द्विपक्षीय सम्झौता गर्न सरकारसमक्ष अनुरोध गरिएको छ ।
प्रवासमा रहेका नेपालीहरूलाई मताधिकार दिने विषयमा सर्वोच्च अदालतले २०७४ सालमा दिएको निर्देशनात्मक आदेश अझै कार्यान्वयन नभएको प्रति सम्मेलनले चिन्ता व्यक्त गरेको छ । आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने गरी अनलाइनमार्फत मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्न र आवश्यक ऐन,कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । यस्तै, म्यानमार, मलेसिया, थाइल्याण्ड,फिजिलगायतका देशमा पुस्तौँदेखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरूलाई ‘पिपुल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) को परिचयपत्र प्रदान गर्न ढिलाइ भइरहेकोले यसलाई तत्काल अगाडि बढाउन माग गरिएको छ । वैदेशिक रोजगारीका क्षेत्रमा रहेका श्रमिकहरूको हकहितका लागि पनि सम्मेलनले महत्त्वपूर्ण योजनाहरू अघि सारेको छ । समस्यामा परेका श्रमिकहरूको राहतका लागि विभिन्न देशमा ‘श्रमिक सेल्टर’ स्थापना गर्ने, वैदेशिक रोजगार राहत कोषलाई प्रभावकारी बनाउने र श्रमिकहरूकै लागि समर्पित ‘श्रमिक अस्पताल’ नेपालमा निर्माण गर्ने जस्ता प्रस्तावहरू घोषणापत्रमा समावेश छन् ।
श्रमिकहरूलाई दक्ष बनाएर मात्र वैदेशिक रोजगारीमा पठाउन सीपमूलक तालिम केन्द्रहरूको व्यवस्था गर्न र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई पुनस्थापना गर्न रणनीतिक योजना बनाउने प्रतिबद्धता जनाइएको छ । दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोड्नका लागि सम्मेलनले विशेष कार्ययोजना तय गरेको छ । आगामी जनवरीमा ‘पछिल्लो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन’ आयोजना गर्ने र विदेशमा जन्मिएका बालबालिकालाई नेपाली भाषा, लिपि र संस्कार सिकाउने अभियान चलाइने घोषणा गरिएको छ । साथै, नेपाली प्रतिभाहरूलाई विश्व बजारमा प्रवद्र्धन गर्ने सिलसिलामा ‘मिस वर्ल्ड नेपाल २०२६’ की विजेता दीपमाला ढकाललाई सम्मेलनले बधाई दिँदै आगामी मिस वर्ल्डमा सफलताको कामनासमेत गरेको छ ।
विज्ञान, प्रविधि र ज्ञान हस्तान्तरणको क्षेत्रमा पनि सम्मेलनले महत्वकांक्षी लक्ष्यहरू राखेको छ । विश्वभर फैलिएका नेपाली विज्ञ, वैज्ञानिक र प्राविधिकहरूको ज्ञानलाई नेपालको विकाससँग जोड्न ‘इन्टरप्राइज म्यापिङ’ गर्ने र डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) का क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । आगामी जनवरीमा चौथो ‘विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने र लाओस, भियतनाम तथा इस्ट टिमोरमा नयाँ एनआरएनए राष्ट्रिय समन्वय परिषद् गठन गर्ने प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।
अन्त्यमा, सम्मेलनले काठमाडौँमा सम्पन्न रणनीतिक कार्यशालाबाट तयार पारिएको ‘एनआरएनए रोडम्याप २०३०’ लाई कार्यान्वयन गर्ने र संघको निर्वाचन प्रणालीलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन अनलाइन मतदानको व्यवस्था गर्ने सुनिश्चितता गरेको छ । २१ बुँदे यो घोषणापत्र केवल दस्ताबेजमा मात्र सीमित नराखी यसको प्रगतिबारे आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरूमा नियमित समीक्षा गरिने प्रतिबद्धतासहित सम्मेलन सम्पन्न भएको छ । एनआरएनए एसिया प्यासिफिक क्षेत्रले आगामी १२ औँ सम्मेलन लाओसमा आयोजना गर्ने घोषणा गर्दै ग्वान्जाओको यो तीन दिने ऐतिहासिक भेला समापन भएको छ । सम्मेलन अत्यन्तै सफल भएको जनाउदै एनआरएनए आईसिसीले एनआरएनए एशिया प्याशिफिक रिजन र एनआरएनए चीनलाई धन्यवाद ब्यक्त गरेको छ ।

११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ ग्वान्जाओ घोषणापत्र २०२६ का २१ बुदाहरु निम्न रहेका छन :

१. नेपाल सरकारले गैरआवासीय नेपालीका पक्षमा गरेका सम्पूर्ण निर्णय र सहजीकरणको
लागि हार्दिक आभार व्यक्त गर्दै संविधानको धारा १४ मा व्यवस्था भएको सामाजिक,
सांस्कृतिक र आर्थिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनका लागि
यथाशक्य छिटो आवश्यक कानूनी प्रबन्ध मिलाइदिन तथा गैरआवासीय नेपाली सम्बन्धी ऐन
यथाशक्य छिटो संशोधनसहित कार्यान्वयनमा ल्याउन यो सम्मेलन आग्रह गर्दछ। संविधान
संशोधन मार्फत वंशजको नागरिकतालाई निरन्तरता दिनुपर्ने माग गर्दछ।

२. विदेशमा रहेका नेपालीहरूको सानोदेखि ठूलासम्म लगानी भित्र्याउने उद्देश्यले
स्थापित नेपाल सरकार समेतको लगानी रहेको १० अर्बको ‘नेपाल एनआरएन डेभलपमेन्ट फण्ड’
मा गैरआवासीय नेपालीको सामूहिक लगानीका लागि सरकारले ८५ प्रतिशतसम्म प्रारम्भिक
सार्वजनिक निष्कासन (आईपीओ) गर्न स्वीकृति दिने निर्णय गरेकोमा यो सम्मेलन उक्त
निर्णयको स्वागत गर्दछ। साथै यो फण्ड सञ्चालनको लागि आवश्यक कानूनी व्यवस्थाहरू
यथाशीघ्र पूरा गर्न र धितोपत्र बोर्डले निर्देशिका जारी गरेपछि यथाशक्य छिटो
आईपीओमा जाने प्रतिबद्धता
पनि सम्मेलनले व्यक्त गर्दछ। साथै सो फण्डलाई भविष्यमा थप विस्तार सहजीकरण गर्ने यस
सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।

३. नेपाल सरकारले गैरआवासीय नेपालीहरूलाई खास प्राकृतिक लगानीकर्ता (सुप्रिम
अर्गानिक इन्भेष्टर) को स्थान दिई पूर्वाधार विकास र निर्यातमूलक उद्योगमा लगानी
गर्न वार्षिक एक अर्बको ‘डायस्पोरा बण्ड’ जारी गर्ने प्रस्तावलाई यो सम्मेलनले
हृदयदेखि स्वागत गर्दछ। साथै ‘विदेशमा बस्ने नेपालीहरूको लगानी प्रोत्साहन गर्न
नेपालीहरूको उल्लेख्य बसोवास रहेका देशहरूसँग दोहोरो कर प्रणाली अन्त्य गर्न
द्विपक्षीय सम्झौता तत्काल गर्न नेपाल सरकार समक्ष अनुरोध पनि सम्मेलनले गरेको छ।

४. हिमालय सीमा पार व्यापारका अवसर र चुनौतीलाई सम्बोधन गर्न कनेक्टिभिटी र
पूर्वाधार (सडक, पुल, अन्तर्राष्ट्रियस्तरको ल्याब लगायतका संरचना) विकासमा लगानी
गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै प्रमुख राजनीतिक दलका
सांसदहरूले यी नाकाहरू सदाबहार सञ्चालनयोग्य बनाउन सदन र अन्य माध्यमबाट पहल गर्ने
प्रतिबद्धता जनाउनु भएकोमा सम्मेलनले धन्यवाद व्यक्त गरेको छ।

५. सम्मानित सर्वोच्च अदालतले ७ चैत २०७४ मा विदेशमा रहेका नेपालीलाई समेत मतदानको
अवसर दिलाउनू भनी निर्देशन दिएपनि विदेशमा रहेका नेपाली नागरिकहरूले निर्वाचनमा भाग
लिन पाउने व्यवस्था अझैसम्म पनि हुन सकेको छैन। तसर्थ वर्तमान सरकारले आफ्नो
निर्वाचनको प्रतिबद्धता अनुसार आवश्यक ऐन, कानून निर्माण र संशोधन गरी अनलाइन
मार्फत मतदाता नामावली दर्ता गर्ने काम तत्काल सुरु गर्न र निकट भविष्यमा हुने
प्रदेश र स्थानीय तहको निर्वाचनमा विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकारको
व्यवस्था मिलाउन पहल गर्न नेपाल सरकारलाई अनुरोध गर्दछ।

६. म्यानमार, मलेसिया, फिजी, थाइल्याण्ड, कम्बोडिया लगायतका देशहरूमा रहनुभएका
नेपाली मूलका ५ लाख भन्दा बढी नेपालीहरूलाई ‘पिपल्स अफ नेपाली ओरिजिन’ (पीएनओ) को
परिचयपत्र प्रदान गर्नका लागि यथाशक्य चाँडो आवश्यक कानूनी प्रबन्ध गर्न नेपाल
सरकारसँग यो सम्मेलन माग गर्दछ। उनीहरूलाई पनि समेट्ने कानुन लामो समयदेखि अल्झदै
आएकाले यथाशीघ्र अघि बढाउन सम्मेलन आग्रह गरेको छ।

७. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा
पीएनओ, युवा महिलालाई संघको मूलधारमा समाहित गर्दै विदेशमा रहेका बालबालिकाहरूलाई
नेपाली भाषा, लिपि, संस्कार र संस्कृति सिकाउने उद्देश्यसहित आगामी जनवरी महिनामा
हुने ‘पहिलो एनआरएनए दोस्रो पुस्ता तथा महिला सम्मेलन’लाई सफल गराउन यो सम्मेलन
प्रतिबद्धता व्यक्त गर्दछ। एनआरएनएको हरेक निर्णय प्रक्रियामा युवा र दोस्रो
पुस्ताको प्रतिनिधित्वलाई सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्दछ। यो सम्मेलनले
विदेशमा जन्मे–हुर्केका नेपाली मूलका दोस्रो पुस्ताका युवाको नेपाली पहिचान, भाषा,
संस्कृति तथा मातृभूमिसँगको सम्बन्धलाई सुदृढ गर्न विशेष कार्यक्रम तय गर्ने छ।
गैरआवासीय नेपालीहरूको तर्फबाट पहिलो पटक मिस वर्ल्ड नेपाल २०२६ को माग लिएर सफलता
प्राप्त गर्नुभएकी दिपमाला ढकाललाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी वर्ष आयोजना
हुने मिस वर्ल्ड २०२७ को सफलताको लागि यो सम्मेलन हार्दिक बधाई तथा शुभकामना व्यक्त
गर्दछ। साथै, नेपालको समृद्धिको लागि दोस्रो पुस्ताले विदेशमा सकेको ज्ञान र सिपलाई
नेपालसँग जोड्नको लागि आवश्यक प्रबन्ध गर्न अनुरोध गर्दछ।

८. वैदेशिक रोजगारमा रहेका नेपालीको सुरक्षित भविष्यका लागि आवश्यक संयन्त्र बनाई
सामाजिक सुरक्षा कोष कार्यान्वयनसहित त्यसको निरन्तरता सुनिश्चितता गर्ने सो
सम्मेलन नेपाल सरकारसँग तपशिल अनुसार अनुरोध गर्दछ।
समस्या परेका श्रमिकहरूको राहतको लागि आवश्यकता भएका देशहरूमा ‘श्रमिक
सेल्टर’को स्थापना गर्ने।
हाल सञ्चालनमा रहेको वैदेशिक रोजगार राहत कोषलाई श्रमिकहरूको हितका लागि
प्रभावकारी रूपमा सदुपयोग गर्न नेपाल सरकारलाई अनुरोध गर्ने।
यो कोषमार्फत वैदेशिक श्रमिकहरूका लागि समर्पित ‘श्रमिक अस्पताल’ नेपालमा
स्थापना गर्ने तथा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूका लागि सीपमूलक तालिम
केन्द्र स्थापना गर्ने व्यवस्था गर्न अनुरोध गर्ने।
एनसीसी अध्यक्षहरूलाई वाणिज्य तथा श्रमिक दूतको रुपमा नियुक्ती दिन सरकारलाई
अनुरोध गर्ने।
प्रथम गैरआवासीय श्रमिक सम्मेलन छिटै आयोजना गर्ने।

९. नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम बजारमा व्यवस्थित र मर्यादित बनाउन
एनआरएनए र नेपाल सरकारको प्रयासमा सिपमुलक तालिम र वैदेशिक रोजगारीबाट
फर्केकाहरूलाई पुनस्थापना कार्यलाई रणनीतिक रुपमा योजनाबद्ध कार्यक्रम सञ्चालन
गर्ने।

१०. नेपाल सरकारले संविधान संशोधनको छलफल गरिरहेकाले संविधानको धारा २९१ को खारेजी
गर्ने प्रक्रिया संविधान संशोधनसँगै अघि बढाउन पनि सम्मेलनले नेपाल सरकार र सबै
राजनीतिक दलहरूलाई आग्रह गर्दछ। गैरआवासीय नेपालीहरूको नेपालमा लगानी सुनिश्चित
गर्नको लागि आवश्यक गैरआवासीय नेपाली ऐन संशोधन गरी वंशजको नागरिकताको निरन्तरता
मार्फत “एक पटकको नेपाली सधैंको नेपाली” को मर्म र भावनालाई सुनिश्चित गर्नको लागि
यो सम्मेलन नेपाल सरकार समक्ष आग्रह गर्दछ।

११. नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम बजारमा व्यवस्थित र मर्यादित एनआरएनए र
नेपाल सरकारको प्रयासमा सिपमुलक तालिम र वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई
पुनःस्थापना कार्यलाई रणनीतिक योजना बनाइ कार्यान्वयन गर्ने निर्णय गर्दछ।

१२. विश्वभर रहेका गैरआवासीय नेपालीलाई नेपालको पर्यटन, संस्कृति, कला, उत्पादन तथा
व्यापार प्रवर्द्धनका लागि प्रभावकारी माध्यमका रूपमा परिचालन गर्ने यो सम्मेलन
प्रतिबद्धता व्यक्त गर्दछ। साथै नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ
गर्दै नेपाल र एसिया प्यासिफिक क्षेत्रका पर्यटकीय गन्तव्य तथा मौलिक संस्कृति, कला
र उत्पादन आदानप्रदान एवं नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, बजारीकरण
र ब्रान्डिङका लागि डायस्पोराको सञ्जाल, व्यवसायिक पहुँच तथा जनस्तरको सम्बन्ध
विस्तारमा गैरआवासीय नेपाली समुदायलाई पुलका रूपमा परिचालन गर्न प्रतिबद्धता व्यक्त
गर्दछ। एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपाली समुदायबीच ज्ञान, अनुभव तथा स्रोतको
आदानप्रदानलाई थप विस्तार गर्ने निर्णय सम्मेलनले गरेको छ।

१३. विदेशमा रहेका नेपाली महिलाको नेतृत्व, उद्यमशीलता, आर्थिक सहभागिता तथा
संस्थागत प्रतिनिधित्व बढाउन आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त
गर्दछ। साथै महिलाको सुरक्षित आप्रवासन, स्वास्थ्य, कानुनी पहुँच, आर्थिक
आत्मनिर्भरता तथा नेतृत्व विकासलाई एनआरएनएको प्राथमिकतामा राख्दै आवश्यक सहकार्य र
समन्वयका लागि आह्वान गर्ने निर्णय गर्दछ।

१४. विश्वभर फैलिएका नेपाली विज्ञ, वैज्ञानिक, प्राविधिक, उद्यमी तथा पेशाकर्मीको
ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्न, संयन्त्र निर्माण तथा सुदृढ गर्दै
डिजिटल प्रविधि, कृत्रिम बुद्धिमत्ता, अनुसन्धान, विज्ञान तथा नवप्रवर्तनका
क्षेत्रमा नेपाली डायस्पोराबीच सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ।
साथै, एसियासहित विश्वभर रहेका नेपाली उद्यमी, व्यवसायी, लगानीकर्ता तथा
पेशाकर्मीको Enterprise Mapping गरी उनीहरूको विशेषज्ञता, लगानी क्षमता र बजार
पहुँचको तथ्यांक संकलन तथा डिजिटल माध्यमबाट परिचालन गर्न आवश्यक पहल गर्न
सरोकारवाला सबैलाई सम्मेलनले आह्वान गर्दछ।

१५. आगामी जनवरीमा आयोजना हुने चौथो विश्व ज्ञान सम्मेलन, पहिलो विश्व महिला
सम्मेलन तथा प्रथम र दोस्रो पुस्ता सम्मेलन सफल बनाउन नेपाल सरकार, राष्ट्रिय
समन्वय परिषद् लगायत सम्बन्धित सबै सरोकारवालालाई आवश्यक सहयोग र सहकार्यका लागि यो
सम्मेलन आह्वान गर्दछ। साथै, मध्यपूर्व क्षेत्रीय सम्मेलन नोभेम्बर २०२६, ओसेनिया
क्षेत्रीय सम्मेलन डिसेम्बर २०२६ तथा अमेरिकाज् क्षेत्रीय सम्मेलन अप्रिल २०२७ मा
सफलतापूर्वक आयोजना गर्न आवश्यक सहयोग र सहकार्यका लागि सम्बन्धित सबैमा आह्वान
गर्दछ।

१६. काठमाडौँमा सम्पन्न संघको रणनीतिक कार्यशालाबाट तयार ‘NRNA Roadmap to 2030’
कार्यान्वयन गर्न आईसीसीले अघि सारेको रि-ब्रान्डिङको योजना कार्यान्वयन गर्न यो
सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ। साथै, सम्पूर्ण पञ्जीकृत सदस्यहरूले
अनलाइनमार्फत आईसीसीको नेतृत्व चयन गर्ने नयाँ वैधानिक व्यवस्थालाई कार्यान्वयन
गर्न समयमै आवश्यक पूर्वाधार तयार गर्न आईसीसीलाई अनुरोध गर्दछ।

१७. नेपालीहरू रहेका देशका राजदूतावासको सेवा विस्तार गरी डिजिटल प्रणाली विकास
गर्न पहल गर्ने र आवश्यक सहयोग तथा सहजीकरण गर्ने यो सम्मेलन निर्णय गर्दछ।

१८. सामाजिक सुरक्षा कोषमा जानका लागि पहल र सहयोग गर्न हरेक देशका एनआरएनएले फोकल
पर्सन तोक्ने।

१९. लाओस, भियतनाम र इस्ट टिमोरमा नयाँ एनआरएनएको एनसीसी गठन गर्न पहल गर्ने।

२०. आगामी १२ औं एसिया प्यासिफिक सम्मेलन लाओसमा गर्ने घोषणा गरिन्छ।

२१. यस घोषणापत्रमा समेटिएका विषयलाई केवल प्रतिबद्धतामा सीमित नराखी सम्बन्धित
सरकार, निकाय, एनआरएनए तथा सरोकारवालाबीच आवश्यक समन्वय गरी कार्यान्वयनमा लैजान
सम्मेलनले प्रतिबद्धता व्यक्त गरेको छ। घोषणापत्रमा उल्लेखित विषयको प्रगतिको
नियमित समीक्षा गर्दै आगामी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्मेलनमा त्यसको प्रगति
प्रस्तुत गरिने छ ।

अन्त्यमा, ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन “आरोहण २०२६ Rising Together,
Leading Forward” लाई सफलतापूर्वक सम्पन्न गर्न प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा
सहयोग, सहकार्य र योगदान पुर्याउनुहुने आयोजक राष्ट्रिय समन्वय परिषद् चीन, आयोजक
समितिका सदस्यहरू, प्रमुख अतिथि, विशिष्ट अतिथिहरू, अन्तर्राष्ट्रिय समन्वय
परिषद्का पदाधिकारी तथा सदस्यहरू, एसिया प्यासिफिक क्षेत्रका सम्पूर्ण राष्ट्रिय
समन्वय परिषद्हरू, प्रायोजकहरू, स्वयंसेवकहरू, सञ्चारकर्मीहरू, काठमाडौँस्थित
सचिवालयका कर्मचारीहरू, तथा सम्पूर्ण व्यक्ति र संस्थाहरूप्रति हार्दिक आभार तथा
धन्यवाद ज्ञापन गर्दछौँ।

मिति: २०२६ अगष्ट १६
स्थान: चीन, ग्वान्जाओ गैरआवासीय नेपाली संघ,
अन्तर्राष्ट्रिय समन्वय परिषद

प्रतिक्रिया
सम्बन्धित समाचार