आइतबार, साउन ३१ २०८३
ललितपुर(जस)–पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आइतबार सार्वजनिक गरिएको निष्कर्षअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने निर्णय उल्लेख छ ।
विसं २०३३ मा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय सङ्कटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्केको स्मरण गर्दै आज देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने विषय दोस्रो बुँदामा उल्लेख गरिएको छ । तेस्रो बुँदामा नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्दै नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ भनिएको छ ।
वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकाश दिइने चौथो बुँदामा समेटिएको छ । आइतबार सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ । सम्मेलन समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा शशाङ्क कोइरालालगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालालाई समूहको नेतृत्वमा अघि सारेको छ । काठमाडौंमा जारी राष्ट्रिय सम्मेलनबाट कोइरालालाई इतरसमूहको नेतृत्व गर्दै आगामी १५औँ महाधिवेशनका लागि आवश्यक गतिविधि समन्वय गर्ने जिम्मेवारी दिइएको हो । सम्मेलनले पारित गरेको पाँचबुँदे प्रस्तावको पहिलो बुँदामै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ । प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।
प्रस्तावमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ । उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलन व्यक्त गर्दछ ।’ त्यस्तै, १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले समन्वय गर्दै अघि बढाउने प्रस्तावमा उल्लेख छ । यही निर्णयअनुसार राष्ट्रिय सम्मेलनका संयोजकसमेत रहेका डा. कोइरालालाई महाधिवेशनसँग सम्बन्धित गतिविधि अघि बढाउने महत्वपूर्ण जिम्मेवारी दिइएको हो ।
यसअघि कांग्रेसको संस्थापनइतर समूहको नेतृत्व कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले गर्दै आएका थिए । पछिल्लो समय इतरसमूहभित्र आगामी महाधिवेशनमा कसको नेतृत्वमा जाने भन्ने विषयमा छलफल चल्दै आएको थियो । राष्ट्रिय सम्मेलनमार्फत शशांक कोइरालालाई अघि सारिएसँगै समूहको नेतृत्वसम्बन्धी अन्योल पनि केही हदसम्म अन्त्य भएको देखिएको छ । राष्ट्रिय सम्मेलनमा देशभरबाट आएका प्रतिनिधिहरू सहभागी थिए । सम्मेलनमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफलसमेत भएको थियो । कांग्रेसको संस्थापनइतर समूहले १५औँ महाधिवेशनलाई पार्टी एकताको महाधिवेशन बनाउने बताउँदै आएको छ । पार्टीभित्र संस्थापन र संस्थापनइतर पक्षबीच महाधिवेशनको प्रक्रिया, नेतृत्व तथा संगठनात्मक संरचनाका विषयमा मतभेद कायमै रहेकाले पछिल्लो निर्णयलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले समेत महत्वपूर्ण रूपमा हेरिएको छ ।
देउवाले भने–गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिन
नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन् । कांग्रेसको इतरपक्षको राष्ट्रिय भेलाको बन्द सत्रमा बोल्दै देउवाले पार्टीको सहमतिबिना जबरजस्ती विशेष महाधिवेशन गरिएको दाबी गरे । विशेष महाधिवेशनका विषयमा आफूहरूले अदालतमा मुद्दा दायर गरेको उल्लेख गर्दै उनले अदालतको पूर्ण निर्णय आउन बाँकी रहेकाले यसबारे धेरै टिप्पणी नगर्ने बताए । देउवाले भने, ‘पञ्चायतकालदेखि नै न्यायालयले, सर्वोच्च अदालतदेखि सम्पूर्ण न्यायालयले हामीलाई न्याय दिएको हो। वास्तवमा भन्ने हो भने राजाले थुक्दा पनि राजाको आयोगलाई खारेज गरेको हो। पञ्चायतकालमा पनि धेरै जेलबाट छुटेको म । अहिले पनि न्यायालयले मलाई बचाएको छ, जसको कारण म नेपालमा आइपुगेको छु ।’
विशेष महाधिवेशनबारे उनले पार्टीको सहमतिबिना अधिवेशन नगर्न आफूले आग्रह गरेको बताए । उनले भने, ‘मैले त्यो अधिवेशनलाई मानेको पनि थिइनँ। सबैलाई मैले भनेको थिएँ– पार्टीको सहमतिले ग¥यौँ, विशेष महाधिवेशन यसरी नगर्नु। भन्दा भन्दै जबरजस्ती विशेष महाधिवेशन गरेर अन्याय तरिकाले धेरै साथीहरूलाई बाहिर राखियो । जसको खिलाफमा हामी अदालतमा गयौँ ।’ अदालतप्रति आफूलाई पूर्ण विश्वास रहेको बताउँदै देउवाले अदालतको निर्णय आफूले मान्ने स्पष्ट पारे । उनले भने, ‘मलाई विश्वास छ, अदालतको पूर्ण निर्णय आउन बाँकी छ । त्योभन्दा अगाडि धेरै कुरा भन्नु छैन। म अदालतलाई पूर्ण विश्वास गर्दै अदालतको कुरा मान्छु ।’
बन्द सत्रमा देउवाले धर्मका विषयमा पनि आफ्नो धारणा राखे । आफू व्यक्तिगत रूपमा हिन्दु भएको उल्लेख गर्दै उनले नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्ने बताए । देउवाले भने, ‘म हिन्दु हुँ। मेरो व्रतबन्ध हिन्दु संस्कारअनुसार भएको हो। जनै पनि हालेको छु। बिहे मैले गुह्येश्वरीमा हिन्दु रीतिरिवाजअनुसार गरेको हुँ। म व्यक्तिगत रूपमा पूरा हिन्दु हुँ ।’ नेपालको धार्मिक तथा राजनीतिक स्वरूपबारे निर्णय गर्ने अधिकार नेपाली जनतामै रहेको उनको भनाइ थियो । उनले कुनै पनि धर्म मान्ने अधिकारबाट नागरिकलाई वञ्चित गर्न नहुने बताए । ‘नेपाल के हुने, के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु हुन पाउँदैन भन्नचाहिँ पाइँदैन। म हिन्दु हुँ। त्यसकारण पशुपति पनि जान्छु, पशुपतिनाथको पूजा गर्छु,’ देउवाले भने । उनले आफू बुद्ध धर्मप्रति पनि सम्मान र सद्भाव राख्ने बताए । ‘मलाई बुद्धप्रति पनि माया छ । बुद्धिजमलाई आज संसारले मानेको छ । बुद्धिजमलाई वैज्ञानिक धर्म पनि मानेका छन्,’ उनले भने ।
संविधानका विरोधाभास सच्याउन कांग्रेसले अग्रसरता लिन्छ
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले संविधानमा रहेका कतिपय विरोधाभासपूर्ण व्यवस्थाहरूलाई जनअपेक्षाअनुसार संशोधन गर्न पार्टीले राष्ट्रिय पहल लिने बताएका छन् । नेपाली कांग्रेसको राष्ट्रिय भेलाको तेस्रो दिन पार्टीको नीति तथा कार्यदिशासम्बन्धी कार्यपत्रमाथि उठेका प्रश्नहरूको सम्बोधन गर्दै नेता महतले संविधान पारित गरेर स्वीकार गरे पनि त्यसमा लेखिएका सबै कुरा पार्टीको अन्तिम दृष्टिकोण हुन नसक्ने स्पष्ट पारे । नेता महतले आवश्यकता र संसद्मा शक्ति सन्तुलन अनुकूल भएको अवस्थामा कांग्रेसले संविधान संशोधनको बाटो रोज्ने बताए ।
उनले भने, ‘संविधानमा धेरै विरोधाभासपूर्ण कुराहरू लेखिएका छन्। हामीले संविधान पारित गरेपछि त्यसलाई माने पनि पार्टीको दृष्टिकोण सबै त्यही हुन्छ भन्ने छैन् । हाम्रो दृष्टिकोण अनुसार पारित गर्न सक्ने अवस्थामा हामी संविधान संशोधन पनि गर्छौं। त्यसैले संविधानमा जे लेखिएको छ, त्यही नै पार्टीको नीति हो भनिरहनुपर्ने आवश्यकता छैन् ।’ संविधानमा उल्लिखित ‘समाजवाद उन्मुख’ शब्दावलीप्रति टिप्पणी गर्दै नेता महतले कांग्रेस केवल ‘प्रजातान्त्रिक समाजवाद’मा विश्वास गर्ने बताए । समाजवादलाई देशको विद्यमान आर्थिक धरातलअनुसार परिभाषित गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिलेको समाजवाद भनेको निजी क्षेत्रबाट आर्थिक वृद्धि सिर्जना गर्ने र त्यसबाट प्राप्त राजस्वको ठूलो हिस्सा पछाडि परेका वर्ग, समुदायको शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा सर्वसुलभ तरिकाले उपलब्ध गराउनु हो। हामी समाजवादको बाटोबाट विचलित भएका छैनौं, तर कार्यान्वयनको शैली समयसापेक्ष हुनुपर्छ ।’
२०१५ सालको भूमिसुधार र तत्कालीन आवश्यकताको स्मरण गर्दै उनले अहिलेको युगमा उत्पादन वृद्धि, प्रविधिको प्रयोग र गुणस्तरीय रोजगारी सिर्जना नै मुख्य आर्थिक एजेन्डा हुनुपर्ने बताए । पार्टीको कार्यपत्रले तल्लो तहका नागरिक र कृषकका समस्यालाई प्राथमिकतामा राखेको दाबी गर्दै उनले कृषि क्षेत्रमा देखिएको मल अभाव, जमिन बाँझो रहने समस्या, सिँचाइको कमी र उचित मूल्य नपाउने परिस्थितिलाई नीतिगत रूपमै समाधान गरिने बताए । यसैगरी, रोजगारी सिर्जनाका लागि सूचना प्रविधि क्षेत्रको विकास तथा मधेश–तराईको खुला सिमानाबाट सिर्जित व्यापार–व्यवसायका समस्यालाई सम्बोधन गर्न पार्टीले स्पष्ट योजना ल्याएको जानकारी दिए । कर्णाली र सुदूरपश्चिमका विकट क्षेत्रमा कनेक्टिभिटी र पूर्वाधार विकास कांग्रेसको प्राथमिकतामा रहेको उनको भनाइ थियो ।
नेपालको सांस्कृतिक विविधताको चर्चा गर्दै नेता महतले सबै धर्मावलम्बीको स्वतन्त्रताको रक्षा गर्दै मौलिक सनातन संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । ‘हरेक धर्मावलम्बी (क्रिश्चियन, मुस्लिमलगायत) सबैको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्दै हिन्दू, बौद्ध, किरात, प्राकृतसहितको सनातन धर्म–संस्कृतिको पहिचानलाई हामीले अंगीकार गर्छौं। हाम्रा यिनै धार्मिक र सांस्कृतिक सम्पदाहरूलाई इको–टुरिजमसँग जोडेर विश्व बजारमा प्रवद्र्धन गर्नुपर्छ,’ उनले भने । पार्टीको आन्तरिक राजनीतिका विषयमा बोल्दै नेता महतले आगामी १५औं महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न हुने दाबी गरे । महाधिवेशनको तयारी र समन्वयमा डा. शशांक कोइरालाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । वि.सं. २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलाप नीतिको सान्दर्भिकता अझै नसकिएको उल्लेख गर्दै उनले लोकतन्त्र र राष्ट्रियता बलियो बनाउन सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij