काठमाडौं,नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको नेतृत्व विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेपछि अध्यक्षमा निर्वाचित रामप्रसाद गैरेलाई राहत मिलेको छ।
अन्तरिम आदेशले तत्कालका लागि निर्वाचित अध्यक्ष गैरेलाई जिम्मेवारी दिएको छ ।
उच्च अदालत पाटनको संयुक्त इजलासले एसोसिएसनको अध्यक्ष निर्वाचनसम्बन्धी निर्णय तथा त्यससँग सम्बन्धित कामकारबाही तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको हो। अदालतको आदेशसँगै एसोसिएसनको नेतृत्वलाई लिएर देखिएको विवाद तत्कालका लागि थप निर्णय नगर्ने अवस्थामा पुगेको छ।
उच्च अदालत पाटनमा दायर निषेधाज्ञासम्बन्धी निवेदनमाथि सुनुवाइ गर्दै इजलासले यस्तो आदेश दिएको हो। अदालतले विपक्षीहरूका नाममा अध्यक्ष निर्वाचनसम्बन्धी निर्णय तथा कामकारबाही नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको छ।
एसोसिएसनको साधारणसभाबाट अध्यक्षमा निर्वाचित रामप्रसाद गैरेले अदालतको आदेशले आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएका छन्। निर्वाचनमा अत्याधिक मतसहित विजयी भएका गैरेले व्यवसायीहरूले दिएको विश्वासलाई सम्मान गर्दै आगामी दिनमा पनि वैदेशिक रोजगार व्यवसायीहरूको हकहितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
‘अदालतको आदेशले मलाई न्याय दिएको महसुस भएको छ,’ गैरेले भने, ‘व्यवसायीहरूले दिएको जिम्मेवारी र विश्वासलाई आत्मसात् गर्दै सधैँ व्यवसायीहरूको हकहितमा काम गर्नेछु।’
एसोसिएसनको अध्यक्ष पदका लागि भएको निर्वाचनमा गैरेले अत्यधिक मत प्राप्त गर्दै विजयी भएका थिए। तर निर्वाचनपछि नेतृत्वको विषयलाई लिएर एउटा समूह जिल्ला प्रशासन कार्यालय काठमाडौ पुगेर विवाद उत्पन्न भएको थियो । त्यसपछी एसोसिएसनको नेतृत्व र कामकारबाहीमा अन्योल देखिएको थियो।
यसैबीच जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयबाट किशोर कुमार केसीले आफूलाई अध्यक्षको जिम्मेवारी प्राप्त भएको दाबी गरेका थिए। त्यसपछि एसोसिएसनको अध्यक्ष को हुने भन्ने विषय विवादित बनेको थियो।
केसीले एसोसिएसनका प्रथम उपाध्यक्ष सुवर्ण लामा, साधारणसभाबाट अध्यक्षमा निर्वाचित गैरे, एसोसिएसनका सल्लाहकार शंकर आचार्य तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई विपक्षी बनाई उच्च अदालत पाटनमा निषेधाज्ञाको निवेदन दायर गरेका थिए।
अदालतको पछिल्लो आदेशले भने अध्यक्ष निर्वाचनसम्बन्धी विषयमा तत्काल नयाँ निर्णय वा कामकारबाही अघि बढाउने बाटो रोकेको छ। मुद्दाको अन्तिम सुनुवाइपछि अदालतबाट हुने निर्णयले एसोसिएसनको नेतृत्व विवादको स्थायी कानुनी टुंगो लगाउनेछ।
नेतृत्व विवादका कारण केही समयदेखि अन्योलमा रहेको नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको विवाद अदालतको अन्तिम फैसलासम्म सकिएको छ । अन्तरिम आदेशले तत्कालका लागि निर्वाचित अध्यक्ष गैरेलाई जिम्मेवारी दिएको छ ।