शाही परिवारका सदस्यद्धारा शुभारम्भ
काठमाडौँ(जस)–नेपालबाट लण्डन गएर लामो समयदेखि उद्योग तथा व्यवसाय सञ्चालन गरेका उद्यमी समीर खनालले मध्य लन्डनको प्रतिष्ठित मेफेयरमा रोजवुड फार्मेसी सञ्चालनमा ल्याएका छन् । डेढ दशकदेखि नेपालमा उत्पादित जडिवुटीलाई लण्डनमा प्रवद्र्धन गर्दै आएका खनालले स्थापना गर्नुभएको फार्मेसीको लन्डनमा एक विशेष समारोहका बीच युएईको शाही परिवार सदस्य शेख फैसल बिन खालिद अल कासिमीले शुभारम्भ गरे ।
मेफेयर लन्डनको सबैभन्दा सम्पन्न र प्रतिष्ठित ठाउँमध्ये एक हो । खनालले उक्त स्थानमा आफ्नै ‘प्रोपर्र्टी’ उक्त फार्मेसी सञ्चालन ल्याएका हुन् । उक्त स्थानमा लक्जरी किनमेल, विश्वस्तरीय होटल, उत्कृष्ट रेस्टुरेन्ट, जर्जियाली वास्तुकला र हाइड पार्कलगायत रहेको छ । फार्मेसी उदघाटन समारोहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसी अध्यक्ष डा हेमराज शर्मा, एनआरएनए युके अध्यक्ष राजेन्द्र पुडासैनी, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष विराज भट्ट, चितवन एड ट्रस्टका अध्यक्ष राजु आचार्य, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दिपक कुँवर, उद्यमीहरु एलएन पाण्डे, कमल पौडेल, बसन्त नेपाललगायत ब्रिटिश र नेपाली व्यवसायी एवम् समुदायका प्रतिनिधिको उपस्थिती रहेको थियो ।
उनहरुले मेफेयर जस्तो प्रतिष्ठित र सम्पन्न ठाउँमा नेपाली व्यवसायीले व्यवसाय खोल्नु सारा नेपालीको लागि खुशी र गर्वको विषय भएको बताएका थिए । लन्डनको प्रतिष्ठित लोकेसनमा प्रिमियम ब्रान्डमा नेपाली उत्पादनहरु उपलब्ध गराइएकोमा खुशी व्यक्त गर्दै उनीहरुले यसले नपाली उत्पादन मात्र नभइ सिंगो देशकै प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरेका थिए । गैरआवासीय नेपाली समुदायकै एक सदस्यले व्यवसायिक रुपमा हासिल गरेको यो सफलता सिंगो समुदायका लागि प्रोत्साहन र प्रेरणाको विषय हुने उनीहरुले बताए ।
कार्यक्रममा रोजवुड फार्मेसीका प्रवन्ध निर्देशक खनालले सबै अतिथिलाई उपस्थितीको लागि शुभकामना तथा कृतज्ञता व्यक्त गरे । उनले आफ्नो ब्रान्ड सरयूमार्फत अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरका नेपाली उत्पादनहरू प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे । सरयूले नेपालबाट प्रिमियम हिमालयन जङ्गली मह, यार्सागुम्बा, शिलाजित जस्ता बहुमुल्य नेपाली जडिबुटीको कच्चापदार्थ नेपालबाट आयत गरी लण्डनमा उत्पादन गरी विक्रिवितरण गर्दै आएको छ ।
व्यवसायी खनालले रोजवुड फार्मेसी औषधि बिक्री गर्ने ठाउँ मात्र नभई यसले नेपाली उत्पादनलाई विश्व बजारमा परिचय गराउने प्लेटफर्मको रूपमा पनि काम गर्ने बताए । अन्य फार्मेसीमा उपलब्ध सामग्री रोजवुड फार्मेसीमा पनि समान मूल्यमा उपलब्ध छन् । तर प्रिमियम ब्रान्डका सामग्रीको भने सोहिअनुसार मूल्य निर्धारण गरिएको छ । व्यवसायी खनालले नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताए । चितवन स्थायी घर भई काठमाडौँको महाराजगञ्ज बस्दै आउनुभएका खनाल अध्ययनका लागि बेलायत प्रवेश गरी निरन्तरको मेहनत र पेशाप्रतिको इमान्दारिताका जगमा अहिले यहाँसम्म आइपुगेका हुन् । “मेहनत त आवश्यक पर्छ नै, तर त्यति मात्रै भएर पुग्दैन, सहि समय र सहि ठाउँमा कडा मेहनत गरियो भने अवश्य सफल भइन्छ भन्ने मेरो सिकाइ हो,”– उनले भने । खनालले आगामी दिनमा आफ्नो व्यवसायलाई निरन्तर रुपमा अगाडि बढाउने बताए ।