शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राष्ट्रपतिसमक्ष एनआरएनएको विश्व ज्ञान सम्मेलनको अवधारणापत्र, प्रवासी नेपालीको ज्ञानलाई राष्ट्र निर्माणमा जोड्ने जोड

शुक्रबार, साउन १५ २०८३

काठमाडौं, गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक तथा दक्ष जनशक्तिको ज्ञान, सीप र अनुभवलाई नेपालको विकाससँग जोड्ने उद्देश्यले आयोजना गर्न लागेको विश्व ज्ञान सम्मेलन (ग्लोबल नलेज कन्फ्रेन्स) को अवधारणापत्र सम्माननीय राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ।
संघका उपाध्यक्ष एबम सिप,ज्ञान,प्रविधी तथा हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मी र उपमहासचिव कृष्ण पोखरेलले राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्दै सम्मेलनको तयारी, उद्देश्य तथा अपेक्षित उपलब्धिबारे जानकारी गराएका हुन्।
भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता, प्राविधिक तथा विभिन्न क्षेत्रका दक्ष जनशक्तिलाई एउटै मञ्चमा ल्याई विदेशमा आर्जन भएको ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन र अनुभवलाई नेपालको समृद्धि तथा दिगो विकासमा उपयोग गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो।
उहाँका अनुसार सम्मेलनले नेपाल सरकार, निजी क्षेत्र, विश्वविद्यालय तथा विश्वभर रहेका नेपाली विज्ञहरूबीच दीर्घकालीन ज्ञान साझेदारी, अनुसन्धान सहकार्य र नवप्रवर्तनलाई संस्थागत गर्ने आधार तयार गर्नेछ। यस साताभरि नेपाल सरकारका विभिन्न मन्त्रालय, सरकारी निकाय तथा उच्च पदस्थ अधिकारीहरूसँग भएका छलफल र प्राप्त सकारात्मक प्रगतिबारे पनि राष्ट्रपतिलाई जानकारी गराइएको थियो।
सो अवसरमा उपमहासचिव कृष्ण पोखरेलले संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार अझै प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा प्रवासी नेपालीहरूले विभिन्न प्रशासनिक तथा कानुनी झन्झट भोग्नुपरेको विषय राष्ट्रपतिसमक्ष उठाउनुभयो। उहाँले संवैधानिक व्यवस्थाको पूर्ण कार्यान्वयनका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो।
जवाफमा सम्माननीय राष्ट्रपतिले विश्वभर रहेका नेपाली विज्ञहरूलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप र अनुभवको आदानप्रदान गराउने उद्देश्यसहित आयोजना हुन लागेको विश्व ज्ञान सम्मेलनको प्रशंसा गर्नुभयो। उहाँले नेपालको समृद्धिका लागि विदेशबाट आउने पूँजीसँगै ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनको लगानी पनि उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
राष्ट्रपतिले विदेशमा रहेका नेपालीहरूको बौद्धिक क्षमता, अनुभव र विशेषज्ञतालाई राष्ट्र निर्माणसँग प्रभावकारी रूपमा जोड्न सके नेपालले दीर्घकालीन रूपमा उल्लेखनीय उपलब्धि हासिल गर्न सक्ने विश्वास व्यक्त गर्दै विश्व ज्ञान सम्मेलन त्यस दिशामा महत्वपूर्ण अभियान बन्ने बताउनुभयो।
उहाँले गैरआवासीय नेपाली समुदायले नेपालको आर्थिक, सामाजिक तथा बौद्धिक विकासमा अझ प्रभावकारी योगदान दिन सक्ने उल्लेख गर्दै सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र प्रवासी नेपाली समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार