बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

कृषि मन्त्री गीता चौधरी र एनआरएनएबिच भेट,विश्वभरका नेपाली कृषि विज्ञ परिचालन गर्न सरकार र एनआरएनएबिच सहकार्य गरिने

बुधबार, साउन १३ २०८३

काठमाडौं,नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, उत्पादनमुखी र दिगो बनाउने लक्ष्यसहित विश्वभर रहेका नेपाली कृषि विज्ञहरूको ज्ञान, सीप, प्रविधि र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्ने विषयमा सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए)बीच सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।
बुधबार कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी र एनआरएनएको प्रतिनिधिमण्डलबीच भएको भेटवार्तामा कृषि क्षेत्रको आधुनिकीकरण, ज्ञान तथा प्रविधि हस्तान्तरण, विषयगत नेपाली विज्ञहरूको परिचालन, कृषि अनुसन्धान, लगानी प्रवर्द्धन तथा रबरमा आधारित बहुविविध कृषि वन प्रणाली विकासका विषयमा विस्तृत छलफल भएको हो।
भेटका क्रममा मन्त्री चौधरीले नेपालको कृषि क्षेत्रले अपेक्षित गति लिन नसक्नुमा आधुनिक प्रविधि, अनुसन्धान तथा दक्ष जनशक्तिको प्रभावकारी उपयोग हुन नसक्नु पनि एउटा प्रमुख कारण रहेको उल्लेख गर्दै विश्वभर रहेका नेपाली कृषि विज्ञहरूको पहिचान गरी उनीहरूको विशेषज्ञतालाई राष्ट्रिय कृषि विकाससँग जोड्नु आजको आवश्यकता भएको बताउनुभयो।
उहाँले एनआरएनएको विश्वव्यापी सञ्जालमार्फत विभिन्न मुलुकमा कार्यरत नेपाली कृषि वैज्ञानिक, अनुसन्धानकर्ता तथा विज्ञहरूको विस्तृत विवरण संकलन गरी सरकारलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसबाट कृषि नीतिको निर्माण, कार्यक्रम कार्यान्वयन तथा प्रविधि हस्तान्तरणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। कृषि क्षेत्रमा नवप्रवर्तन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको आवश्यकता अनुसार उपयोग गर्न सरकार र एनआरएनएबीच अझ सशक्त सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो।
एनआरएनएका उपाध्यक्ष तथा ज्ञान,सीप एवं प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले आगामी विश्व नेपाली ज्ञान सम्मेलन २०२७ अन्तर्गत कृषि क्षेत्रका लागि छुट्टै विषयगत (सेक्टोरल) सत्र आयोजना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उक्त सम्मेलनमार्फत विश्वभर रहेका नेपाली कृषि विज्ञ, अनुसन्धानकर्ता तथा सरोकारवालाबीच ज्ञान, अनुभव र अत्याधुनिक प्रविधिको आदान–प्रदान गराई नेपालको कृषि क्षेत्रलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उहाँले झापा, मोरङ, सुनसरी तथा इलामको दक्षिणी क्षेत्रमा रबरमा आधारित बहुविविध कृषि वन प्रणाली (ENDRA) अन्तर्गत समुदायमा आधारित रबर नर्सरी तथा प्रदर्शन केन्द्र स्थापना गर्ने परियोजनाको अवधारणापत्र समेत मन्त्रीसमक्ष प्रस्तुत गर्नुभयो। परियोजनाले गुणस्तरीय बिरुवा उत्पादन, किसानको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा आगामी १० वर्षभित्र करिब २० हजार हेक्टर क्षेत्रमा व्यावसायिक रबर खेती विस्तार गर्ने राष्ट्रिय लक्ष्यलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एनआरएनएका उपाध्यक्ष रोजिना प्रधान राईले कृषि क्षेत्रलाई संघले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विद्यमान कानुनी तथा नीतिगत व्यवस्थाका कारण विदेशमा रहेका नेपाली कृषि विज्ञहरूले नेपालमा आएर योगदान गर्न व्यावहारिक कठिनाइ भोगिरहेको विषय सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्ता बाधा हटाउन आवश्यक नीतिगत सुधार आवश्यक रहेको उहाँको भनाइ थियो।
उपमहासचिव कृष्ण पोखरेलले विश्वभर छरिएर रहेका नेपाली विषयगत विज्ञहरूको पहिचान गरी उनीहरूको ज्ञान, सीप र अनुभवलाई कृषि आधुनिकीकरण, उत्पादन वृद्धि तथा दिगो विकास अभियानसँग जोड्न सके नेपालको कृषि क्षेत्रमा गुणात्मक परिवर्तन सम्भव हुने बताउनुभयो।
भेटवार्तामा जलवायुमैत्री कृषि प्रणालीको प्रवर्द्धन, कृषि क्षेत्रमा निजी लगानी आकर्षित गर्ने उपाय, अनुसन्धानमा सहकार्य, ज्ञान तथा प्रविधि हस्तान्तरण र अन्तर्राष्ट्रिय अनुभवको उपयोगमार्फत नेपालको कृषि क्षेत्रलाई थप प्रतिस्पर्धी, आधुनिक तथा उत्पादनमुखी बनाउने विषयमा समेत विस्तृत छलफल भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार