काठमाडौं । विश्वभर छरिएर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक, उद्यमी तथा विभिन्न पेशागत क्षेत्रमा आबद्ध दक्ष जनशक्तिलाई नेपालको विकाससँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यसहित राष्ट्रिय योजना आयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सहकार्यका विविध विषयमा विस्तृत छलफल भएको छ।
सोमबार राष्ट्रिय योजना आयोगमा भएको भेटवार्तामा एनआरएनएको प्रतिनिधिमण्डलले आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टलाई चौथो विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ (4th NRNA Global Knowledge Convention 2027) को अवधारणापत्र प्रस्तुत गर्दै ज्ञान, सीप, प्रविधि, नवप्रवर्तन, अनुसन्धान तथा लगानीमार्फत नेपालको समग्र विकासमा सहकार्य गर्ने विषयमा विस्तृत छलफल गरेको हो।
भेटका क्रममा एनआरएनएका उपाध्यक्ष तथा सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभाग प्रमुख डा. ज्ञानेन्द्र रेग्मीले सन् २०१८ देखि सञ्चालन हुँदै आएको ‘Networking for Development’ अवधारणालाई यसपटक केवल छलफलमा सीमित नराखी प्रत्यक्ष कार्यान्वयन र परिणाममा केन्द्रित ‘Solution-oriented’ मोडेलका रूपमा अघि बढाइएको जानकारी दिए।
उनले विगतमा सम्पन्न तीनवटा विश्व नेपाली ज्ञान सम्मेलनबाट प्राप्त सुझाव, निष्कर्ष तथा सिफारिसलाई राष्ट्रिय योजना आयोगका नीति तथा योजनासँग एकीकृत गर्दै कार्यान्वयनमुखी कार्यक्रमका रूपमा अघि बढाउने तयारी गरिएको बताए। आगामी सम्मेलनमा राष्ट्रिय योजना आयोगका प्राथमिकतासँग प्रत्यक्ष सम्बन्ध राख्ने छ वटा विषयगत क्षेत्रमा केन्द्रित छलफल हुने जानकारी दिँदै उनले विश्वभर रहेका तीन लाखभन्दा बढी नेपाली विज्ञ तथा विशेषज्ञ र नेपालका नीति निर्माता, सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रलाई एउटै साझा मञ्चमा जोडेर ज्ञान, सीप, प्रविधि, अनुसन्धान र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई नेपालको विकाससँग जोड्ने लक्ष्य रहेको स्पष्ट पारे।
भेटमा एनआरएनएका उपाध्यक्ष तथा गैरआवासीय नेपाली कल्याण विभाग प्रमुख एवं नागरिकता निरन्तरता समितिकी संयोजक रोजिना प्रधान राईले विदेशमा रहेका अनुभवी नेपाली विज्ञसँगै दोस्रो पुस्ताका नेपाली मूलका दक्ष युवालाई पनि नेपालको विकास यात्रामा सहभागी गराउन आवश्यक रहेको धारणा राखिन्। उनीहरूको ज्ञान, सीप र अनुभवलाई प्रभावकारी रूपमा उपयोग गर्न नेपाल सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्नुपर्नेमा उनले जोड दिइन्।
राईले गैरआवासीय नेपाली विकास कोष, गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन तथा गैरआवासीय नेपाली ऐन संशोधनका विषयलाई शीघ्र टुंगोमा पुर्याउनुपर्ने आवश्यकता औँल्याउँदै विश्वभर रहेका नेपाली विज्ञ तथा लगानीकर्तालाई दीर्घकालीन रूपमा नेपालसँग जोड्न स्पष्ट कानुनी व्यवस्था, नीतिगत समर्थन र प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताइन्। ज्ञान, सीप तथा प्रविधि हस्तान्तरणलाई दिगो र परिणाममुखी बनाउन यी विषयहरू राष्ट्रिय विकास योजनामै समावेश गरिनुपर्ने उनको भनाइ थियो।
एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले गैरआवासीय नेपाली विकास कोष सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। विश्वभर रहेका साना तथा ठूला गैरआवासीय नेपाली लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उद्देश्यले कोष सञ्चालनमा ल्याउन आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको उल्लेख गर्दै उनले एउटा मात्र कानुनी संशोधन बाँकी रहेको र त्यसलाई छिट्टै टुंग्याउने पहल भइरहेको बताए।
त्यसैगरी, एनआरएनएका उपमहासचिव कृष्ण पोखरेलले गैरआवासीय नेपालीहरूको लगानी तथा त्यसबाट प्राप्त प्रतिफल स्वदेश फिर्ता लैजाने प्रक्रियामा देखिएका नीतिगत तथा व्यवहारिक कठिनाइबारे आयोगको ध्यानाकर्षण गराए। उनले वैदेशिक लगानीलाई थप आकर्षित गर्न कानुनी तथा प्रक्रियागत जटिलता हटाई लगानीमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै लगानीकर्ताको विश्वास अभिवृद्धिका लागि स्पष्ट नीति, सरल प्रक्रिया तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा राखे।
प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले आयोग गैरआवासीय नेपाली संघसँग सहकार्य गर्न सधैं सकारात्मक रहेको बताए। उनले सुशासन सुधार, संस्थागत सुदृढीकरण, कानुनी तथा नीतिगत सुधार तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासलाई नेपालमा भित्र्याउन प्रवासी नेपाली विज्ञहरूको ज्ञान, अनुभव र दक्षता महत्वपूर्ण हुने उल्लेख गरे।
उपाध्यक्ष भट्टले गैर–वित्तीय क्षेत्रको डिजिटलीकरण, उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, उपत्यकाबाहिर सुरुङमार्ग निर्माण, यातायात तथा अन्य पूर्वाधार विकासका क्षेत्रमा समेत सहकार्यको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै चौथो विश्व नेपाली ज्ञान सम्मेलन सफल बनाउन राष्ट्रिय योजना आयोगको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा एनआरएनएका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले संघको युरोप क्षेत्रीय सम्मेलन तथा एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। यसपटक दुवै क्षेत्रीय सम्मेलनमा नेपालमा लगानी प्रवर्द्धन, गैरआवासीय नेपालीको लगानी आकर्षित गर्ने उपाय तथा नेपालमा उपलब्ध लगानीका अवसरलाई मुख्य एजेन्डा बनाइने उनले बताए। साथै, क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझाव तथा निष्कर्षलाई राष्ट्रिय विकास र लगानी प्रवर्द्धनसँग जोडेर कार्यान्वयनमा लैजाने तयारी गरिएको जानकारी दिए।
एनआरएनए र राष्ट्रिय योजना आयोगबीच भएको यस छलफललाई विश्वभर फैलिएका नेपाली विज्ञ, अनुसन्धानकर्ता, वैज्ञानिक तथा लगानीकर्ताको ज्ञान, सीप, अनुभव र पूँजीलाई नेपालको विकाससँग संस्थागत रूपमा जोड्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।