बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बैरो संघ र दूतावासको छलफलपछि साउदी आईडी नवीकरण प्रक्रिया सहज,एटेस्टेसनको अनिवार्यता हटाइयो,व्यवसायीलाई राहत,निष्क्रिय आईडी इजाजतपत्रवालालाई उपलब्ध गराइने

मंगलबार, साउन १२ २०८३

काठमाडौं,साउदी अरबमा नेपाली श्रमिक पठाउने वैदेशिक रोजगार व्यवसायीका लागि साउदी आईडी नवीकरण प्रक्रिया थप सहज बनाइएको छ। नेपालस्थित साउदी दूतावाससँग नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीबीच भएको औपचारिक भेटघाटपछि आईडी नवीकरण, भेरिफिकेसन तथा अन्य प्रशासनिक प्रक्रियामा महत्वपूर्ण सहजीकरण गरिएको संघले जनाएको छ। यसबाट साउदी रोजगारीसँग सम्बन्धित कार्य सम्पादनमा व्यवसायीले भोग्दै आएको झन्झट कम हुने अपेक्षा गरिएको छ।
संघका प्रथम उपाध्यक्ष महेश कुमार बस्नेत र सचिव केदारनाथ अधिकारी ले साउदी दूतावासमा पुगेर दूतावासका अधिकारीसँग औपचारिक भेटवार्ता गरेका थिए। भेटका क्रममा साउदी आईडी नवीकरण, आवश्यक कागजात, भेरिफिकेसन प्रक्रिया तथा व्यवसायीले भोगिरहेका व्यवहारिक समस्याका विषयमा छलफल भएको थियो। छलफलपछि दूतावासले व्यवसायीलाई सहज हुने गरी केही महत्वपूर्ण व्यवस्थाबारे जानकारी गराएको संघले जनाएको छ।
नयाँ व्यवस्थाअनुसार अब साउदी आईडी नवीकरण गर्दा कुनै पनि प्रमाणपत्रमा एटेस्टेसन आवश्यक पर्ने छैन। यसअघि विभिन्न कागजातमा एटेस्टेसन गर्नुपर्ने व्यवस्थाका कारण व्यवसायीले अतिरिक्त समय र खर्च बेहोर्नुपरेको गुनासो गर्दै आएका थिए। नयाँ निर्णयसँगै आईडी नवीकरण प्रक्रिया थप छिटो र सहज हुने विश्वास गरिएको छ।
त्यसैगरी भेरिफिकेसनका लागि सक्कल कम्पनी दर्ता प्रमाणपत्र र वैदेशिक रोजगार व्यवसाय सञ्चालन इजाजतपत्र अन्य आवश्यक कागजातसँगै पेश गरे पुग्ने व्यवस्था गरिएको छ। यसले अनावश्यक कागजी प्रक्रिया घटाएर आवश्यक कागजातका आधारमा नै भेरिफिकेसन प्रक्रिया अगाडि बढाउन सहज हुने संघको विश्वास छ।
यस्तै, संस्थाका सञ्चालक तथा कर्मचारीको प्रहरी चारित्रीक ओरमाणपत्रमा समेत मोफा एटेस्टेसन आवश्यक नपर्ने भएको छ। यसबाट व्यवसायीलाई थप प्रशासनिक झन्झटबाट मुक्ति मिल्नुका साथै प्रक्रिया छोटो र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
संघका अनुसार प्रक्रिया सम्पन्न भएपछि एक्टिभ नरहेका संस्थाहरूको स्थानमा नयाँ आईडी इच्छुक इजाजतपत्र प्राप्त व्यवसायीलाई सहज रूपमा उपलब्ध गराइने व्यवस्था पनि गरिएको छ। यसबाट लामो समयदेखि साउदी बजारमा प्रवेशका लागि आईडी को प्रतीक्षामा रहेका व्यवसायीलाई अवसर सिर्जना हुने विश्वास गरिएको छ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव हिरा बहादुर (हरि) डाँगीले साउदी दूतावाससँगको छलफल सकारात्मक र उपलब्धिमूलक भएको बताउँदै यसले व्यवसायीलाई प्रत्यक्ष रूपमा राहत पुग्ने बताए।
उनले भने, “संघले व्यवसायीका व्यवहारिक समस्या दूतावाससमक्ष राख्दै आएको थियो। त्यसकै परिणामस्वरूप आईडी नवीकरण प्रक्रियामा महत्वपूर्ण सहजीकरण भएको छ। एटेस्टेसनको अनिवार्यता हट्नु, प्रहरी चारित्रीक प्रमाणपत्रमा मोफा एटेस्टेसन आवश्यक नपर्नु तथा भेरिफिकेसन प्रक्रियालाई सरल बनाइनु व्यवसायीका लागि सकारात्मक उपलब्धि हुन्।”
महासचिव डाँगीले सबै इजाजतपत्र प्राप्त व्यवसायीलाई साउदी दूतावासले जारी गरेको चेकलिस्ट तथा नयाँ व्यवस्था अनुसार निर्धारित समयसीमाभित्र आईडी नवीकरण प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्। उनले समयमै नवीकरण सम्पन्न गरे आगामी दिनमा साउदी रोजगारीसँग सम्बन्धित सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
संघले दूतावाससँग व्यवसायीका साझा हित, सेवा प्रवाहको प्रभावकारिता तथा साउदी रोजगारी प्रक्रियालाई थप सहज बनाउने विषयमा आगामी दिनमा पनि निरन्तर समन्वय र सहकार्यलाई अघि बढाइने जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार