आइतबार, साउन ३ २०८३
काठमाडौँ(जस)–नेपाली कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ । सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले एकताका पाँच बुँदा सार्वजनिक गरेको हो । नेता मीनबहादुर विश्वकर्माले पत्रकार सम्मेलनमा ती पाँच बुँदा सार्वजनिक गरे। पहिलो बुँदामा देउवा समूहले चौधौँ महाधिवेशन कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख गरेको छ ।
दोस्रो बुँदामा सभापति गगन थापाको बहुमत रहने गरी कार्यसम्पादन समिति निर्माण, तेस्रो बुँदामा पुनर्गठित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्नुपर्ने प्रस्ताव ल्याइएको छ । यस्तै, वर्तमान संस्थापन पक्षको बहुमत रहने गरी महाधिवेशनसँग सम्बन्धित विभिन्न समिति बनाउनु पर्ने चौथो बुँदामा प्रस्ताव छ । पाँचौँ बुँदामा महाधिवेशनको लागि पार्टीको महत्वपूर्ण आधार क्रियाशील सदस्यता भएकाले पार्टीभित्र विवाद हुनुपहिले नै थापा संयोजक रहेको समितिले टुंग्याएका सबै क्रियाशील सदस्यलाई स्वतः पन्ध्रौँ महाधिवेशनमा सहभागी हुन पाउने व्यवस्था गर्नुपर्ने उल्लेख छ । त्यस्ता सदस्यको डिजिटल इन्ट्री गर्दै जाने र डिजिटल इन्ट्रीलाई पुनः नवीकरण भनी महाधिवेशनमा भाग लिन नपाउने विषयसँग नजोड्नुपर्ने देउवा समूहको प्रस्ताव छ ।
नेता विश्वकर्माले पार्टी एकताका लागि अधिकतम् लचकता अपनाउँदै बुँदा सार्वजनिक गरिएको बताए । “हामी पार्टी एकताका लागि हदैसम्मको लचकता अपनाउँछौँ, त्यसमा केही गुमाउन र केही अपनाउन तयार छौँ,” उनले भने। पत्रकार सम्मेलनमा नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, प्रकाशशरण महतलगायत उपस्थित थिए। पत्रकार सम्मेलनमा उक्त समूहले ६ साउनमा ४४औं बीपी स्मृति दिवसको आवश्यक तयारीबारे जानकारी दिएको छ । समूहले ६ साउनमा प्रज्ञा प्रतिष्ठानमा बीपी स्मृति दिवस मनाउने र त्यहीँबाट राष्ट्रिय भेलाको घोषणा गर्ने जनाएको छ ।
यता, संस्थापन पक्ष समूहले पनि बीपी स्मृति दिवस मनाउनेबारे सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराउने भएको छ । २७ पुस २०८२ मा विशेष महाधिवेशनबाट थापा नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो। उक्त समितिलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। विशेष महाधिवेशनमा सहभागी नभएको देउवा समूह र मध्यमार्गी नेता शेखर कोइराला समूहले पार्टी एकताका लागि नेतृत्वले पहल नगरेको आरोप लगाएको छ । दुबै समूह विशेष महाधिवेशन पक्षले पन्ध्रौँ महाधिवेशनको तयारी थालेपछि सदस्यता अद्यावधिकलगायत विषयमा असहमति राख्दै आएको छ ।
कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता सुनिश्चित गरेको बताएका छन् । आइतबार ४४ औँ बीपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले थापाले सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने व्यवस्था गरिएको बताए ।
‘पटक पार्टीको वैधानिक संरचनामा हामीले प्रत्येक वडाबाट प्रतिनिधिहरू छानेर आउँदै गर्दाखेरी ३० वर्षभन्दा मुनिको यति संख्यामा हुनैपर्छ भनेर हामीले क्रियाशीलबाट छानिने प्रतिनिधिहरूबाटै छानेर बनाएका छौँ,’ उनले भने, ‘त्यसै गरिकन ३५ वर्षभन्दा मुनिको एउटा निर्वाचन क्षेत्रबाट ३ जना महाधिवेशन प्रतिनिधि अनिवार्य रूपमा हुने गरी, अहिले जो हामी पहिला २५ भन्छौँ । हामीले अहिले थपेर ३१ बनाएका छौँ र त्यहाँ ३ जना साथीहरू ३५ वर्षभन्दा मुनिको आउनुहुन्छ ।’
उनका अनुसार पार्टीले महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पु¥याएको छ । जसमा युवा प्रतिनिधित्वलाई प्राथमिकता दिइएको छ । उनले केन्द्रीय समितिमा पनि नयाँ पुस्ताका नेताहरूको सहभागिता सुनिश्चित गर्ने व्यवस्था गरेको बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीमा नयाँ साथीहरूलाई पनि ल्याउनुपर्ने र पुरानो साथीहरूको सम्मान पनि सँगसँगै गर्नुपर्ने छ । हामी ४ पुस्ताका मानिसहरू एकै पटक यो पार्टीमा क्रियाशील छौँ ।’
कांग्रेसमा अहिले चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय रहेको बताउदै उनले सबै पुस्तालाई जोड्ने साझा राजनीतिक शक्ति बन्नुपर्ने बताए । कांग्रेसले देशभरका सबै जातजाति, भाषा र समुदायलाई जोड्दै आएको उल्ल्ेख गरे । उनले अब सबै पुस्तालाई पनि एकै सूत्रमा बाँध्ने पार्टीका रूपमा आफूलाई स्थापित गर्नुपर्ने बताए । उनले भने, ‘नेपाली कांग्रेस आफैँ एउटा राष्ट्रिय शक्ति पनि भएको हुनाले गर्दा जसरी हामी सबै जातजाति, भाषाभाषी नेपाल भरिको सबैलाई जोड्ने सबैभन्दा ठूलो शक्ति कुन छ यो भनेर भन्यौँ भने हामी कांग्रेस हो भनेको जस्तै, सबै पुस्ताको मान्छेलाई जोड्ने शक्ति पनि नेपाली कांग्रेस बन्नुपर्छ ।’
संविधान संशोधन आवेश र उत्तेजनामा आएर गर्ने कुरा होइनः सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आइतबार पोखरामा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताए । “सुशासन, संविधानको संस्थागत विकास र सङ्घीयताको सवलीकरणका लागि संविधान संशोधन गर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो चुनावी प्रतिज्ञापत्रमै उल्लेख गरेको थियो”, सभापति थापाले भने, “सुशासन अहिलेको सबैभन्दा महत्वपूर्ण कुरा हो, नयाँ पुस्ताले पनि यही विषय उठाइरहेको छ, सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस प्रारम्भ गरौँ ।”
संविधान संशोधनको विषयले ठीक ढङ्गले लय पक्रेन भने मुलुक नयाँ द्वन्द्वमा जाने उनको भनाइ थियो । “संविधान केवल कागजी दस्तावेज मात्र होइन, यो त जीवन्त प्रकृया हो”, सभापति थापाले भने, “संविधान संशोधनका विषयलाई ऐतिहासिक दृष्टिकोण र चेतबाट हेनुपर्छ, यो आवेश र उत्तेजनामा आई गर्ने कुरा होइन, संविधान संशोधन आफैमा संवेदनशील विषय हो ।” लोकतन्त्र, विधिको शासन, नागरिक अधिकार र संविधानवादका आधारभूत विषयबाहेक संविधान संशोधनका हरेक मुद्दामा नेपाली कांग्रेस बहस गर्न तयार रहेको सभापति थापाले उल्लेख गरे । उनले नेपाली कांग्रेस राष्ट्रिय राजनीतिक शक्ति भएकाले लोकतन्त्र र नागरिक अधिकार रक्षाको मुख्य जिम्मेवारी पनि कांग्रेससँग रहेको धारणा राखे ।
“संसद्मा सानो पार्टी भए पनि राष्ट्रिय भूमिकाका हिसाबले हामी राष्ट्रिय पार्टी हो”, सभापति थापाले भने, “संविधानको सर्वोच्चता र नागरिक अधिकारमाथि कुनै पनि किसिमको खेलवाड हुन हामी दिँदैनौँ ।” नेपाल जस्तो मुलुकमा संसदबाट कार्यकारी प्रमुख चुनिने शासकीय स्वरुप र मिश्रित निर्वाचन प्रणाली नै उपयुक्त हुने उनले बताए । प्रदेश सरकार र स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनुपर्ने सभापति थापाले जिकिर गरे । सरकारसँग कांग्रेसले कुनै पूर्वाग्रह नराख्ने उनले उल्लेख गरे । पाँच वर्ष सरकार चलाउने जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको उल्लेख गर्दै सभापति थापाले सरकारले कमीकमजोरी गर्दा भने प्रमुख प्रतिपक्षी दलका हिसाबले सधैँ खबरदारी गरिरहने बताए ।
विचार गोष्ठीमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयतालाई थप सुदृढ गनुपर्ने बताए । सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका विकृतिलाई हटाउनुपर्ने उनको भनाइ थियो । सङ्घीय सरकारले कानुन निर्माण नगरेका कारण पनि प्रदेश सरकारका कानुन कार्यान्वयनमा चुनौती देखिएको मुख्यमन्त्री पाण्डेले बताए । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लले लोकतन्त्रका आधारभूत मूल्यमान्यतामा आँच नआउने गरी संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने धारणा राखे । विचार गोष्ठीमा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रजातान्त्रिक विचार समाज, कास्कीका अध्यक्ष शिशुकला पराजुलीलगायतले संविधान संशोधनको आवश्यकता र औचित्यका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij