शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

प्रहरी चारित्रिक प्रमाणपत्रको दोहोरो व्यवस्था हटाउन युएईसँग नेपालको आग्रह

बुधबार, असार १७ २०८३

काठमाडौं(जस)–युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसीबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री यादवले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले प्रहरी चारित्रिक प्रमाणपत्र दोहोर्याएर लिनुपर्ने व्यवस्था हटाई श्रमिकलाई सहज वातावरण बनाउन युएई पक्षसँग आग्रह गरेका छन् ।
दुवै पक्षबीच नेपाल–युएई श्रम सम्झौताका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन, वैदेशिक रोजगारीको लागत न्यूनीकरण, सीप साझेदारी तथा श्रमिकको स्वास्थ्य सुरक्षालगायतका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने सहमति भएको मन्त्रालयले जनाएको छ ।
भेटमा युएईका राजदूत अल शामसीले ईद उल अजहाको अवसरमा १११ जना नेपाली कैदीबन्दीलाई आममाफी प्रदान गरिएको जानकारी गराएका थिए । त्यसप्रति मन्त्री यादवले युएई सरकारप्रति कृतज्ञता व्यक्त गरेका छन् । राजदूत अल शामसीले द्विपक्षीय हित र सरोकारका अन्य विषयमा पनि युएई सरकारसँग आवश्यक समन्वय गरी नेपाल सरकारलाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभामुख अर्यालसँग साउदी राजदूतको शिष्टाचार भेटवार्ता
यसैगरी सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत महामहिम श्री फाहद मोहम्मद ए. मनिखले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपालको सङ्घीय संसद साउदी अरेबियाको शुरा काउन्सिलसँग रचनात्मक तथा संस्थागत सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै सङ्घीय संसदको हालैको निर्णयअनुसार नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन भएको जानकारी गराए । उक्त समूहले दुवै देशका संसदबीच पारस्परिक हितका विषयमा सहकार्यलाई थप प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे ।
उनले नेपाल र साउदी अरेबियाबीच श्रम आप्रवासको क्षेत्रमा बढ्दो सहकार्यप्रति सन्तोष व्यक्त गर्दै साउदी अरेबिया नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य मुलुकका रूपमा रहेको उल्लेख गरे । भेटका क्रममा सभामुख अर्यालले मार्च २०२७ मा नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरमा स्वर्ण महोत्सव मनाउने तयारी भइरहेको उल्लेख गरे । उनले यस ऐतिहासिक अवसरलाई दुवै देशबीचको सुदृढ साझेदारी तथा भविष्यको अझ घनिष्ठ सहकार्यप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने अर्थपूर्ण कार्यक्रम तथा सहभागितामूलक गतिविधिमार्फत गरिमामय र स्मरणीय रूपमा मनाउने अपेक्षा व्यक्त गरे ।
सभामुख अर्यालले नेपाल र साउदी अरेबियाबीच आर्थिक सहकार्य तथा साझेदारी विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै नेपाल सरकारले पूर्वाधार, सूचना प्रविधि, ऊर्जा, पर्यटन, खानी तथा कृषि लगायतका राष्ट्रिय प्राथमिकताका क्षेत्रमा साउदी अरेबिया सहित मित्रराष्ट्रहरूबाट थप लगानी र सहयोगको अपेक्षा गरेको बताए । उनले नेपालको प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, समृद्ध संस्कृति तथा नेपालीहरूको आतिथ्यभावका कारण नेपाल साउदी पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे ।
सो अवसरमा राजदूत मनिखले नेपाल र साउदी अरेबियाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश सदैव सकारात्मक रहेको बताए । उनले नेपालसँगको सहकार्यलाई साउदी अरेबियाले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै श्रम, व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्पर्क विस्तारका क्षेत्रमा थप सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गरे । नेपालले सन् १९७८ मा साउदी अरेबियामा आफ्नो राजदूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०१२ मा नेपालमा राजदूतावास स्थापना गरेको हो। हाल साउदी अरेबियामा करिब ३ लाख ८४ हजार ८६५ नेपाली नागरिक कार्यरत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार