काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ नेतृत्व चयन प्रक्रियामा अधिकांश पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् भने कोषाध्यक्ष पदमा मात्रै निर्वाचन भएको छ।
नेतृत्व चयनका लागि लामो समयसम्म भएको छलफल र सहमतिपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव तथा सचिव पदमा सहमति जुटेको हो। तर कोषाध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा जानुपरेको इप्पानले जनाएको छ।
कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन पौडेल प्रतिस्पर्धामा उत्रिएका छन्। दुवै उम्मेदवारबीच सहमतिको प्रयास भए पनि अन्तिम समयमा सहमति हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन गर्ने निर्णय गरिएको हो। शुक्रबार रातिदेखि मतदान प्रक्रिया सुरु भएको थियो भने मतगणना पनि सुरु भइसकेको छ।
इप्पानको विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतः अध्यक्ष बनेका छन्। वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बलराम खतिवडाले उम्मेदवारी फिर्ता लिएपछि लामाको निर्विरोध चयन भएको हो।
त्यसैगरी महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्।
उपाध्यक्ष पदका लागि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्तबीच समेत सहमति जुटेको बताइएको छ। यद्यपि निर्वाचन समितिले कोषाध्यक्ष पदको निर्वाचन सम्पन्न भएपछि मात्रै सम्पूर्ण निर्वाचित पदाधिकारीहरूको औपचारिक घोषणा गर्ने तयारी गरेको छ।
यसपटकको इप्पान निर्वाचनमा विभिन्न समूहबीच प्रतिस्पर्धा र विवादको चर्चा भए पनि अन्ततः अधिकांश पदमा सहमति कायम भएको छ। अब सबैको ध्यान कोषाध्यक्ष पदको मतगणना र अन्तिम परिणामतर्फ केन्द्रित भएको छ।