कतार,कतार र कुवेतमा आइतबार भएका ड्रोन आक्रमणको चौतर्फी विरोध भएको छ । Arab Parliament का अध्यक्ष Mohammed bin Ahmed Al-Yamahi ले यी घटनालाई सार्वभौमसत्तामाथिको गम्भीर हमला र क्षेत्रीय शान्ति–सुरक्षामाथिको प्रत्यक्ष चुनौती भएको बताएका छन् ।
कतारको विदेश मन्त्रालयका अनुसार मेसाईद बन्दरगाहको उत्तरपूर्वी क्षेत्रमा कतारको जलसीमाभित्र यात्रा गरिरहेको एक व्यावसायिक मालवाहक जहाजलाई ड्रोनमार्फत निशाना बनाइएको थियो । आक्रमणपछि जहाजमा सामान्य आगलागी भए पनि मानवीय क्षति भने नभएको जनाइएको छ । कतारले उक्त घटनालाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन तथा मध्यपूर्व क्षेत्रमा तनाव बढाउने खतरनाक गतिविधि भन्दै कडा शब्दमा निन्दा गरेको छ ।
यसैबीच, कुवेतको रक्षा मन्त्रालयले पनि आइतबार बिहान आफ्नो हवाई क्षेत्रमा धेरै सङ्ख्यामा ‘शत्रुवत ड्रोन’ देखिएको पुष्टि गरेको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको जनाइएको छ ।
अरब संसद्का अध्यक्ष अल–यामाहीले सामाजिक सञ्जालमार्फत जारी छुट्टाछुट्टै विज्ञप्तिमा कतार र कुवेतमाथि भएका आक्रमणहरू क्षेत्रीय स्थायित्व कमजोर पार्ने प्रयास भएको उल्लेख गरेका छन् । उनले यस्ता गतिविधिविरुद्ध अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
यसअघि इरानका सरकारी सञ्चारमाध्यमहरूले कतार नजिक आक्रमणमा परेको जहाज अमेरिकी स्वामित्वको रहेको दाबी गरेका थिए ।
मध्यपूर्व क्षेत्रमा पछिल्ला घटनाक्रमसँगै सुरक्षा चुनौती थप चर्किने चिन्ता बढिरहेको बेला यी आक्रमणहरूको सर्वत्र विरोध भइरहेको छ ।