काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आगामी जनवरी २०२७ मा आयोजना गरिने चौथो विश्व ज्ञान सम्मेलनको तयारी बैठकले नेपाल सरकारका प्राथमिकता क्षेत्रलाई आधार मानेर संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
संघका उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीको सहजीकरणमा सम्पन्न उक्त भर्चुअल (जुममार्फत) बैठकमा विदेशस्थित विभिन्न क्षेत्रका विज्ञहरूले विदेशमा रहेका नेपाली र नेपाल सरकारबीच प्रभावकारी संवाद तथा विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । साथै, सरकारका प्राथमिकताहरू नै एनआरएनएका मुख्य प्राथमिकता बन्नुपर्ने धारणा व्यक्त गरिएको छ ।
बैठकमा प्रस्तावित विषयवस्तुहरू राष्ट्रिय योजना आयोगका लक्ष्यसँग मेल खाने, सान्दर्भिक तथा विश्वसनीय हुनुपर्नेमा विशेष जोड दिइएको छ । त्यसैगरी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै सम्मेलन आयोजना गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको छ । यसले प्रवासी विज्ञहरूलाई प्रमुख वक्ताका रूपमा सहभागी गराउँदै सरकारी प्राथमिकता र अन्तर्राष्ट्रिय अनुभवबीच समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । साथै, आगामी सम्मेलनलाई अघिल्ला संस्करणहरूको निरन्तरतासँगै अझ बढी परिणाममुखी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।
यसअघि सम्पन्न तीन संस्करणहरू नेपाल सरकारका प्रमुख चुनौतीहरूको पहिचान, प्रवासी सञ्जाल विस्तार तथा नीतिगत सुझावमा केन्द्रित थिए । अब भने कार्यक्रमलाई व्यवहारिक तथा अनुसन्धानमुखी बनाउँदै सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । संघका अध्यक्ष डा. हेमराज शर्माले सहभागीहरूलाई रचनात्मक सुझावका लागि धन्यवाद व्यक्त गर्दै ती सुझावहरूलाई आत्मसात गर्दै चौथो विश्व ज्ञान सम्मेलनलाई प्रभावकारी, व्यवहारिक तथा परिणाममुखी रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।