शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रिमियर लिग : आर्सनलसँग युनाइटेड पराजित, टोटनहम स्तब्ध

बिहिबार, पुष १७ २०७६

काठमाडौं (एजेन्सी)– चिर प्रतिद्वन्द्वी म्यान्चेस्टर युनाइटेडलाई पराजित गर्दै नयाँ म्यानेजर मिकेल आर्टेटाको नेतृत्वमा आर्सनलले पहिलो जीत हासिल गरेको छ । घाइते पाउल पोग्बा बिना मैदान उत्रिएको पाहुना टोलीले खेलमा राम्रो सुरुवात गरेको थियो । तर, खेलको आठौँ मिनेटमा निकोलास पेपेले सिजनको पाँचौ गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । पहिलो गोलपछि भने आर्सनलले खेलमा नियन्त्रण बनायो । पहिलो हाफ सकिन लाग्दा सोक्राटिस पापास्ताथोपोलोसले गोल गर्दै आग्रता दोब्बर बनाए । पछिल्ला ९ खेलमा एक खेलमा मात्र पराजित भएको ओले गनर सोल्कसायरको टोलीले दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरे पनि आर्सनलका गोलकिपर बर्नड लेनोलाई चुनौति दिन सकेन ।
दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि आर्सनलले २–० ले खेल आफ्नो पक्षमा पार्यो । जीतसँगै सबै प्रतियोगितामा घरेलु मैदानमा खेलिएका पछिल्ला ७ खेलमा जीतविहीन रहेको आर्सनलले सो शृङ्खला अन्त्य गरेको छ । २१ खेलपछि २७ अङ्कसहित आर्सनल लिगको १० औँ स्थानमा उक्लिएको छ । उता, युनाइटेड भने पाँचौ स्थानमा चौथो स्थानमा रहेको चेल्सीभन्दा पाँच अङ्कले पछि परेको छ ।

यसअघि, चेल्सी ब्राइटनसँग १–१ को बराबरीमा रोकिएको थियो । खेलको शुरुवातमा नै सेजार एज्पेलिकुएटाले चेल्सीलाई अग्रता दिलाए पनि खेल सकिन ६ मिनेट बाँकी छँदा अलिरेजा जाहानबाकासले उत्कृष्ट ओभरहेड किकमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । त्यस्तै, जोसे मोरिन्होको टोटनहम हटस्पर्स पनि साउथह्याम्पटनसँग १–० गोलले स्तब्ध बनेको छ । पहिलो हाफको १७ औँ मिनेटमा ड्यानी इङ्ग्सले गरेको एक मात्र गोल निर्णायक बन्न पुग्यो । पछिल्ला १० खेलमा उनको यो नवौँ गोल हो । मोरिन्होको नेतृत्वमा स्पर्सले ११ खेल खेलेकोमा एक मात्र क्लिन सिट राख्न सकेको छ । स्पर्सका स्ट्राइकर ह्यारी केन चोटका कारण दोस्रो हाफमा मैदान छाड्न बाध्य बनेका थिए । त्यसअघि उनको गोललाई अफसाइड भन्दै रद्द गरिएको थियो । पराजयपछि टोटनहम लिगको छैटौँ स्थानमा कायम रहेको छ ।

लेस्टरको सानदार जित, जेससको गोलमा सिटी विजयी
लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा लेस्टरले न्युक्यासल युनाइटेडलाई ३–० गोलले हरायो । न्युक्यालको मैदानमा लेस्टरलाई जिताउन अयोज परेजले ३६ औँ मिनेटमा सुरुवाती गोल गरे । जेम्स म्याडिसनले ३९ औँ मिनेटमा गोल गर्दै लेस्टरको अग्रता दोब्बर बनाए । ८७ औँ मिनेटमा हाम्जा चौधुरीले गोल गर्दै लेस्टरलाई सजिलै जिताएका थिए । घरमै लेस्टरको दबाब झेलेको न्युक्यासलले गोलरहित हार खेप्यो ।

जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरले २१ खेलबाट ४५ अंक बनाएको छ । लेस्टर शीर्ष स्थानमा रहेको लिभरपुलभन्दा १० अंकले पछाडी छ । २५ अंक बनाएको न्युक्यासल ११ औँ स्थानमा छ । उता, गाब्रियल जेससले दुई गोल गरेपछि साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा एभर्टनमाथि जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले एभर्टनलाई २–१ गेलले हरायो ।

सिटीको जितमा जेससले ५१ औँ मिनेटमा खाता खोलेका थिए । उनले इल्केए गुन्डोगानको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । जेससले ५८औँ मिनेटमा रियाद महारेजको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ७१औँ मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने प्रयास गरे । त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा सिटी विजयी भयो ।

जितसँगै सिटी तेस्रो स्थानमा छ । सिटीले २१ खेलबाट ४४ अंक बनाएको छ । एभर्टन २५ अङ्कसहित ११औँ स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभपुलको १९ खेलबाट ५५ अंक छ । दोस्रो स्थानमा रहेको लेस्टर सिटीको ४५ अंक छ । अन्य खेलमा वेस्टहाम युनाइटेडले बर्नमाउथलाई ४–०, वाटफोर्डले वल्भ्सलाई २–१, साउथह्याम्पटनले टोट्टनहामलाई १–० र एस्टनभिल्लाले बर्नलीलाई २–१ गोलले हराएको छ । चेल्सी र ब्राइटनले १–१ तथा नर्विच सिटी र क्रिस्टल प्यालेसले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार