काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बिहीबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णय गरेको छ । संघको बैठकले कोषाध्यक्ष इन्दिरा गुरुङलाई वैदेशिक रोजगार बोर्डको सदस्यमा सिफारिस गर्ने, भ्रमण वर्ष सफल पार्न तथा सहयोग गर्ने तथा ऐन सशोधनमा अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
संघका महासचिव सुजित श्रेष्ठका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको अध्यक्षतामा २३ सदस्यीय बोर्ड गठन हुने व्यवस्था अनुसार संघले अध्यक्षसहित एक महिला सदस्य मनोनयन गरी पठाउन पाउने भएकाले गुरुङलाई सिफरिस गरिएको हो । संघका अध्यक्ष बोर्डमा स्वतः सदस्य हुने प्रावधान छ । श्रेष्ठका अनुसार संघले नेपाल भ्रमणवर्ष २०२० लाई सफल पार्न वाक नेपालले सातवटै प्रदेशमा गर्न थालेको साईकल र्यालीमा नेपाल भ्रमण वर्ष सफल पारौं भन्ने नारा अंकित ३ सय टिसर्ट उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै त्यसैगरी वैदेशिक रोजगार ऐन २०६४ परिमार्जनमा व्यवसायीका समस्या, कामदारका समस्या लगायतका विषय अध्ययन गर्न द्वितीय उपाध्यक्ष कमलदेव मल्लको संयोजकत्वमा एक समिति गठन गरेको पनि श्रेष्ठले जानकारी दिए ।