काठमाडौं: द ब्रिटिश कलेज (TBC) ले हाल सामाजिक सञ्जाल तथा विभिन्न अनलाइन माध्यमहरूमा असम्बन्धित विषयहरूलाई मिसाएर अपूर्ण र भ्रामक सामग्रीहरू प्रसारित भइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कलेजले स्पष्ट पार्दै भनेको छ कि हाल सबै शैक्षिक कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेका छन्। अधिकांश विद्यार्थीहरू कक्षामा सक्रिय सहभागिता जनाउँदै सन्तोषजनक रूपमा अध्ययनरत छन् र कलेज पूर्ण रूपमा सञ्चालनमा रहेको छ।
द ब्रिटिश कलेज नेपालमा बेलायतस्थित ब्रिटिश एक्रिडिटेसन काउन्सिल (BAC) बाट मान्यता प्राप्त एकमात्र कलेज हो, जसले बेलायतका अन्तर्राष्ट्रिय रूपमा मान्य तथा प्रतिष्ठित विश्वविद्यालयहरूसँग सहकार्य गरी उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्दै आएको छ। कलेजले विगत वर्षहरूदेखि नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा सफल स्नातक तथा विद्यार्थीहरूको ठूलो समुदाय उत्पादन गर्दै आएको जनाएको छ।
कलेजका अनुसार, केही सीमित व्यक्तिहरूले उठाएका चासोहरू स्थापित संस्थागत प्रक्रिया अन्तर्गत सम्बोधन भइरहेका छन्। यस क्रममा विद्यार्थी सहयोग संयन्त्र प्रयोगमा ल्याइएको र आवश्यक समन्वय शिक्षा मन्त्रालयसँग पनि भइरहेको छ।
द ब्रिटिश कलेजले सामाजिक सञ्जालमार्फत हुने विवाद वा आरोप–प्रत्यारोपमा संलग्न नहुने स्पष्ट गर्दै सबै सरोकारवालाहरूलाई कानुनी, मर्यादित तथा उपयुक्त माध्यममार्फत आफ्ना विषयहरू उठाउन अनुरोध गरेको छ।
विद्यार्थी हित, शैक्षिक गुणस्तर र संस्थागत जिम्मेवारीप्रति कलेज पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउँदै आवश्यक परे थप जानकारी केवल द ब्रिटिश कलेजका आधिकारिक सञ्चार माध्यममार्फत मात्र सार्वजनिक गरिने पनि कलेजले जनाएको छ।