काठमाडौँ(जस)–नेपाली सेनाले जेनजी आन्दोलनका कारण उत्पन्न विशेष परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा र कफ्र्यू आदेशको समय लम्ब्याएको छ । सेनाले बुधबार बिहानसम्म कफ्र्यू र निषेधाज्ञा लगाएकामा यो समय शुक्रबारसम्म लम्ब्याएको विज्ञप्तिमार्फत जनाएको छ । वज्ञप्तिमा निषेधाज्ञा बिहीबार बिहान १० देखि बेलुका ५ बजेसम्म कायम हुनेछ । यस्तै त्यसपछि बेलुका ७ देखि शुक्रबार बिहान ६ बजेदेखि कफ्र्यू जारी गरिएको छ । यस्तै बिहानमा अन्यावश्यक कार्यका लागि आवतजावत गर्न बिहान ६ देखि १० बजेसम्मको समय दिइएको छ भने बेलुका ५ देखि ७ बजेसम्मको समय दिइएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
निषेधाज्ञा तथा कफ्र्यूको दौरानमा अत्यावश्यक सेवाका (एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै, खाद्यान्न, इन्धन, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने) सवारी साधनहरु सञ्चालन गर्न सकिनेछ । यस्तै विभिन्न सरकारी कार्यालय, बैङ्क तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानहरुमा कार्यरत कर्मचारीहरुले आफ्नो परिचय पत्र देखाई कार्यालयसम्म आवतजावत गर्न सक्नु सक्नेछन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरुले आफ्नो उडानको टिकट देखाई विमानस्थलसम्म आवतजावत गर्न सकिनेछ । यस्तै आवश्यक सहायताको लागि नजिकमा रहेका सुरक्षाकर्मीहरुसँग समन्वय गर्न सेनाले अनुरोध गरेको छ । यस्तै काठमाडौं उपत्यका बाहिरको हकमा सम्बन्धित जिल्लाको सुरक्षा परिस्थितिअनुरुप जिल्ला सुरक्षा समितिहरुबाट निर्णय तथा समन्वय गरिएबमोजिम हुने जनाइएको छ ।
यसैबीच जेनजी आन्दोलनकारी पक्षलाई सेना र राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताका लागि आह्वान गरेको २ दिन बितेको छ । तर, हालसम्म औपचारिक वार्ता सुरु हुन सकेको छैन । बरु जेनजी आन्दोलनकारी पक्ष नै आगामी सरकारको नेतृत्व कसको हुने भन्नेमा एकमत नभएको पाइएको छ । सरकारको नेतृत्वको विषयमा बुधबार साँझ दुई पक्षबिच जंगीअड्डा परिसरमै वादविवाद भयो । एक पक्षले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री प्रस्ताव गरेपनि बालेन शाह र हर्क साम्पाङ पक्षले चित्त बुझाएका छैनन् ।
सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आआफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेनजी समूहलाई फर्काइदियो । सैनिकले माइकिङ गर्दै बिहीबार बिहान सम्पर्कमा आउन भनेको हो । सेनाले बिहान नेतृत्वकर्ताको नाम र फोन नम्बरसहित सम्पर्क गर्न भनेको छ । पूर्वप्रधानन्याधीश कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर जेनजी प्रतिनिधि नेपाली सेनाको मुख्यालय भद्रकालीमा प्रधान सेनापतिसँग कुराकानी गर्न हिँडेका थिए । तर, त्यहाँ भिड जम्मा भइसकेको थियो । भीडका विभिन्न समूहले विभिन्न व्यक्तिको नाम लिएर चर्काचर्की गरे । त्यहाँ धरान उपमहानगरपालिकाका मेयर हर्कराज साङपाङ र काठमाडौँका मेयर बालेन्द्र साहको नाम लिएर उनीहरू भनाभनमा उत्रिएका थिए । केही युवाहरूले अन्तरिम सरकार प्रमुखमा सुशील कार्की मान्य नहुने भन्दै नाराबाजी गरेका थिए ।
मंगलबार राति १० बजेदेखि उपत्यकाका सडकमा नेपाली सेना छ्यापछ्याप्ती देखिएको छ भने चेकजाँचमा कडाइ गरिरहेको छ । आमान्य हिँडडुलमा समेत सेनाले कडाइ गरिरहेको छ भने यातायातका साधन चलेका छैनन् । दमकल, प्रेससहितका अत्यावश्यक सवारी साधन निर्बाध चलिरहेका छन् । बजार पनि बन्द छ । सडकमा आन्दोलनकारीले गरेको तोडफोडका अवशेष देखिन्छन् भने कतिपय स्थानमा अझैपनि आन्दोलनकारीले गरेको आगजनी नियन्त्रणमा आइसकेको छैन । सेनाले चोकचोकमा चेकजाँचमा कडाइ गरेकाले स्थिति पूर्ण नियन्त्रणमा रहेको छ । मुख्य सडक र भित्री सडकमा समेत आन्दोलनकारीको कुनै जमघट छैन । सेनाले घरभित्रै रहन अपिल गरेको छ ।
संघीय संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, राष्ट्रपति कार्यालय, नागरिक उड्डयन प्राधिकरण, काठमाडौँ जिल्ला अदालतसहितका महत्त्वपूर्ण सरकारी कार्यालय भग्नावशेषमा परिणत भएका छन् भने त्यहाँ रहेका महत्त्वपूर्ण कार्यालयहरू जलेर नष्ट भएका छन् । यस्तै प्रमुख राजनीतिक दलका कार्यालय पनि जलेका छन् । सरकारले भदौ २० गते नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरे पनि युवाहरू आक्रोशित भएका थिए । फेसबुक, एक्स, इन्स्टाग्राम, ह्वाट्सएपसहितका सामाजिक सञ्जाल बन्द गरे पनि आक्रोशित जेनजी युवाहरुले सामाजिक सञ्जालबाटै सोमबारका लागि शान्तिपूर्ण प्रदर्शनको आह्वान गरेका थिए । उक्त आह्वान गर्नेक्रममा जेनजीले भ्रष्टाचार र बेथिति अन्त्यको एजेन्डा समेत अघि सारेका थिए । कुनै नेतृत्वबिनै सामाजिक सञ्जालबाट आह्वान भएको भरमा गरिएको आन्दोलन काठमाडौँसहित देशैभर भयो । तर, विशेषगरी राजधानीमा भएको प्रदर्शनमा सरकारी दमन भएपनि स्थिति बिग्रिएको हो । जेनजी आन्दोलनकारी निषेधित क्षेत्र तोड्दै संसद् भवन पसेपछि प्रहरीले गोली चलाउँदा १७ जेनजी मारिएका थिए । यस्तै इटहरीमा पनि प्रहरीको गोली लागेरै मानवीय क्षति भएको थियो । जुन संख्या अहिले ३० नाघेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै राज्यबाट जेनजीको हत्या भएको भन्दै चौतर्फी आक्रोशसँगै मंगलबार देशभर प्रदर्शन भयो । सो प्रदर्शन नियन्त्रणबाहिर पुग्दा राजधानीमा मात्रै नभएर देशभर महत्त्वपूर्ण प्रकाशकीय भवनहरूमा तोडफोड र आगजनी भए भने निजी क्षेत्रका संरचनामा पनि उत्तिकै तोडफोड भएका छन् । त्यतिको विवरणको अहिले कुनै लेखाजोखा नभए पनि अकल्पनीय क्षति भएको छ । क्षतिमात्रै भएन, जेनजी आन्दोलनको नाममा आपराधिक गतिविधि समेत हुनपुग्दा लुटपाटकै घटना भए । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकसहित कतिपय ठाउँमा लुटपाट हुनुका साथै आम नागरिकमा त्रासको माहौल छाएकै बेला सेनाले सम्पूर्ण सुरक्षाको जिम्मा लिएको हो ।
यसअघि मंगलबार नै जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिका कारण प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजीनामा दिएका छन् भने उनले बालुवाटार छाडिसकेका छन् । यस्तै कतिपय राजनीतिक दलका नेता समेत आन्दोलनकारीको निशानामा परेपछि उनीहरू सुरक्षित स्थानमा सरेका छन् । यसो त केही राजनीतिक दलका नेताको निवासमा समेत तोडफोड र आगजनी भएका छन् ।